राष्ट्रिय खेलाडीले बाह्रबिसे कप ब्याडमिन्टन खेल्ने

Symbolic photo
Symbolic photo

सिल्क ग्रुपको प्रायोजन, बाह्रबिसे नगरपालिकाको सहयोग तथा खुर्सानीबारी खेलकुद कभर्डहलको आयोजनामा हुने बाह्रबिसे कप ब्याडमिन्टन २०७८ खुल्ला राष्ट्रव्यापी ब्याडमिन्टन प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ।

प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय टोलीका रत्नजित तामाङ, दीपेश धामी, नवीन श्रेष्ठ, रशिला महर्जन, अनुमाया राई, अमिता गिरीलगायतका खेलाडीहरू खेल स्थलमा आइपुगिसकेको छन्।

मंसिर १५ देखि १८ गते सम्म हुने राष्ट्रिय प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (नेपाल ब्याडमिन्टन संघको एकल तर्फ उच्च २० बरीयतामा रहेका खेलाडीहरू बाहेक), सिन्धुपाल्चोक जिल्ला स्तरीय पुरुष युगल र भेट्रान्स युगल गरी ५ विद्यामा १४८ खेलाडीहरूले प्रतिस्पर्धा गर्ने छन्।

जिल्लामा ब्याडमिन्टन खेलको विकास तथा विस्तार गर्दै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएका छन्।

५ लाख ५० हजार पुरस्कार राशि रहेको प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीहरूले पुरुष एकल तर्फ १ लाख २५ हजार दोस्रोले ६५ हजार तथा तेस्रोले ३० हजारका साथै मेडल, प्रमाण पत्र पाउनेछन्।  महिला एकल तर्फ ५० हजार दोस्रोले २५ हजार तथा तेस्रोले १२ हजार ५ सयका साथै मेडल र प्रमाण पत्र  पाउनेछन्।

पुरुष युगलतर्फकाे विजेताले १ लाख पाउँदा दोस्रोले ५० हजार पाउनेछ भने तेस्रोले  २५ हजारका साथै मेडल र प्रमाण पत्र पाउँदा  जिल्लास्तरिय युगल तर्फ र भेट्रान्स युगल तर्फका खेलाडीहरूले गिफ्ट ह्याम्परका साथै मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्।

३५ लाख अनुमानित बजेट रहेको प्रतियोगितालाई स्तरियता प्रदान गर्नका लागि प्रायोजक सिल्क ग्रुपले १० लाख बराबरको अन्तर्राष्ट्रिय स्तरको २ कोर्ट म्याट आयोजक खुर्सानीबारी खेलकुद कभर्डहललाई प्रदान गरेको छ।

प्रकाशित मिति: : 2021-12-01 19:40:00

प्रतिकृया दिनुहोस्