जी–२० शिखर सम्मेलनका लागि रुसी राष्ट्रपति पुटिन रोम नजाने

Photo: Aljazeera
Photo: Aljazeera

विश्वका प्रमुख प्रभावशाली राष्ट्रहरूको शिखर सम्मेलनका लागि रुसी राष्ट्रपति सम्मेलनस्थलमा उपस्थित नहुने भएका छन्।

राष्ट्रपति भ्लादिमिर पुटिनले सम्मेलन स्थलमा नजाने निर्णय गरिसकेको राष्ट्रपतिको कार्यालय क्रेमलिनले मङ्गलबार जानकारी दिएको छ।

कोरोनाभाइरसको महामारीका कारण सम्मेलनमा भौतिक रूपमा उपस्थित हुन नसक्ने राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।

स्थलगत उपस्थितिको सट्टामा राष्ट्रपति पुटिनले अनलाइनबाट नै सम्मेलनमा सहभागिता जनाउने वक्तव्यमा जनाइएको छ।

पुटिनले भौतिकरूपमा सम्मेलनमा सहभागिता जनाउन नसक्ने र अनलाइनबाट सहभागी हुने जानकारी सम्मेलनका आयोजकहरूलाई गराइसकेको राष्ट्रपति कार्यालयले जनाएको छ।

बहुचर्चित जी–२०को शिखर सम्मेलन यही अक्टोबर ३० र ३१ मा इटलीको राजधानी रोममा हुने तय भएको छ। त्यसैले राष्ट्रपति पुटिनले इटलीका प्रधानमन्त्री मारियो ड्राघीलाई नै आफ्नो निर्णयका बारेमा जानकारी गराएको रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता डिमित्री पेस्कोभले बताए।

सम्मेलनमा अर्जेन्टीना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, जर्मनी, फ्रान्स, भारत, इन्डोनेसिया, इटली, जापान, मेक्सीको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, बेलायत र अमेरिकाका शीर्ष नेताहरू सहभागी हुने कार्यक्रम छ।

प्रकाशित मिति: : 2021-10-20 06:20:00

प्रतिकृया दिनुहोस्