नेपालले विश्वकप खेल्दा क्रिकेट सुरु गरेका लोकेशको राष्ट्रिय टोलीसम्मको यात्रा...

File Photo
File Photo

विभागीय एपीएफ क्लबबाट टी-२० प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्दै गर्दा लोकश बमले सोचेका पनि थिएनन्, राष्ट्रिय टोलीको यात्रा। अर्को विभागीय टोली आर्मीबाट करारमा एपीएफ आएपछिको पहिलो खेलमा प्रदर्शन राम्रो पनि भएन। उमेरले अपरिपक्व देखिएका लोकशले मैदानमा भने आफूलाई धैय गर्दै परिपक्व भएको प्रमाणित गरिदिए।

अनुभवी खेलाडीसरह लोकशले आफूलाई प्रस्तुत गरे। आक्रामक ब्याटर लोकेशले हिजो (बुधबार) सम्पन्न प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई उपाधि दिलाए। टोलीको सफलता र आफ्नो उत्कृष्ट प्रदर्शनसँगै राष्ट्रिय टोलीको ढोकासमेत खेले।

यसअघि ३० सदस्यीय प्रारम्भिक प्रशिक्षणमा स्थान बनाउन नसकेका लोकेश बम प्रधानमन्त्री कप सकिएको भोलिपल्टै टोलीको अन्तिम १६ सदस्यीय टोलीमा स्थान बनाउन सफल भए। श्रीलंकन नागरिकसमेत रहेका राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पुवुदु दासानायकेले आफ्नो रणनीतिमा लोकेशलाई योग्य देखे।

यससँगै लोकेशले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाए। धनगढीका १९ वर्षीय ब्याटर लोकेशलाई प्रधानमन्त्री कपको सेमिफाइनलमा पूर्वक्लब आर्मीविरुद्ध आक्रामक ब्याटिङ गर्दै १८ बलमा ५० रन बनाउँदासम्म राष्ट्रिय टोलीको ढोका खोलिन्छ कि भन्ने लागेको थिएन। तर सोही खेलका कारण उनलाई राष्ट्रिय टोली नै नभए पनि क्याम्पसम्म कतै ‘कल’ हुन्छु कि भन्ने चहि पक्कै लागेको थियो।

‘सेमिफाइनलभन्दा अगाडि टिममा पर्छु होला भन्ने लागेको थिएन। सेमिफाइनलमा जुन रन हाने, त्यसपछि मनमा थियो। राष्ट्रिय टोलीमा नभए पनि क्याम्पसम्म आउँछु कि भन्ने थियो,’ राष्ट्रिय टोलीमा स्थान बनाएपछि खुसी साट्दै लोकेश भन्छन्।

लोकेश सेमिफाइनलमा चौथो नम्बर ब्याटरको रूपमा आएर १८ बलमा अविजित ६६ रन बनाए। आक्रामक ब्याटिङ गरेका लोकेशले दुई चौका र नौ छक्का हिर्काए। यसअघि समूह चरणको खेलमा बागमतीविरुद्ध २४ बलमा ५० रन बनाए। जहाँ उनले १० चौका र एक छक्का प्रहार गरे।

यो दुई अर्धशतकीय इनिङले नै लोकेशको भाग्य चम्कियो। प्रतियोगतामा लोकेश सर्वाधिक रन हान्ने खेलाडीमा छैटौं स्थानमा रहे। ६ खेल खेलेका उनले दुई खेलमा अविजित रहँदा १५२ रन बनाए। ६ खेलमा औसत ३८ रन बनाएका उनको सर्वाधिक रन ६६ हो। जहाँ दुई अर्धशतक प्रहार गर्दा १३ चौका र १३ छक्का प्रहार गरे। जसकारण उनी पहिलोपटक राष्ट्रिय टोलीमा परे।

यता, लोकेशको प्रदर्शनबाट एपीएफसमेत दंग थियो। कप्तान शरद भेषवाकरसमेत लोकेशलाई ल्याउन सहमित दिए। एक प्रकारले शरद र एपीएफ सिंगो टिम लोकेशको सफलतामा खुसी छ। ‘लोकेश राम्रो खेलाडी हो। एपीएफलाई विश्वास गरेर आयो। हामीे ‘लक्की’ भयौं। यस्तो खेलाडीबाट च्याम्पियन भयौ। यसलाई क्लबमा ल्याउन कप्तान शरदको पनि हात रह्यो र क्लबका ल्यायौं। राष्ट्रिय टोलीबाट उसको राम्रो होस् भन्ने कामना छ,’ एपीएफ क्लबका व्यवस्थापक अमित मल्ल भन्छन्।

