सन्तानको रहर पूरा भएपछि गरिने स्थायी बन्ध्याकरणमा पुरुषले कम चासो दिने गरेको पाइएको छ। पुरुषको तुलनामा स्थायी बन्ध्याकरण गर्ने महिलाको संख्या निकै बढी रहेको छ।
बितेको ५ वर्षमा परिवार नियोजन संघ दाङमा स्थायी बन्ध्याकरण गराउनेको संख्या हेर्दा पुरुषको तुलनामा पहिलाको संख्या निकै बढी रहेको पाइएको हो। सन् २०१७ देखि ०२१ सम्ममा कूल ८ सय ११ जनाले परिवार नियोजन संघमा स्थायी बध्याकरण गराएका छन्।
जसमा पुरुषको संख्या १५३ मात्र रहेको छ। ६५८ जना महिलाले स्थायी बध्याकरण गराएका छन्। जस अनुसार सन् ०१७ मा ३६ जना पुरुषले स्थायी बन्ध्याकरण गर्दा १६५ जना महिलाले स्थायी बन्ध्याकरण गरे।
त्यस्तै सन् ०१८ मा १६९ जना महिला र ४८ जना पुरुष, ०१९ मा १६८ जना महिला र १५ जना पुरुष, ०२० मा ४४ जना महिला र १७ जना पुरुष, ०२१ मा ११२ जना महिला र ३७ जना पुरुषले स्थायी बन्ध्याकरण गरेको परिवार नियोजनको तथ्यांक छ।
जनचेतनाको कमीले पुरुषले स्थायी बन्ध्याकरण गर्दैनन्
पहिलेको तुलनामा पुरुषले स्थायी बन्ध्याकरण गर्ने गरेको पाइए पनि अझै अन्धविश्वास भने कायमै रहेको परिवार नियोजन संघ दाङ शाखा प्रबन्धक बसन्त खनालले बताए। जसले गर्दा पुरुषले कम बन्ध्याकरण गर्ने गरेको उनको भनाई छ।
महिलाको भन्दा पुरुषको बन्ध्याकरण गर्दा छिटो र सहज रुपमा हुने गर्दछ। तर पुरुषमा विद्यमान अन्धविश्वास, यौन चाहनामा कमी हुने मनोविज्ञानले गर्दा पुरुषले स्थायी बन्ध्याकरणमा कम चासो दिने गरेको खनालले बताए।
त्यस्तै पुरुषभन्दा महिलाहरुनै आफैँ स्थायी बन्ध्याकरण गर्न जोड गर्ने हुँदा पनि पुरुष बन्ध्याकरणको संख्या कम भएको उनको भनाई छ। पुरुषहरु घर बाहिरको काममा जानु पर्ने, उनीहरुमा शारीरिक समस्या नआओस् भनेरै महिलाहरु स्वयम् स्थायी बन्ध्याकरणका लागि अघि सर्ने गरेका खनालले बताए।
‘अधिकांश महिलाले नै पुरुषलाई स्थायी बन्ध्याकरणका लागि पछि सारेको अवस्था छ। जे हुन्छ, म सहन्छु भन्ने मान्यताका कारण पनि महिलाहरुले उल्लेख्य रुपमा बन्ध्याकरण गर्ने गरेका छन्,’ उनले भने।
उनका अनुसार यस किसिमको अन्धविश्वासलाई हटाउन परिवार नियोजन संघले धेरै खालका सचेतनामूलक कार्यक्रम गरे पनि अझै धेरै गर्नुपर्ने अवस्था रहेको छ।
उनले स्थायी बन्ध्याकरण गर्दा यौन सन्तुष्टि अझ बढी हुने, शारीरिक समस्या नहुने हुँदा ढुक्कका साथ सुरक्षित जीवनका लागि स्थायी बन्ध्याकरण गर्न आग्रह पनि गरे।
बन्ध्याकरण श्रीमान श्रीमतीको सहमतिमा जसले गरेपनि हुन्छ भन्ने मनोविज्ञान भने केही समयमा बिस्तारै बढ्न थालेको खनालको भनाई छ।
बन्ध्याकरण भन्दा गर्भपतनको गर्नेको संख्या तेब्बर बढी
सन्तानको रहर पूरा भएपछि स्थायी बन्ध्याकरण गर्नुभन्दा गर्भपतन गर्नेको संख्या अझै बढी रहेको छ।
शारीरिक स्वस्थता, कामको योजना तथा सामाजिक विकासका लागि व्यवस्थित परिवार नियोजन अपरिहार्य रहे पनि अझै धेरैले असुरक्षित रुपमा परिवार नियोजनका साधन अपनाउने तथा गर्भपतन गर्ने गरेको पाइएको छ।
जसले गर्दा महिलाको स्वास्थ्यमा असर त गरेको छ नै साथै स्थायी बन्ध्याकरण गर्न सरकारले गरेको कार्यक्रमको प्रभावकारितालाईसमेत प्रभावित बनाएको छ।
