धर्मकीर्ति विहार निर्माणका लागि दुई करोड १८ लाख सहयोग

Symbolic photo
Symbolic photo

काठमाडौँ महानगरपालिकाले धर्मकीर्ति विहारको विस्तारित भवन निर्माणका लागि रु दुई करोड १८ लाख अनुदान रकम उपलब्ध गराएको छ।

उक्त भवन निर्माणका लागि कामपा प्रमुख विद्यासुन्दर शाक्यले विहारका गुरु धम्मावतीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्। उक्त भवन निर्माणका लागि  २०७७ मङ्सिर २० गते भवन प्रमुख शाक्यबाट नै  शिलान्यास भएको थियो।

सहरभित्रका सम्पदालाई काठमाडौँबाहिरका सम्पदासँग जोडेर पर्यटन व्यवस्थापनका काम गर्ने र यसबाट स्थानीयवासीको आयमा वृद्धि गर्ने योजनालाई आफूले प्राथमिकता राखेको बताउँदै शाक्यले बज्रयानी विहारको निर्माण र बौद्ध परियत्ति शिक्षालाई प्रवद्र्धनमा जोड दिएको उल्लेख गरे।

विहारको विस्तारित भवनको लागत रु चार करोड २८ लाख हो। कामपाले २०७७ साउन महिनामा विहारको सभाकक्षलाई आवश्यक पर्ने ध्वनि र उज्यालो व्यवस्थापन गर्न ६८ थान सामान तथा उपकरण र एक रोल केवलसमेत प्रदान गरिसकेको छ।

यसरी उपलब्ध गराइएका सामानमा साउन्ड मिक्स्चर, माइक, बेबी लाइटलगायत थिए। महानगरले उपलब्ध गराएका यी सामानको प्रयोगले प्रवचनमा आउने स्थानीयवासीलाई प्रवचन कक्षमा बस्न, बोलेको कुरा सुन्न सजिलो भएको छ।

यस्तै बौद्ध शिक्षा अध्यापन गराउन महानगरले ल्यापटपलगायत शैक्षिक सामग्री उपलब्ध गराएको छ। कार्यक्रममा बौद्ध परियत्ति शिक्षा उत्तीर्ण ५९ जना विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो।

बौद्ध शिक्षाका लागि नेवार समुदायसँगै तामाङ, शर्मालगायत थरका विद्यार्थीहरु छन्। यस केन्द्रबाट परियत्ति शिक्षा अध्यापनका लागि कामपाले आर्थिक सहयोग उपलब्ध गराएको छ।

त्यसैगरी कामपाले पुनर्निर्माणका लागि माग भएर आएका जनबहाल (सेतो मत्स्येन्द्रनाथ) को दिगिछेँ, स्वयम्भूस्थित भजनघरसँगैको विहार, स्वयम्भूस्थित आनन्दकुटी विहार, किमडोलस्थित आनन्दभुवन विहार, वानेश्वरस्थित अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र र लुम्बिनीको वज्रयान महाविहार निर्माण गर्न सहयोग गरेको छ।

प्रकाशित मिति: : 2022-01-03 22:10:00

प्रतिकृया दिनुहोस्