चार युवाको पौरखले जन्माएको ‘बगैंचा’

Breaknlinks
Breaknlinks

बगैँचा भन्ने बित्तिकै तपाईं हामीलाई घर, अफिस वरपर लगाइने सानो फलफूलको रुखले भरिएको हरियाली जंगल जस्तै लाग्छ। तर, यहाँ बगैँचाका परिभाषा फरक छ। जुन बगैँचामा फरक सुविधा र स्वाद चाख्न पाइन्छ। 

काठमाडौंको खसीबजारमा चार युवाहरु मिलेर बगैँचा रेस्टुरेन्ट एन्ड बार सञ्चालन गरेका छन्। जहाँ एकदमै शान्त र पावारिक वातावरणमा विभिन्न लोकल खानाको स्वाद चाख्न पाइन्छ।

सहरिया जीवनशैली निरन्तर फेरिने कुरा हो, फेरिइरहेको पनि छ। सहरको दैनिकीमा रेस्टुरेन्ट र खाना अनिवार्य हिस्सा हुन्। समयसँगै हाम्रा स्वाद र रोजाइ फेरिइरहेका छन्। पहिला रेस्टुरेन्टभित्र बस्ने मानिस अचेल खुला ठाउँमा बसेर खान रूचाउने भएका छन्।

आफूले खान गएको रेस्टुरेन्ट र खाएका खाना पहिला हाम्रा कोठाभित्रका एल्बममा हुन्थे। अचेल सामाजिक सञ्जालमा राख्नु नयाँ फेसन बनिसकेको छ। अझ सामाजिक सञ्जालमा फोटाे/भिडियाे राख्नकै लागि अरूभन्दा पृथक लाग्ने रेस्टुरेन्ट रोजाइमा पर्न थालेका छन्।

करिब एक रोपनी जग्गामा फैलिएको बगैंचामा विवाह, व्रतबन्ध, फेमिली हल, जन्मदिन मनाउने हलका साथै बार्बिक्यूको पनि व्यवस्था छ। १०० जना क्षमताको यो रेस्टुरेन्टले ५० जनालाई आउटडोर क्याटरिङको पनि सुविधा उपलब्ध गराउँदै आएको सञ्चालकमध्येका एक रमेश वाग्लेले बताए।

बगैँचामा पारिवारिक अनि शान्त वातावरणमा तातो घाम ताप्दै विभिन्न परिकारको स्वाद लिन सकिन्छ। वाग्लेका अनुसार पाँच तारे होटेलमा अनुभव बटुलेका सेफद्वारा बनाइने परिकार अनि आफ्नै लोकल उत्पादनको स्वाद चाख्न पनि ग्राहकहरू त्यहाँ आउने गरेका छन्।

कसरी सुरु भयो बगैँचा

बगैँचा रेस्टुरेन्ट एन्ड बार ३५ वर्ष आसपासका रमेश वाग्ले, सरोज पण्डित, सुरेश पौडेल र ज्ञानु साही चार युवा मिलेर डेड वर्षअघि खोलेका हुन्।

उनीहरु चारमध्ये रमेश वाग्ले पाँच वर्ष र सरोज पण्डित दश वर्ष जापान बसेर आएका हुन् भने अर्का दुई जना सुरेश पौडेल एउटा कन्ट्रक्सन कम्पनीमा म्यानेजर काम गर्थे र ज्ञानु साही आफ्नै क्याफे चलाइरहेका थिए। उनीहरु चार जनाको चिनजान र मित्रता भने करिब आठ/नौ वर्ष अघिदेखि नै थियो।

उनीहरुको भेटघाट, चिनजान राम्रै भएपनि रमेश २०१४ मा विद्यार्थी भिसामा जापान गए। जापान गएर उनी रेस्टुरेन्टमा काम गर्न थाले। उनले जापानमा पाँच वर्ष काम गरेर रेस्टुरेन्टको  धेरै अनुभव बटुले। जापान बसाइको पाँच वर्षपछि २०१९ को अन्त्यतिर उनी नेपाल फर्किए।

