यसरी कठिन बन्दै छ एन्फा अध्यक्ष शेर्पाको आगामी दिन

२०५७ सालमा राजनीतिक हस्तक्षेपमार्फत फुटबलमा प्रवेश गरेका वर्तमान एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा अध्यक्षको पहिलो कार्यकालमा चौतर्फी घेराबन्दीमा परेका छन्। फुटबलमा उनको उपस्थितिलाई नजिकबाट नियाल्नेहरू अबका दिनका उनका साथमा कोही पनि रहन नसक्नेसमेतका आकलन गर्न थालेका छन्।

अहिलेको फुटबल विवादलाई हेर्न वर्तमान अध्यक्ष  शेर्पाको यो २१ वर्षे गतिविधिलाई नियाल्नुपर्ने हुन्छ।

२०५७ मा तत्कालीन सरकारले गणेश थापाको नेतृत्वमा रहेको फुटबल संघ विघटन गर्दै गीता राणाको अध्यक्षतामा अखिल नेपाल फुटबल संघ पुनर्गठन गरेको थियो। फुटबलको सर्वोच्च निकाय फिफाले यसलाई राजनीतिक हस्तक्षेपभन्दा अस्वीकार गरे पनि विवादले नयाँ रूप लियो।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा राष्ट्रिय मान्यताप्राप्त राणा पक्षधरको कार्यालय  रहेको थियो भने थापाले पनि अन्यत्र कार्यालय स्थापना गरेर एन्फाका गतिविधि जारी राखे। राणा पक्षधरको अधिवेशनमा टासी घले उम्मेदवार भएर पराजित भएका थिए। सोही समयमा तत्कालीन सदस्य सचिव विनोदशंकर पालिखेले फेरि राणा कमिटीलाई बर्खास्त गर्दै थापालाई अध्यक्षमा स्थापित गराए। यसरी राणालाई बर्खास्त गर्दै थापालाई जिम्मेवारी सुम्पनेमा शेर्पा र टासी घलेलगायतको समूहको भूमिका थियो।

गणेश थापा फेरि सातदोबाटोको भवनमा प्रवेश त गरे परन्तु यसपछि उनका विरुद्धमा विभिन्न चरणमा आन्दोलन भए। २०६३ मा तत्कालीन खेलकुद परिषद् नेतृत्वको साथ पाउने आसमा विजय मानन्धर, इन्द्रमान तुलाधर, राजेन्द्र न्यौपानेलगायतले आन्दोलन गरे। यो आन्दोलन पदीय भागबन्डा र सम्झौतामा टुंगिएको थियो।

७० को दशकमा फेरि थापाको विरुद्धमा आन्दोलन भयो। यसपटक कर्माछिरिङ शेर्पा, पंकज नेम्बाङ, नवीन पाण्डे, किशोर राई, कृष्ण थापालगायतको ठूलो समूह रहेको थियो। संयोग नै हो कि अन्तर्राष्ट्रिय फुटबल राजनीतिको असर नेपालमा पनि परेपछि गणेश थापामाथि १० वर्षको प्रतिबन्ध लाग्यो।

यसपछि भएको अध्यक्षको निर्वाचनमा थापा समूहमा रहको नरेन्द्र श्रेष्ठ विजयी भए। अर्कोपटक पूरा कार्यसमितिको निर्वाचन हुँदा नरेन्द्र उम्मेदवार नभएर सो समूहबाट मणि कुँवर उम्मेदवारको रूपमा अघि सरे। कुँवरको उम्मेदवारीसँगै इन्द्रमान तुलाधरसहितको एउटा समूह कर्माछिरिङको पक्षमा उभिएपछि कर्मा अध्यक्षमा निर्वाचित भएका थिए।

फुटबलमा सुधार र “चेन्ज एन्फा” अभियानको नाममा भएको आन्दोलनबाट फाइदा उठाउँदै नेतृत्वमा पुगेका शेर्पा नेतृत्वमा पुग्नेबित्तिकै विगतको भन्दा भ्रष्ट र आर्थिक रूपले अपारदर्शी भएको आरोप लाग्न थालेको थियो।

