अमेरिकी अधिवक्तासँग विवाह गर्न जापानकी यी राजकुमारीले त्यागिन् राजकीय पदवी

Photo: Toshifumi Kitamura/AFP/Getty Images
Photo: Toshifumi Kitamura/AFP/Getty Images

अन्ततः जापानी राजकुमारी माकोले मंगलबार आफ्ना प्रेमी केइ कुमुरोसँग विवाह गरेकी छिन्। विवाहलगत्तै उनको जापानको राजकीय पदवी पनि गुमेको छ। राजपरिवारको सहमतिपछि राजपरिवार बाहिरका व्यक्ति कोमुरोसँग माकोको विवाह सामान्य तरिकाले भएको हो।

जापानको राजपरिबारको सदस्यले सर्वसाधरणसँग विवाह गरेमा स्वतः राजकीय हैसियत समाप्त हुन्छ। महिलाले आफ्नो राजकीय उपाधि त्याग्नुपर्छ भने पुरुषलाई यो बाध्यता छैन्। माकोले कुमुरोसँगको विवाहका लागि राजकीय पदवी त्याग्ने बताउँदै आएकी थिइन्। 

माको पूर्वराजा अकिहितोकी नातिनी तथा राजकुमार फुमिहितोकी जेठो छोरी हुन्। विद्यावारिधि गरिरहेकी उनी अनुसन्धानकर्ताको रूपमा काम गर्दै छिन्।

माको र कुमुरो लामो समयदेखि प्रेम सम्बन्धमा थिए। उनीहरुको सन् २०१२ मा विश्वविद्यालयमा भेट भएको थियो।

३० वर्षीय कुमुरोले अमेरिकामा अधिवक्ताको रुपमा काम गर्छन्। विवाहपछि माको पनि अमेरिका नै बस्नेछिन्। यो जोडीको सन् २०१७ मा इन्गेजमेन्ट भएको थियो। सन् २०१८ मा विवाह गर्ने योजना रहे पनि माकोको हुनेवाला सासुको वित्तिय लफडाका कारण स्थगित भएको थियो।

जापानको क्योदो समाचार संस्थाका अनुसार यो जोडिले आज नै पत्रकार सम्मेलनको आयोजना गर्दैछ।

प्रकाशित मिति: : 2021-10-26 10:01:00

प्रतिकृया दिनुहोस्