त्यस्तै उनको अर्का साथी सरोज पनि जापान बसाइको दश वर्ष पुरा गरेर २०१९ मानै नेपाल फर्किएका थिए। दुवै जनाले जापानमा रेस्टुरेन्टमा काम गरेको राम्रो अनुभव बटुलेका थिए। जसका कारण दुई जनाको मन मात्र होइन काम पनि मिल्थ्यो। उनीहरूको काम गर्ने क्षेत्र पनि उही भयो।

पाँच र दश वर्ष जापानको रेस्टुरेन्टमा काम गरेका उनीहरू त्यसपछि नेपालमै बसेर फरक शैलीमा रेस्टुरेन्ट खोल्ने योजना बनाइरहेका थिए। उनीहरुलाई अर्का दुई साथीको आवश्यकता थियो। यसैबीच उनीहरुले आफ्ना पुराना दुई दोस्तीलाई सम्झे। अनि रेस्टुरेन्ट व्यवसायको योजना बनाउन लागे। चारै जनाको मन त मिल्थ्यो नै, सोच पनि मिलेपछि उनीहरूले अरूभन्दा अलि फरक खालको रेस्टुरेन्ट खोल्ने निर्णय गरे।

२०१९ को अन्त्यतिर चारै जनाको सहमतिमा उनीहरु बगैँचाको लागि जग्गा भाडामा लिने सोचसहित जग्गा खोज्न हिंडे। जग्गा भेटियो, काम पनि सुरु भइसकेको थियो। तर कोभिड-१९ नियन्त्रण गर्न सरकारले लकडाउन गर्यो, अनि उनीहरुको बगैँचाको काम त्यहिँ रोकियो। विस्तारै  लकडाउन पनि कम हुँदै गए र उनीहरुले २०२० को क्रिसमसको अवसर पारेर बगैँचा औपचारिक रुपमा सुरुवात गरेका हुन्।

बगैँचा बनाउनुअघि उनीहरूलाई भनेजस्तै ठाउँ खोज्न पनि मुश्किल भएको रहेछ। समय लागे पनि उनीहरुले खोजेजस्तै ठाउँ पाउनुलाई उनीहरू ‘प्लस पाेइन्ट’ मान्छन्। उनीहरुले जग्गा लिएको एक वर्षसम्म त केही गर्न पाएनन्। त्यो समयमा उनीहरुले जग्गाको भाडा मात्र तिरिराखेका रहेछन्। जग्गा भाडामा लिएको एक वर्षपछि बगैँचाको सुरुवात भयो तर कोभिडले सोचे जस्तो नभएको कारण अलि समस्या भएको रमेश बताउँछन्। उनी भन्छन्, ‘भने जस्तो ग्राहक त थिएनन् तर जति जना आउनुभएको थियो, उहाँहरु सबैजना सन्तुष्ट भएको सुनाउनुहुन्छ।’

‘हामीले फेसबुक पेज र युट्युब च्यानल पनि खोलेका छौं। तर फेसबुक पेज र युट्युब च्यानलबाट भन्दा पनि हाम्रो आफ्नै साथीसंगी र मौखिक प्रचारबाट ग्राहकहरू आइरहनुभएको छ’, ‘उनले भने, ‘हामीले राम्रोसंग सञ्चालन गरेको दश/एघार महिना भयो। हाम्रो व्यापार भने तिहारपछि क्रमिक सुधार भएर आएको छ। अहिले हामीले सोचेअनुरुपकै व्यापार भइरहेको छ।’

बगैँचा मुख्य आकर्षण सेल्फ बार्बिक्यू र प्रत्येक शुक्रबार लाइभ म्युजिक हाे। सुन्दर, शान्त, हरियाली बगैँचा, पारिवारिक वातावरणमा लोकल खानेकुराको स्वादले पनि बिस्तारै ग्राहक बढाउने आशामा छन्, सञ्चालकहरू। यही विश्वासले उनीहरू यसको थप शाखा विस्तार गर्ने तयारीमा छन्। साथै उनीहरुले २७ रोपनी जग्गामा फाम हाउस खोल्ने तयारी पनि गरिरहेका छन्। अहिले बगैँचामा १७ जनाले रोजगारी पाइरहेका छन्।

प्रकाशित मिति: : 2022-01-17 18:20:00

प्रतिकृया दिनुहोस्