कत्तिसम्म भने नेपाली फुटबल टोलीका प्रशिक्षक अब्दुल्ला अल्मुताइरीको भावनालाई प्रयोग गर्दै विवादमा पार्ने काममा अध्यक्ष लागेको आरोप एक पक्षको छ। अधिवेशन हुन एक वर्ष बाँकी रहँदा मतदानलाई प्रभावित गर्ने गरी विभिन्न जिल्लाका प्रतिनिधिलाई विदेश घुमाउन उनी तल्लीन रहेको प्रस्ट देखिएको छ।

यसभन्दा अगाडि कर्माछिरिङलाई अध्यक्षमा जिताउन मुख्य भूमिका निर्वाह गर्ने समूह अहिले उनको साथमा छैन। उनलाई अध्यक्ष बनाउने क्रममा सबैभन्दा सक्रिय पंकज नेम्बाङ उनको मुख्य विरोधीको रूपमा रहेका छन् भने किरण राई पनि उनको विरुद्धमा छन्।

त्यसो त फुटबल प्रशिक्षक कृष्ण थापाले गणेश थापाको नेतृत्वमा विद्रोह सुरु भएपछि कर्माछिरिङलाई साथ दिँदै आएका थिए। यसैगरी महिला फुटबल संघकी अध्यक्ष बिन्द्रा देवान पनि अहिले उनको साथमा छैनन्।

एन्फा नेतृत्वमा स्थापित हुनेबित्तिकै पंकज नेम्बाङलगायत समूहले संघ नेतृत्व आर्थिक सवालमा पारदर्शी नभएको आरोप लगाउन सुरु गरेको थियो। कर्माले त्यो आरोपलाई बेवास्ता गर्दै मात्र हिँडेनन्, अन्य धेरै विवादमा मुछिए।

ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापाले ग्रुप च्याटमा लेखेको आधारमा कारबाही भएको थियो। यसैगरी, राजनीतिक रूपमा भक्तपुर जिल्ला संघलाई प्रभावित पारिएको थियो। कास्की जिल्ला फुटबल संघमा पनि नयाँ किसिमको विवाद यसै समयमा देखियो।

समस्या यत्तिमा सीमित थिएन, गत वर्ष उनले “तराईवासी राष्ट्रियतामा कमजोर हुन्छन्” भन्ने अभिव्यक्ति सार्वजनिक गरे। यस अभिव्यक्तिकै कारण उनको अझ तीव्र आलोचना भयो। यसै वर्ष घरेलु तथा आन्तरिक यात्रा गर्दा नक्कली हवाई टिकट बनाउने गरेको सञ्चारमाध्यममा आएपछि यसको विषयमा पनि छानबिन समिति गठन भएको थियो।

फुटबल संघभित्र विवादमा मुछिँदै गएको शेर्पा शक्तिकेन्द्र रिझाउन भने लगातार तल्लीन रहे। राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई कतार लिएर गएका उनले सिलवालकै सल्लाहमा टासी घलेलाई एन्फामा भित्र्याएको निकट श्रोतको दाबी छ।

एन्फाभित्रको चार गुट

अहिले नेपाल फुटबल संघभित्र चार गुट सक्रिय छन्। अध्यक्ष शेर्पाको नेतृत्वमा एउटा गुट छ। सो गुटमा पदाधिकारीभन्दा बढी उपसमितिका सदस्यहरू र केही कर्मचारीको प्रभाव छ। यस गुटका प्रमुख पात्र उपाध्यक्ष उपेन्द्रमान सिंह हुन्। फुटबल प्रशिक्षक बालगोपाल महर्जन र हरि खड्का सो समूहमा छन्। प्रशिक्षक चयन र जिम्मेवारीमा यो समूहले मनपरी गरेको भन्दै नेपालका धेरै प्रशिक्षक अहिले रुष्ट बनेका छन्।

