अन्ततः किसानसामु झुक्यो मोदी सरकार, तीनवटै कृषि कानून फिर्ता लिने घोषणा [भिडियाे]

बिएल संवाददाता

नयाँ दिल्ली

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्ततः तीनवटै कृषि कानून फिर्ता लिने घोषणा गरेका छन्।

आगामी संसद अधिवेशनबाट तीनवटै कृषि कानून फिर्ता लिएर संवैधानिक प्रक्रिया पूरा गर्ने बताएका छन्। प्रधानमन्त्री मोदीले कृषि कानून फिर्ता लिने घोषणा गरेर सबैलाई चकित पारेका छन्।

सरकारले कृषि कानून फिर्ता लिएसँगै किसानसँग सम्बन्धित अर्को महत्वपूर्ण निर्णय गरेको उनकाे भनाइ छ।

प्रधानमन्त्री मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै भने, ‘आज म सिङ्गो देशलाई यो बताउन चाहन्छु कि हामीले तीनवटै कृषि कानून फिर्ता लिने निर्णय गरेका छौँ। यहि महिनाको अन्त्यतिर सुरु हुन गइरहेकोसंसद अधिवेशनमा तीनवटै कृषि कानुन फिर्ता लिएर संवैधानिक प्रक्रिया पूरा गर्नेछौं।’

किसानलाई आन्दोलन अन्त्य गरेर घर फर्किन प्रधानमन्त्री मोदीले आग्रह गरेका छन्। तर, किसान नेता राकेश टिकैतले आन्दोलन तत्काल नराेकिने बताएका छन्।

भारतीय किसान युनियनका प्रवक्ता टिकैतले सामाजिक सञ्जालमार्फत् भनेका छन्– आन्दोलन तुरुन्त फिर्ता हुँदैन। हामी त्यो दिन पर्खने छौँ। जब संसदमा कृषिसम्बन्धी कानून खारेज हुन्छ। मोदी सरकारले ल्याएका किसानसम्बन्धी विभिन्न तीनवटा कानूनको विरोधमा एक वर्षदेखि किसानहरु आन्दोलित छन्।

प्रकाशित मिति: : 2021-11-19 10:54:00

प्रतिकृया दिनुहोस्