श्रममन्त्रीको घोषणा– श्रमिककाे गुनासो सुन्न मन्त्रालयमा २४ घण्टे डेस्कको व्यवस्था गर्छु

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले श्रमिककाे गुनासो सुन्न मन्त्रालयमा २४ घण्टे डेस्कको व्यवस्था गर्ने घोषणा गरेका छन्।

अबुधाबी डायलगमा सहभागी हुने क्रममा युएईमा रहेका मन्त्री श्रेष्ठको सम्मानमा तनहुँ सेवा समाजद्वारा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले आफु नेपाल फर्कनासाथ चाैबिसै घण्टा श्रमिकको गुनासो सुन्ने व्यवस्था गर्ने बताएका हुन्। उनले वैदेशिक रोजगारीका बहानामा नेपालीलाई ठगी गर्नेहरुका विरुद्ध कडारुपमा प्रस्तुत हुने समेत बताएका छन्।

यसैगरी मन्त्री श्रेष्ठले युएईमा कार्यरत नेपालीहरुका गुनासा र समस्याहरुलाई गम्भीरतापूर्वक लिएको बताउँदै नेपाल फर्कनसाथ सबै गुनासाहरुको सम्बोधन गर्न लागिपर्ने बताए। उनले दुबई , सारजाह , अजमान , रसअलखेमा लगायतका राज्यमा रहेका नेपालीहरुको सहजताका लागि दुबईमा छुट्टै कन्सुलर शाखा खोल्न पहल गर्ने समेत बताएका छन। दुबईमा लामो समयदेखि कन्सुलर शाखाको माग हुँदै आएको छ।

तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा विजयी श्रेष्ठलाई स्वागत गर्न तनहुँ सेवा समाज (युएई)ले बिहिवार दुबईमा विशेष कार्यक्रमको आयोजना गरेको थियो। तनहुँ घरभई युएईमा कार्यरत नेपालीहरुको तर्फबाट मन्त्री श्रेष्ठलाई सम्मान तथा स्वागत गर्न उक्त कार्यक्रम आयोजना गरिएको तनहुँ सेवा समाज (युएई) का कार्यवाहक अध्यक्ष सुरिन भुजेलले बताए।

कार्यक्रममा समाजका उपाध्यक्ष कृष सुनारले स्वागत मन्तव्य राखेका थिए भने संरक्षक दिपक खड्काले स्थापनाकालदेखि अहिलेसम्म संस्थाले संचालन गरेका गतिविधिका बारेमा मन्त्रीलाई जानकारी गराएका थिए।

प्रकाशित मिति: : 2021-10-30 06:22:00

प्रतिकृया दिनुहोस्