देउवालाई हार्ने छुट छैन

गोरखापत्र

काठमाडौँ

नेपाली काँग्रेसको १४औँ महाधिवेशनका लागि संसदीय निर्वाचन क्षेत्रबाट आउने महाधिवेशन प्रतिनिधिहरू लगभग निर्वाचित भइसकेका छन्। यो तयारीसँगै काँग्रेसको नेतृत्वको नयाँ वैधानिकताका लागि उम्मेदवारहरू पनि लगभग तयार छन्। यो महाधिवेशन तेह्रौँभन्दा धेरै अर्थमा फरक छ। त्यो महाधिवेशन काँग्रेसभित्र अरूको अस्तित्व स्वीकार नगर्ने प्रवृत्तिविरुद्धको महाधिवेशन थियो।

आफ्नो अस्तित्व स्थापित गर्ने एउटा महाअभियान थियो। लोकतान्त्रिक पार्टीभित्र स्वेच्छाचारी प्रवृत्तिको अन्त्य त्यसबेलाको लक्ष्य थियो। यद्यपि, त्यो स्वेच्छाचारिताका नायकहरू चुनावी मैदानमा थिएनन्। समयको खेलमा उनीहरू यो लोकमा नै थिएनन्। तर त्यो प्रवृत्तिमा टेकेर आफूलाई संस्थापन भन्ने पक्ष अर्काको विजयको कल्पना गर्दैनथ्यो। कार्यकर्ताहरू केवल भारदार हुन् भन्ने जड सोचलाई त्यो महाधिवेशनले परास्त गरेको थियो र शेरबहादुर देउवा त्यो सोच र प्रवृत्तिलाई परास्त गर्ने निरन्तरको अभियानमा तेस्रो पटकमा सफल हुनुभएको थियो।

आज वडाका हरेक तहदेखि लोकतान्त्रिक अभ्यासबाट खारिदै तल्लो तहमा नेतृत्व चयनको प्रक्रिया चलिरहेको छ। संविधानले परिकल्पना गरेका प्रदेश समितिहरू स्वच्छ प्रतिस्पर्धाका आधारमा निर्वाचित हुने क्रममा छन्। क्रियाशील सदस्यका हरेक समस्यालाई सम्बोधन गरेर महाधिवेशनका प्रक्रियामा जाँदै गर्दा काँग्रेसले तल्ला तहदेखिको लोकतान्त्रिक अभ्यासलाई स्थापित गरेको छ। नयाँ पुस्तामा काँग्रेसप्रतिको आकर्षण बढाएको छ। १६ देखि ४० वर्ष उमेर समूहका युवा झन्डै एकतिहाइको सङ्ख्यामा काँग्रेसका क्रियाशील कार्यकर्ता बनेका छन्। केन्द्रमा बसेर युवा पुस्ताका लागि कामभन्दा नारा लगाउनेलाई चुनौती दिन सक्ने युवा काँग्रेस बनेका छन् । लामो निर्वाचन अभ्यासले गाउँगाउँमा काँग्रेसको लहर ल्याएको छ।

प्रकाशित मिति: : 2021-12-06 10:21:00

प्रतिकृया दिनुहोस्