महामारीले राेकिएकाे चीन–उत्तर कोरिया रेलसेवा पुनः सुचारू

Photo: Reuters
Photo: Reuters

काेराेना महामारीले लामाे समयसम्म राेकिएकाे चीन–उत्तर कोरिया अन्तरदेशीय रेलसेवा पुनः सुचारू भएकाे छ।

सोमबारदेखि चीनको डान्डोङबाट यालु नदीको सीमा पार गर्दै कैयाैँ रेल उत्तर कोरियाको सिनुइजुमा पुग्न थालेका छन्।

क्रसबोर्डर रेलसेवा सुचारू भएसँगै सीमाक्षेत्रमा व्यापार फस्टाउँदै गएको छ चिनियाँ अधिकारीहरूले बताएका छन्।

दुईदेशीय सीमानाका बन्द हुनुअघि उत्तर कोरियाको वार्षिक अन्तर्राष्ट्रिय व्यापारको ९० प्रतिशतभन्दा बढी हिस्सा चिनियाँ वस्तुभाउले ओगटेकाे थियाे। काेराेना महामारीले अचानक सिमाना बन्दभएपछि उत्तर कोरियाको अर्थतन्त्र अहिलेसम्म ध्वस्त भएकाे छ।

चिनियाँ सामान काेरियाली बजारमा नपुग्दा प्रायः शहरहरू सुनसान छन्। व्यापारिक गतिविधि सुकेको छ।

चिनियाँ सर–सामान खरिद–बिक्री गरेर जीविकोपार्जन गर्ने काेरियालीहरूकाे अवस्था नाजुक बनिसकेकाे छ। हुँदाहुँदा उत्तर काेरियामा खाद्यान्न अभाव तिब्र रूपमा फैलिरहेकाे छ। सीमानाका ठप्प हुँदा आर्थिक उथलपुथलबाट पीडित कोरियालीहरूलाई साेमबारदेखि सुरू भएकाे अन्तरदेशीय रेलसेवाले केहि हदसम्म राहत मिल्ने अनुमान गरिएकाे छ।

केहि दिनयता काेरियाली अधिकारीहरू चिनियाँ समकक्षहरूसँग आयात हुने सामग्रीको लागि धमाधम सम्झौता गरिरहेका छन्। उनीहरू जतिसक्दाे छिट्टै खाद्यान्न र अन्य वस्तुभाउ काेरियाली शहरमा लैजान चाहन्छन्।

चिनियाँ सरकारले महामारीकाे कारण देखाउँदै लामाे समयसम्म व्यापार प्रतिबन्ध लगाएपछि काेरियामा खाद्यान्न संकट देखिएकाे छ। किनकि खेती उपकरण, मल र कीटनाशकहरूको अभावले बालीको उत्पादन अपेक्षा गरेभन्दा कम उत्पादन भएकाे विज्ञहरूले बताएका छन्। 

कोरोनाभाइरस फैलिने त्राशकै बीच काेरियाकाे राजधानी प्योङयाङसम्म अन्तरदेशीय रेल कुदाउन अधिकारीहरू तयार भएका हुन्। उनीहरू यसअघि सीमा नाका खाेल्नेबारे हिचकिचाउँदै आएका थिए।

प्रकाशित मिति: : 2021-11-03 06:32:00

प्रतिकृया दिनुहोस्