सीमाक्षेत्रमा चीनसँग भिड्दै बर्मेलीहरू, भत्काए काँडेबार

सुधा अत्रि

रंगुन, म्यान्मार
Photo– Irrawaddy
Photo– Irrawaddy

म्यान्मारको पहाडी सीमावर्ती क्षेत्रका स्थानीयहरूले चिनियाँ तारबार भत्काएका छन्।

कोरोना महामारीको त्राश देखाउँदै म्यान्मारको भू–भागभित्र चिनियाँ अधिकारीहरूले लगाएको काँडेबार उनीहरूले भत्काएका हुन्। उत्तरी म्यान्मारको कचिन र पूर्वको शान प्रान्तका स्थानीय बासिन्दाहरू सीमारक्षाका लागि भिडिरहेका छन्।

सैन्य ‘कू’यता बर्मेली नागरिक र चिनियाँ सैनिकबीच सीमा विवाद झन् चर्किएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। सीमाक्षेत्रका स्थानीय र चिनियाँ सैनिकबीचको मुठभेडले म्यान्मार–चीन सीमा विवाद पुनः एकपल्ट सतहमा आएको छ।

म्यान्मार सैन्य सरकारको समर्थक राष्ट्र चीनले सीमाक्षेत्रको आफ्नो भूमि दिनदिनै अतिक्रमण गरिरहेको स्थानीय बर्मेलीहरूले आरोप लगाएका छन्। उनीहरूले शान प्रान्तको म्यूज–पाङ्खाम गाउँ नजिकै चिनियाँ सैनिकले निर्माण गरेको तारबार भत्काएका हुन्। तर म्यान्मारस्थित चिनियाँ दूतावासले ‘अतिक्रमणको आरोप’लाई अस्वीकार गरेको छ।

चीनले म्यान्मारसँगै भारत र भुटानसँग पनि सीमा विवादको तनाव खेपिरहेका छ। वर्षातको अन्त्यलगतै बाली लगाउन खेतबारी पुगेका गाउँलेहरूले फेरि नयाँ काँडेतार देखेपछि भत्काएको दाबी गरेका छन्।

स्थानीयका अनुसार चीनले सन् २०१४ ताका पहिलोपटक म्यान्मारको भूमिमा पक्की–बार बनाएको थियो। त्यो बार पनि उनीहरूले तत्कालै भत्काएका थिए। आफ्नो खेतमा चिनियाँ सैनिकहरूले बेलाबेला प्रदर्शन गर्ने गरेको उनीहरूको गुनासो छ।

चिनियाँ सैनिकले अतिक्रमण गरेको घटनापछि म्यान्मार सैन्य सरकार चुपचाप रहेको गाउँलेहरू बताउँछन्। म्यान्मार–चीन मुख्य सीमा–नाका दक्षिणपश्चिमी चीनको युनान प्रान्तस्थित रुइली नदीको किनारमा पर्छ।

चिनियाँ सैनिक र म्यूज जिल्लाका स्थानीय बासिन्दाबीच पछिल्लो दुई महिनामा तेस्रोपटक मुठभेड भएको गाउँलेहरूले बताएका छन्। पटकपटक प्रयास गरेपनि दुबै देशका अधिकारीहरूले विवाद हल गर्न सकेका छैनन्।

प्रकाशित मिति: : 2021-11-06 06:03:00

प्रतिकृया दिनुहोस्