ख्याउटो अनुहार झुस्स फुलेको दारी दरवारमार्गको एउटा कुनामा सधैं एउटा परिचित अनुहार काममा तल्लिन छ । चर्को घाम, मुसलधारे झरी र मुटु छेडने जाडो यसको कुनै पर्वाह छैन ।चार सन्तानको शिक्षादीक्षा, राजधानीको चर्को भाडा सुख्खा कमाइले रामनारायण महराको जीवनरुपी रथ जेनतेन मात्र चलेको छ । केटाकेटीको पढाइ खर्च धान्न मुश्किल रामनारायणको मन उदास छ तर पनि उहाँ चहकिला ब्राण्डेड पसल छेउमै बसेर ग्रहाकमा जुत्तामा टलक दिने काममा कति पनि विचलित हुनुहुन्न ।
उहाँले यो काम थलेको ३६ वर्ष बित्यो । ३६ वर्षमा दरवार मार्गको स्वरुप फेरियाे, कुनैबेला सानसौकत बोकेको नायणहिटी दरवार संग्रहालयमा परिवर्तन भयो, जुत्ताका फेसन फेरियो यी सबै परिवर्तनका साक्षी रामनारायणको जीवनमा खासै परिवर्तन आएन । उहाँका हातले हजारौं जुत्तामा चमक थपियो तर उहाँको मुहारको भने खुइलिँदै गयो ।
धनुषामा जुत्ता सिलाउन सिक्नु भएका उहाँ पैसा कमाउन काठमाडौँ आउनुभएको हो । कमाउने उमेरसँगै उहाँलाई काठमाडौंले तान्यो । गाउँमा खानजोत गरे चलेको जीवन दाइको आग्रहमा काठमाडौँ भित्रिएपछि उहाँका संघर्षका दिन सुरु भए । विस्तारै दाइसँगै जुत्ता सिलाउने काममा उहाँ पनि लाग्नुभयो । रामनारायणले दाइसँग जुत्ता सिलाउने कला सिक्नुभएको हो । विस्तारै उहाँले जीवन धान्ने बाटो नै जुत्ता सिलाउने कामलाई बनाउनुभयो ।