सिकाइभन्दा पढाइ र परीक्षा केन्द्रित पठनपाठनले विद्यार्थीको सर्वाङ्गीण विकासमा त बाधा पुगेको छ नै, यसबाट हाम्रो शिक्षा प्रणाली ‘बेरोजगार उत्पादन गर्ने थलो’ का रूपमा चित्रित भएको छ।
सन् १९५९ मा ली क्वान यीले सिंगापुरमा प्रधानमन्त्रीको कार्यभार सम्हालेलगत्तै उद्यमशील शिक्षाको योजना अगाडि बढाए। सिंगापुरलाई समृद्ध देश बनाउन त्यही शिक्षा प्रणालीको महत्त्वपूर्ण योगदान रहेको मानिन्छ। सिंगापुर ह्युमन रिसोर्स इन्स्टिच्यूटका अनुसार, पश्चिमा मुलुकहरूमा अहिले पनि सिंगापुरे जनशक्तिको ठूलो माग छ।
रिसर्च गेट जर्नलमा सन् २०२० मा प्रकाशित ‘अक्वाइरिङ नलेज एन्ड स्किल्स्’ रिपोर्टका अनुसार, कलेजको पढाइसँगै सामाजिक गतिविधिमा आबद्ध विद्यार्थी बढी रचनात्मक हुन्छन्। विद्यार्थीलाई रचनात्मक बनाउने सिकाइमा यूरोपका विश्वविद्यालय सबैभन्दा अगाडि छन्। बेलायत, फिनल्यान्ड, स्वीडेन, नर्वे लगायत मुलुकका विश्वविद्यालयले हरेक वर्ष पाठ्यक्रम बदल्दै आएका मात्र छैनन्, पाठ्यक्रमको आधा हिस्सा प्रयोगात्मक अभ्यासलाई दिएका छन्।
यसमा शिक्षक-प्राध्यापकले थप मिहिनेत गर्दै समसामयिक सन्दर्भलाई जोड दिन्छन्। विद्यार्थीले पढाइसँगै आफ्नो विषय अनुसार आधा समय ‘इन्टर्न’ मा दिनैपर्छ। परीक्षामा लेखिएको उत्तरले मात्रै विद्यार्थीको गुणवत्ता निर्धारण गर्दैन, शिक्षण संस्था–घरपरिवारसम्मको अनुशासनदेखि प्रयोगात्मक अभ्यासमा देखाएको लगनशीलता, विषयप्रतिको रुचि, मनोवैज्ञानिक पक्ष आदिको समेत ख्याल गर्दै मूल्याङ्कन गरिन्छ।
‘इन्टरनेशनल एजुकेशन स्ट्यान्डर्ड २०१९’ अनुसार फिनल्यान्ड, अमेरिका, क्यानडा लगायत देशको शिक्षा नीतिमा स्थानीयपन झल्किन्छ। उनीहरूले समाज अनुकूलको पाठ्यक्रम बनाउन विश्वविद्यालयलाई छूट दिएका छन्। पाठ्यक्रममा देशको आर्थिक, सामाजिक अवस्थासँगै उत्पादनमूलक शिक्षामा जोड दिइएको छ। विद्यार्थीले कक्षाकोठामा ४० र प्रयोगात्मक अभ्यासमा ६० प्रतिशत समय बिताउँछन्।