सङ्कटा र सातदोबाटोको खेल बराबर

शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आजदेखि सुरुआत भएको आठौँ चरणको पहिलो खेलमा सङ्कटा क्लब र सातदोबाटो युथ क्लबबीचको खेल बराबरीमा टुङ्गिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा सङ्कटा र सातदोबाटोले १/१ गोल गरेका हुन्। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले खेलको पहिलो हाफमा एक एक गोल गरेका थिए। 

सातदोबाटोका लागि सुशील राईले गोल गर्दा उता सङ्कटाका लागि जया गुरुङले बराबरी गोल फर्काएका थिए। खेलको २३औँ मिनेटमा सुशीलले गोल गर्दै सातदोबाटोलाई १/० को अग्रता दिलाए।

निरज बस्नेतको ब्याक पासमा गोलरक्षक राजाबाबु थापाले गल्ती गरेपछि राजाबाबुले क्लियर गरेको बल सुशीलको घुँडामा लाग्दै गोलमा परिणत भएको थियो। 

सातदोबाटोको १/० को अग्रता लामो समयसम्म टिक्न सकेन। खेलको ३२औँ मिनेटमा सङ्कटाका खेलाडी जयाले गोल गर्दै खेललाई १/१ को बराबरीमा ल्याए।

दीपेश आलेमगरको पासलाई उनले करिब ३० यार्डबाट प्रहार गरेको बलले जाली चुमेको थियो। खेलको दोस्रो हाफमा गोल हुन नसकेपछि खेल एक/ एक गोलको बराबरीमा टुङ्गिएको हो।

यस बराबरी खेलसँगै अपराजित रहेको सङ्कटा ८ खेलबाट १४ अङ्क जोडेर अङ्कतालिकाको तेस्रो स्थानमा पुगेको छ भने समान खेल खेलेको सातदोबाटो ९ अङ्क जोडेर अङ्क तालिकाको आठौँ स्थानमा पुगेको छ।  

प्रकाशित मिति: : 2022-01-07 16:22:00

प्रतिकृया दिनुहोस्