भारतमा विद्युत संकट

File photo
File photo

चीनपछि भारतमा पनि विद्युत संकटको आशंका गरिएको छ। चीनले विद्युत र ऊर्जा संकटका कारण आर्थिक वृद्धिदरको लक्ष्य नै घटाइदिएका बेला कोइलामा निर्भरमध्येको एउटा मुलुक भारतमा पनि संकट देखिन थालेकाे आँकलन गरिएको हो।

भारतीय सञ्चारमाध्यमले त्यहाँको केन्द्रीय ऊर्जा मन्त्रालयलाई उदृत गर्दै समाचारमा जनाएअनुसार १३५ पावर संयन्त्रमध्ये ७२ वटासँग आगामी तीन दिनका लागि मात्र बिजुली उत्पादन गर्न कोइला मौजदात छ।

यो संयन्त्रले भारतमा कुल खपतको ६६.३५ प्रतिशत बिजुली उत्पादन गर्छ। जसमध्ये ७२ संयन्त्र बन्द भएमा ३३ प्रतिशत बिजुली कमी हुनसक्ने अनुमान गरिएको छ।

भारतमा कोरोना अघि अगस्ट-सेप्टेम्बर २०१९ मा दैनिक १० हजार ६६० करोड युनिट बिजुली खपत हुन्थ्यो भने २०२१ को अगस्ट-सेप्टेम्बरमा बढेर खपत १२ हजार ४२० करोड युनिट पुगेको छ।

त्यतिखेर थर्मल पावर संयन्त्रमार्फत कुल खपतको ६१.९१ प्रतिशत बिजुली उत्पादन हुँदै आएकोमा हाल आएर १८ प्रतिशत कोइला खपत बढेको छ। तर, सेप्टेम्बरमा काेइला खानी क्षेत्रमा भारी वर्षाका कारण आपूर्तिमा समस्या आएकाे थियाे।

भारतले कोइला उत्पादनसँगै आयात पनि गर्छ। तर,कोइला आयात पनि महँगो भइदिएको छ। इन्डिोनेसियाबाट आयात हुने कोइला दुई वर्षमा प्रतिटन ६० डलरले बढेर २०० डलर पुगेको छ। जसकारण आयात घटिरहेको भारतीय अधिकारीहरूले बताएका छन्।

विश्वमा कोरोना संकटपछिको अर्थतन्त्र चलायमान हुन थालेसँगै चीन, भारतजस्ता ठूला मुलुकमा विद्युत संकट देखा पर्न थालेको हो। चीनको पूर्वाेत्तर क्षेत्रमा कोइला आपूर्तिमा कमी आएपछि त्यहाँ विद्युत संकट बढिरहेको हो।

उत्तरी चीनको टियानजिङ सबैभन्दा ठूलो बन्दरगाह पनि विद्युत आपूर्तिमा आएको समस्याले प्रभावित भएको छ। जारी ऊर्जा संकट गहिरिँदै गएमा विश्वभर विद्युतीय सामग्रीसँगै औषधि, प्लास्टिक, कार, अटोमोबाइल्ससँगै अन्य उद्योगको उत्पादनमा असर पर्न सक्ने ठानिएको छ।

प्रकाशित मिति: : 2021-10-03 09:06:00

प्रतिकृया दिनुहोस्