नियात्रा लिएर उदाए अभिनेता कृष्णमुरारी ढुङ्गेल, शताब्दी पुरुष जोशीद्वारा ‘होहाहोला’ को लोकार्पण [भिडियाे]

नेपाली कला-साहित्यका साधक एवम् कलाकार कृष्णमुरारी ढुङ्गेलको नियात्रा कृति 'होहाहोला' को लोकार्पण शताब्दी पुरुष सत्यमोहन जोशीले गरेका छन्। जोशीको निवास पाटनस्थित बखुम्बहालमा आयोजित एक समारोहमा वरिष्ठ साहित्यकारहरु एवम् साहित्यानुरागीको सहभागिता थियो।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा भएको उक्त समारोहलाई सम्बोधन गर्दै संस्कृतिविद् सत्यमोहन जोशीले भने,'पछिल्लो समय नियात्राको तीन वटा पुस्तक यही ठाउँमा विमोचन भए। नेपाली नियात्राकारको प्रतिभाले विश्व साहित्यमा पनि योगदान गर्ने छ। यसलाई संकलन गरेर नियात्राकोष बनाएर राख्न पायो भने यसले भावी पुस्ताका लागि योगदान हुने छ।'

वरिष्ठ साहित्यकार डा. ध्रुवचन्द्र गौतमले पुस्तक लेखेकोमा लेखकको प्रसंशा गर्दै भने, 'पुस्तक पछिल्लो पृष्ठबाट नपढौँ। अन्तिम पृष्ठसम्म पुग्न लेख्न कति मेहनत परेको होला। त्यसलाई नजरन्दाज नगरौँ।' उनले पुस्तक पूरै पढ्न आग्रह गरे।

लेखक एवम् साहित्यकारहरु अविनाश श्रेष्ठसहित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजसँग आवद्ध साहित्यकारहरुले पनि विमोचन समारोहलाई सम्बोधन गरेका थिए। पुस्तकको प्रकाशन फिनिक्स बुकले गरेको हो।

करिब साढे दुई दशकदेखि अमेरिकाको टोर्याण्टो बस्दैआएका लेखक ढुङ्गेलले आफूले पुस्तक तयार पार्दा र प्रकाशनको तयारीका क्रमका भोगाइहरु बताएका थिए।

प्रकाशित मिति: : 2021-10-23 13:46:00

प्रतिकृया दिनुहोस्