राजेश पायल राईमाथि भएको हमलाबाट हामीले के पाठ सिक्ने ?

Breaknlinks
Breaknlinks

कुनै समय कलाकार, दर्शक र आयोजक अनि सञ्चारकर्मीबीच मर्यादितरूपमा नीतिगत स्पष्टतासहित तयार पारिएको खाकाभित्र रहेर एउटा शालिन र सौम्य वातावरण तयार भएपछि मात्र सांस्कृतिक कार्यक्रम हुने गर्थे। आयोजकले दिएको अधिकारभित्र बसेर उदघोषकले कार्यक्रम सञ्चालन मात्र होइन त्यो समयावधिभर सुरक्षा र सुरक्षाकर्मीलाई पनि उसैले कन्ट्रोल गर्दथ्यो।

आयोजक कतिको अनुभवी छ र कतिको सुरक्षित तवरले कार्यक्रम गर्दछ भन्ने कुरा कलाकारद्वारा बुझ्ने काम हुन्थ्यो। कलाकार कतिको अनुशासित र प्रिय छ त्यो आयोजकले बुझ्थ्यो।

तालिम प्राप्त उदघोषक आयोजकले खोजी गर्थ्यो। आयोजकको कमी कमजोरी के देखिएको छ औंल्याइदिने र कलाकारको जीवन सम्बन्धी केही रोचक खोजहरू गर्ने, कार्यक्रम गर्ने स्थानको दर्शकको मनोभाव र गुणस्तर बुझेर उदघोषकले कार्यक्रमको रूपरेखा तयार गरेर दिन्थ्यो। र, आयोजकले पनि कार्यक्रम संयोजकको पहलमा हलभित्र, स्टेज, कलाकार, संचारकर्मी, अतिथि र दर्शक दीर्घाको दुरी समेत छुट्याएर सुरक्षाको निमित्त बेलाइएको प्रहरी, सुरक्षाकर्मी कता–कता राख्ने भन्ने कुराकाे तय गरिन्थो।

उदघोषकले कार्यक्रम सुरु हुनुअघि सबै निरीक्षण गरेर मात्र कार्यक्रम थालिन्थ्यो। संचारकर्मीले पनि तोकिएको ठाँउहरूबाट मात्र क्यामेरा तेर्स्याउने गर्थे। स्टेजमा जो कोही हिँड्न वा चढन गए साह्रै असभ्य र अमर्यादित मानिन्थ्यो। उदघोषकले पनि आफ्नो समय सीमालाई मात्र प्रयोग गर्थे र समय लिइहाल्नु परे दर्शकसँग क्षमा याचना माग्थे। कलाकारले पनि पैसा भन्दा ठूलो कुरो इज्जत ठानेर कुन ठाँउ र कस्तो हलमा गर्ने भनेर सोध्ने गर्थे।

पहिला पहिलाको हलहरूमा (बार) पेयपदार्थ पाइदैन्थ्याे। कलाकारहरू आफू माते पनि मातेको दर्शक चाँहदैनन थिए। तर, आज–भोलि यी सबै हुँदैनन् र यसको ठिक उल्टो हुन्छ। बदलिएको यस्तो परिस्थितिबाट के आशा गर्ने ? अझ विदेशको कुरो गरौं भने– सबैलाई संचारकर्मी बन्नु छ। त्यसो त राम्रा आयोजकहरू पनि नभएका होइनन विदेशमा तर सबैलाई आफै आयोजक बन्नु छ। भाषा र स्टेजको नियम ‘गोली मारो’ सबैलाई उदघोषक बन्नु छ।

अनि उदघोषकदेखी आयोजक सम्मलाई लाइभ भिडियो खिच्नु छ। कलाकारले पनि दर्शक स्टेजमा चढेन भने पनि आफै भुइँमा झरेर दर्शक तताउनु छ। गीतमा ताल र स्केलको कुरो रहेन, दर्शकलाई माईक तेर्साएर गाउन लगाउनु छ। जुनसुकै पर्वमा होस् कि रेष्टुरेन्टमा होस् डलर भए हुन्छ।

आयोजक पनि विदेशमा भएसी गरीब देशको ठूला र सम्मानित कलाकारहरूलाई धाप मारेर सँगै बस्ने र फोटो सञ्जालमा राख्न पाएसी ठालू भैहालेको भान हुन्छ।

आफ्नो देशको कलाकार आफ्नै सम्पत्ति भन्ने भुलेर सस्तो व्यवहार गरेर आफू चाहिँ ठालु बन्नुपर्ने प्रवृति छ।

केही नबुझे पनि कलाकारलालाई विदेशमा जानु छ। विदेशमा कार्यक्रम गर्नु नै छ संस्थाहरूले केही नजाने पनि। कलाकारको इज्जत र इमानभन्दा पनि पैसा र शानको निम्ति कला माध्यम बनेपछि नेपाली कलाकार र संघसंस्थाहरूको के मान होस् त ? अझ विदेशमा त सेक्यूरिटी गार्डहरूको पनि राम्रो व्यवस्था भएकोले केही रकम तिरेर ल्याउन सकिन्छ। यस्तो कुरा सँधै कलाकार झिकाएर कार्यक्रम गर्ने अनुभवी आयोजकलाई सोध्न  सकिन्छ तर आफै जान्ने हुनुपर्ने। हामी नेपालीमा सोधेमा सानो भइने सोच छ।

हाम्रो नेपाली कलाकारले विदेशमा नेपाली बजार पाउनु, विदेशमा बस्ने नेपालीले नेपाली कलाकार र कलालाई विदेशी भूमिमा स्वागत गर्न पाउनु यो हामी दुवै पक्षको लागि सुनौलो अवसर मात्र होइन अहो भाग्य पनि हो।

आयोजकको कमजोर व्यवस्थापनका कारण आज राजेश पायल राई जस्तो स्थापित र सम्मानित कलाकारले लाइभ शोमा यति ठूलो अपमान भोग्नु पर्यो। अपमान मात्र होईन उनको ज्यान नै जोखिममा परेको थियो। ‘मुन्टो बटारे पछि झन धेरै बेर गायो। हाम्रो कलाकारलाई केही भाको छैन। ठूलो कलाकारको फ्यान पनि खत्रा नै हुन्छ नि।’ भन्ने प्रकारको गैरजिम्मेवार भनाइ आयोजकहरूबाट नै आएपछि खतरामा राजेश पायल राई त परिसकेको छ। अब अरु जो कोही विदेश कार्यक्रम गर्न जाने कलाकारहरूको जीवन जोखिममा पर्ने निश्चित देखिन्छ।

हामीले समयको माग र परिवर्तन भन्दै कलालाई त मजाक बनायौँ नै अब आफै कलाकार पनि मजाक बन्न थालेको दृश्य हो, यो। त्यसैले अब इज्जतले कमाएको पैसा र पैसाले कमाएको इज्जतको नापतौल गर्ने बेला आइसक्यो। राजेश पायल राईमाथि भएको खुल्ला हमलाबाट नेपाली कलाकार र विदेशमा रहेका आयोजकले  समयमै पाठ नसिके यस्ता हर्कत दोहोरिएर कला र कलाकारको मात्र होइन सारा नेपालीको बदनाम हुने दिन आउन बेर छैन।

प्रकाशित मिति: : 2022-01-04 19:47:00

प्रतिकृया दिनुहोस्