कर्णालीका सहकारीमा बचतभन्दा पुँजी बलियो

कर्णाली प्रदेशका सहकारी संस्थाहरुमा बचतभन्दा सेयर पुँजीको अवस्था बलियो रहेको पाइएको छ।

प्रदेशभित्र संचालनमा रहेका ७५ वटा बचत तथा ऋण सहकारी संस्थाहरुमा ८ अर्ब १९ करोड रुपैयाँ पुँजी रहेकोमा यी संस्थाहरुले ६ अर्ब ६१ करोड बचत संकलन गरी ९ अर्ब ८८ करोड कर्जा लगानी गरेका छन्। 

सहकारी ऐन-२०७४ को व्यवस्था अनुसार सहकारी संघसंस्थाहरुले प्राथमिक पुँजीको १५ गुणासम्म बचत संकलन गर्न पाउने व्यवस्था छ। कर्णाली प्रदेशमा भने पुँजीको तुलनामा बचत संकलन कमजोर रहेको नेपाल राष्ट्र बैंकले गरेको प्रादेशिक आर्थिक अध्ययनमा उल्लेख छ। 

गत आर्थिक वर्ष २०७७/७८ मा कर्णालीका बचत तथा ऋण सहकारी संस्थाको कुल पुँजी ३०.६६ प्रतिशतले वृद्धि भई ८ अर्ब १९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी संस्थाहरुको कुल पुँजी ३८.५८ प्रतिशतले वृद्धि भई ६.२७ अर्ब पुगेको थियो। 

यसैगरी गत आवसम्ममा संस्थाहरूको कुल बचत २७.८३ प्रतिशतले वृद्धि भई ६ अर्ब ६१ करोड  पुगेको छ भने प्रवाह भएको कुल कर्जा २७.५२ प्रतिशतले वृद्धि भई ९ अर्ब ८८ करोड पुगेको छ। अघिल्लो वर्षमा कुल कर्जा १३.५७ प्रतिशतले वृद्धि भई ७ अर्ब ७५ करोड पुगेको थियो।

कर्णाली प्रदेशमा ७५ वटा बचत तथा ऋण सहकारी संस्थाहरु संचालनमा छन्। यी संस्थाहरूमा सदस्यहरूको संख्या २.७१ प्रतिशतले वृद्धि भई दुई लाख २३ हजार आठ सय २४ पुगेको छ। गत वर्ष सोहीअवधिमा यो संख्या दुई लाख १७ हजार ९ सय १० रहेको थियो। यी संस्थाहरू प्रदेशभित्र एक हजार सात सय ५२ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेका छन्।

राष्ट्र बैंकले प्रदेशभित्रका १० ठूला सहकारीहरुको नमुना छनोट गरी अध्ययन गर्दा पुँजी ३१.१६ प्रतिशतले, बचत २६.२९ र कर्जा ४० प्रतिशतले वृद्धि भएको छ। सहकारीको संख्यात्मक वद्धि र सहकारीप्रति आमसर्वसाधारणको आकर्षण बढ्दै गएपछि कारोबार पनि बढ्दै गएको हो।

सहकारीमा कारोबार बढ्दै गएपनि प्रभावकारी अनुगमन नियमन नहुँदा सहकारीमा जोखिम पनि बढ्दै गएको छ।  

प्रकाशित मिति: : 2021-12-16 12:45:00

प्रतिकृया दिनुहोस्