लोकेश पहिलोपटक राष्ट्रिय टोलीमा पर्दा स्वाभाविक रूपमै खुसी भएको र दबाब भए पनि आगामी दिनमा कसरी खेल्ने त्यसतर्फ ध्यान दिने बताउँछन्। ‘राष्ट्रिय टोलीमा पर्छु भन्ने थिएन। बिहान नाम हेरेर थाहा पाएँ। राम्रो गरेको थिएँ। टोलीमा राख्छन् कि भन्ने थियो। राखेछन्,’ लोकेश भन्छन्, ‘टिममा परेपछि खुसी हुनु त स्वाभाविक हो। अलिकति दबाब पनि छ। टिममा पर्दा उत्साहित पनि छु। कसरी राम्रो गर्ने भनेर सोचिरहेको छु।’

धनगढीका लोकेशले पहिलोपटक सन् २०१४ मा बंगलादेशमा विश्वकप खेल्दा नेपाली टोलीको खेल हेरेका थिए। तत्कालीन समयका प्रशिक्षक यिनै पुवुदु हुन्, जसले लोकेशलाई पहिलोपटक आफ्नो नजर लगाएका छन्।

नेपालले टी-२० विश्वकप खेलेको त्यही पहिलो अवसर थियो। जुन खेल हेरेरै लोकेशले आफ्नो खेल करियर अगाडि बढाएका थिए। लोकेशको पहिलो गुरु हुन् दीपेन्द्र चौधरी। जसले लोकसलाई पहिलोपटक ब्याट समात्न सिकाए। चौधरीकै सिकाइले लोकेश आक्रामक ब्याटर भएर राष्ट्रिय टोलीमा पुगेका छन्।

‘मैले क्रिकेट सुरु गरेको नै नेपाल विश्वकपमा छनोट भएपछि, खेल हेरेर हो। त्यसपछि धनगढीमा दीपेन्द्र चौधरी सर आउनु भयो। उहाँले मलाई क्षमता देखेर बोलाए। उहाँबाट सिको गर्दै यू-१९ टोली पनि खेले। र, अहिले राष्ट्रिय टोलीमा परे। अहिले पनि मैले सरसँग (दीपेन्द्र) हेल्प मागिरहेका हुन्छु,’ आफ्नो बाल्याकालको गुरुलाई सम्झँदै लोकेश भन्छन्।

लोकेशले अहिले नेपालको उमेर समूह यू-१९ टोलीबाट समेत खेलिसकेका छन्। यसअघिको प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिता आर्मीबाट खेले। पोखरा प्रिमियर लिग (पीपीएल) विराटनगर टाइटन्सबाट खेले। तर कुनै पनि प्रतियोगितामा आफूलाई प्रमाणित गर्न सकेनन्। प्रयास जारी राखे। मिहिनेत  गरिरहे। हार खाएनन्। गुमाउनु केही थिएन। पाउनु धेरै थियो। यही प्रधानमन्त्री कपमा आफूलाई सिद्ध गरे।

‘मैले आफूलाई क्षमतावान देखाउनु थियो। जसरी हुन्छ रन हान्नुपर्ने थियो। भयो पनि त्यही आर्मीभन्दा अघि पिपिएल (विराटनगर टाइटन्स)बाट खेले। आर्मीबाट पीएम कप खेले। त्यहाँ कहिले पनि राम्रो हुन सकेन। एपीएफ आएपछि सफलता हासिल गरे,’ लोकेश आफ्नो सफलता सुनाउँछन्।

यससँगै अब लोकेशका ध्यान ओमानमा आयोजना हुने आईसीसी टी-२० विश्वकपको ग्लोबल छनोटमा हुनेछ। १७ देखि २४ फेब्रुअरीसम्म आयोजना हुने प्रतियोगितामा नेपालले समूह ‘ए’ मा आयोजक ओमान सहित फिलिपिन्स, क्यानडा, यूएई, बहराइन, आयरल्याण्ड र जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ। जहाँ लोकेशले आफूलाई प्रमाणित गर्नुपर्छ र राष्ट्रिय टोलीमा निरन्तरता पाउनेछन्। जुन लोकेशले समेत बुझेका छन्। त्यसअघि लोकेश प्रशिक्षक पुबुदुको सेटमा पर्नुपर्नेछ। ‘टिमको सेटमा स्थान पाउने वा नपाउने त्यो मेरो हातमा छैन। कोचको हातमा हुन्छ। उहाँले हेरेर निर्णय लिनुहुन्छ। अवसर पाए आफुलाई प्रमाणित गर्छु,’ उनले भने।

प्रकाशित मिति: : 2022-01-20 14:24:00

प्रतिकृया दिनुहोस्