गत खुकुरी एनएसएल लिगमा फुटबल संघकै कारण तत्कालीन राष्ट्रिय टोलीका प्रशिक्षक बालगोपाल महर्जनलाई क्लब फुटबलमा समेत सिफारिस गरिएको थियो। नेपालको राष्ट्रिय लिग विजेता टोलीका प्रशिक्षक प्रवेश कटुवाललाई भने पूर्णरूपमा बेवास्ता गरिएको थियो।

यसै समूहमा महिला फुटबल समितिकी पेमा लामा र कर्मचारी सञ्जीव मिश्र छन्।  २०५८ मा सरकारले एन्फा विघटन गर्दै गीता राणालाई अध्यक्षमा चयन गर्दा राणाको अत्यन्त निकट पात्र मिश्र लामो समयसम्म थापाका आलोचक थिए।

तिनै थापाको विरुद्धमा आन्दोलन चल्दा भने उनी थापाका निकट पात्र भएका थिए। अहिले शेर्पा अध्यक्ष भएपछि उनी शेर्पाका प्रियपात्र बनेका छन्। उनी विगतमा काठमाडौँ क्लबका अध्यक्ष भए पनि क्लबको अहिले नेपाली फुटबलमा खासै प्रभाव छैन।

महासचिव इन्द्रमान तुलाधरको अर्को समूह छ। यो समूहमा काठमाडौँका ए डिभिजन क्लब अधिकारीको प्रभाव छ। साथमा एन्फाको पछिल्लो साधारण सभामा अन्तिम समयमा मणि कुँवरको साथ छाड्दै कर्माको पक्षमा लाग्ने एउटा समूह यसमा छ।

पूर्वअध्यक्ष गणेश थापा निकट अर्को समूह छ। विगतदेखि नै गणेश थापा निकट रहेको एउटा समूह अहिले पनि फुटबलमा प्रभावशाली छ। गत एन्फा अधिवेशन बहिस्कार गरेका कारण कार्यसमितिमा त यो समूहको प्रभाव कम छ। तर, जिल्ला फुटबल संघ र ए डिभिजन क्लबमा थापा समूहको प्रभाव छ। साथमा काठमाडौँ जिल्ला फुटबल संघ थापा निकट मानिन्छ।

उपाध्यक्ष पंकज नेम्बाङ नेतृत्वको अर्को समूह छ। किरण राईलगायत एउटा समूहको उपस्थितिले यो समूह बलियो भएको जनाइन्छ। फुटबलमा गलत शैली र प्रचलन रहेको भने बारम्बार आवाज उठाएका कारण धेरै खेलाडी यो समूहमा नजिक छन्। महिला फुटबल समिति तथा खेलाडी समिति यसै समूहमा रहने प्रबल सम्भावना छ। नेपालका धेरै जिल्ला संघ पनि यस समूह निकट छ।

चार महिनापछि हुने अधिवेशनलाई मूलतः नेपाली कांग्रेसको हुँदै गरेको महाधिवेशनले पनि प्रभावित पार्ने आकलन गरिएको छ। आसन्न फुटबल संघको अधिवेशनमा प्रतिनिधि हुनेहरू कांग्रेस पार्टीको राजनीतिमा पनि सक्रिय रहेका कारण सो पाटीको अधिवेशनले पनि फुटबल संघको साधारण सभामा प्रभाव पार्ने आकलन गरिएको हो।

अबको  केही महिनामा एन्फाको अधिवेशन त हुने नै छ। विगतमा आफूलाई सत्तासीन गराउनेको साथ टुटेपछि शेर्पा संगीन मोडमा पुगेका छन्। उनले चाल्ने कदम पनि सबैले पर्खिएर बसेका छन्। सायद अबको अधिवेशन उनका लागि अत्यन्त कठिन हुने छ।

– समाचार एजेन्सी

प्रकाशित मिति: : 2021-10-16 22:29:00

प्रतिकृया दिनुहोस्