यौन तथा प्रजनन् स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको नेपाल परिवार नियोजन संघले असुरक्षित रुपमा परिवार नियोजनको साधन प्रयोग नगर्न, स्थायी बन्ध्याकरणले असर गर्दैन भन्ने लगायत जनचेतनाको कार्यक्रम गर्दै आएको छ।
तर त्यस कार्यक्रमको प्रभावकारितालाई चुनौति दिने गरी गर्भपतन गराउनेको संख्या भने ठूलो देखिन्छ। पछिल्लो ४ वर्षमा स्थायी बन्ध्याकरण गर्ने भन्दा ईच्छा विपरित गर्भ रही स्वास्थ्य संस्थामा गई गर्भपतन गराउनेको संख्या झण्डै तेब्बर छ।
पछिल्लो ४ वर्षको अवधिमा परिवार नियोजन संघको सम्पर्कमा आई गर्भपतन गराउनेको संख्या २ हजार ७ सय ८६ रहेको छ। जसमा औजारको प्रयोग गरी १ हजार १ सय ९० जनाको गर्भपतन गराएका छन् भने औषधीको प्रयोग गरी गर्भपतन गराउनेको सख्या १ हजार ५ सय ९६ रहेको प्रबन्धक खनालले बताए। पछिल्लो ४ वर्षमा स्थायी बन्ध्याकरण गर्नेको संख्या ६ सय ७१ मात्र छ।
जानेबुझेकाबाटै लापर्वाही
यसरी गर्भपतन गराउनमा बढी जानेबुझेकै संलग्न हुने गरेको सरकारलाला बताउँछन्। परिवार नियोजन संघ दाङका प्रबन्धक खनालले अझै पनि विभिन्न खालका अन्धविश्वास, यौन शक्तिमा कमी, भ्रमका कारण मानिसहरु सन्तानको रहर पूरा भएपनि स्थायी बन्ध्याकरणका लागि ईच्छुक हुन नसकेको बताए।
जसले गर्दा सानो लापरवाहीले शारीरिक, मानसिक, आर्थिक समस्या झेल्न बाध्य भएपनि अझै धेरैले गलत बाटो रोज्दा यौन तथा प्रजनन् स्वास्थ्यका क्षेत्रमा उल्लेख्य सुधार गर्न चुनौतिपूर्ण रहेको उनको भनाई छ।
विद्यालयबाटै यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा बालबालिकाहरुलाई स्पष्ट जानकारी दिने उद्देश्यले विभिन्न चरणमा अभियानसमेत भइरहेकाले आगामी दिनमा सुधारका राम्रा संकेत आउन सक्ने अपेक्षा गरिएको खानालले बताए।
दाङका ८ स्थानमा स्थायी बन्ध्याकरण घुम्ती शिविर
दाङका ८ स्थानमा स्थायी बन्ध्याकरण घुम्ती शिविर शुरु गरिएको छ। स्वास्थ्य कार्यालय दाङ र नेपाल परिवार नियोजन संघ दाङको संयुक्त आयोजनामा अनुभवी विशेषज्ञ डाक्टरसहितको टोलीले स्थायी बन्ध्याकरण घुम्ती शिविर गरिरहेको हो।
विषय विशेषज्ञसहित १० जना परिवार नियोजन संघको टोलीले अहिले स्थायी बन्ध्याकरण शिविर संचालन गरिरहेको शाखा प्रबन्धक खनालले जानकारी दिए।
परिवार नियोजन संघ दाङ शाखाका अनुसार पुस १ गतेदेखि ३ गतेसम्म नेपाल परिवार नियोजन संघ दाङ शाखा घोराहीमा शिविर सञ्चालन भएको छ।
त्यस्तै पुस ४ र ५ गते देखउखुरी स्थित सिसहनियाँ स्वास्थ्य चौकी, पुस ६ र ७ गते गढवा स्वास्थ्य चौकी, पुस ८ र ९ गते लमही अस्पतालमा शिविर सञ्चालन हुने छ।
यस्तै ११ गते पश्चिम दाङको बबई गाउँपालिका स्थित पञ्चकुले स्वास्थ्य चौकी, पुस १२ गते श्रीगाउँ प्राथमिक स्वास्थ्य केन्द्र, पुस १३ र १४ गते राप्ती लाईफकेयर हस्पिटल तुलसीपुर र पुस १६ गते बंगलाचुली अस्पताल कमिरेचौरमा स्थायी बन्ध्याकरण शिविर हुन लागेको छ।
वर्षमा एक पटक मात्रै स्थायी बन्ध्याकरण शिविर हुने गर्छ। यो सेवा लिन कुनै शुल्क नलाग्ने तथा स्थायी बन्ध्याकरणपश्चात घरसम्म पुर्याइदिने व्यवस्थासमेत रहेको नेपाल परिवार नियोजन संघ दाङ शाखाले जनाएको छ