समाजले त्यो मानिसलाई सलाम गर्दछ, जसले भुइँकै संघर्षबाट आफ्नो छाप बनाउँछ। सलाम त्यसै पाइँदैन। संघर्ष र कडा परिश्रमको भुमरीभित्र हजारौँ पटक भाैतारिनु पर्छ।
जन्मभूमि छाडेर कर्मभूमिमा जमिरहेका नेपालीमूलका डोलराज गैरे छोटो समयमा सफलताकाे स्वाद चाख्ने मध्येका एक प्रेरणदायी र उदाहरणका पात्र हुन्।
उनी १८ वर्षअघिसम्म भारतको मध्यप्रदेशस्थित भोपालमा एउटा सामान्य झुपडीमा बस्थे। सरकारी कार्यालयमा काम गर्थे। साइकलको भरमा सडक–सडक चर्हार्थे। तर अहिले उनको दैनिकी र पहिचान बेग्लै बनेको छ।
सागर गैरे फास्ट फूड कर्नर ‘साईकल सूपवाला’मार्फत् उनी मध्यप्रदेशमा परिचित छन्। डोलराजले शहरभर १७ वटा रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन्। उनले मुम्बई र लखनऊमा पनि सुरु गर्ने योजना रहेकाे बताए।
उनको सफलता उनकै मेहनतका कारण सम्भव भएको उनलाई नजिकबाट चिन्नेहरू सुनाउँछन्। अहिले उनी विदेशी 'बर्गर'सँग प्रतिस्पर्धाको तयारीमा समेत जुटिरहेका छन्।
गैरे भोपालका स्थानीयहरूको मन–मनमा बस्न सफल भएका छन्। एकताका राज्य–राजधानीको गल्ली–गल्ली धाउँदै ‘साइकलमा सूप’ बेच्थे। अहिले उनको त्यो दिनचर्या फेरिएको छ। उनी सबैको नजरमा छन्।
समर्पण, संघर्ष र मेहनतले १८ वर्षमै करोडपति बनेका उनी जन्मभूमि नेपाल छाडेर वर्षौअघि नयाँ शहर दिल्ली हुँदै भोपालसम्म आइपुगे।
शहर पसे पनि पूर्खाको सम्पत्तिमा उद्योग चलाएका तमाम मान्छेहरू भेटिन्छन्। तर भुइँदेखि आकाशसम्मको यात्रा गर्नेहरू बिरलै औँलामा गन्न सकिन्छ। ती मध्येका एक मुख्य पात्र हुन्, नेपालीमूलका उनै गैरे।
आठ पासपछि काम खोज्दै भारत
डोलराज पश्चिम नेपालको पाल्पा जिल्लामा जन्मिएका हुन्। उनको परिवारभित्र आर्थिक अवस्था राम्रो थिएन। गैरेले धेरै पढ्न पाएनन्। अन्ततः आठ कक्षा पास गरेपछि सन् १९८० ताका काम खोज्दै भारत छिरे।
जन्मभूमि छाडेर कर्मभूमि लागेका उनले सबैभन्दा अघि दिल्लीका साना–तिना होटलमा काम गरे। लगतै, आजादपुर मन्डीसम्म कामकै खोजीमा पुगेका गैरे आफन्तको आग्रहमा मध्यप्रदेशको राजधानी भोपाल आइपुगे।
सुरुवाती दिनमा ठेलामा तरकारी बेच्न सघाउने उनी अनेक संघर्षका बाबजुद भोपालस्थित पर्यटन विकास निगमको कार्यालयमा जोडिए। यो उनको सरकारी जागिरी थियो।
कार्यालयको काम सकेर साइकलमा सूप बेच्थे
उनी दिनभर कार्यालयमा काम गर्थे। साँझपख साइकलमा सूप बेच्न गल्ली-गल्ली र चोक-चोक निस्किन्थे।
‘मैले पर्यटन विकास निगममा जागिर पाएपछि ६ नम्बर नजिकको बस्तीमा बस्थेँ। निगमबाट मासिक ३५० रुपैयाँ कमाउथेँ,’ गैरे विगत सम्झिन्छन्। उनी भोपालभर डुल्थे र एक गिलास सूप ५ रुपैयाँ (भारतीय)मा बेच्थे।
रात पर्नै लाग्दा दिनहुँ सडक साइकलसँगै हिँडिरहेका उनी बिस्तारै शहरभर परिचित हुन थाले। मान्छेहरू उनलाई ‘साइकल सूपवाला’को नामले समेत चिन्र थाले।
सन् २००३ मा सरकारी जागिरी छाडेर उनी पूर्णरुपमै सूप, स्यान्डवीच र बिरयानी व्यापारमा लागे। उनको हातले बनाएको सूप पिउने बानी परिसकेका स्थानीयहरू सोधीखोजी गर्दै उनीकहाँ पुग्थे।
खाना पकाउने शाेख, आफै बनाउँछन् सूप
डोलराज गैरेका भोपालमा मात्रै १७ ओटा रेष्टुरेन्ट सञ्चालनमा छन्। उनी भारतका विभिन्न शहरमा थप बिस्तार गर्न समेत लागिपरेको बताउँछन्। उनी खाना पकाउन शौखिन हुन्।
सरकारी कार्यालयको कामसँगै सूप बेच्दाताका स्मरण गर्दै गैरे भन्छन्, ‘मैले जागिरीसँगै सानो–तिनाे सूप व्यापार पनि थालेको थिएँ। मलाई खाना बनाउन कुनै दुःख लाग्दैन। रहर लाग्छ। बच्चाबच्ची हुर्काउन पैसा जोहोका लागि गरिरहेको सूप व्यापार यति ठूलो हुन्छ भन्ने सोचकै थिएन।’
उनले सानो व्यवसायबाट छोटो समयमै ठूलो फड्को मारे। उनी राम्रो स्यान्डवीच र बिरयानी तथा सूप बनाउँछन्। उनका नियमित ग्राहकहरू उनैले बनाएको सूप पिउन रुचाउँछन्। ‘अहिले पनि आफै सूप बनाउने प्रयास गर्छु। मलाई यस्तो काम गर्न मन पर्छ,’ उनले भने।
सडकबाट हटाएपछि पसल किने
उनी भोपालस्थित १० नम्बर बजारमा साँझपख साइकलसँगै उभिन्थे। यो बजार उनको लागि खास भइसकेको थियो। राम्रो व्यापार पनि गर्थे। तर बजारमा भीड बढ्न थाल्यो।
अन्य व्यापारीलाई भीडले समस्या भएपछि गैरेको ‘सूप साइकल’ हटाउन अनेक उपाय लगाउन थालियो। राम्रो आम्दानी भइरहेको बेला सडक छाड्नुपर्दा दुःख मानेका गैरेले पसल किन्ने सोच बनाए। अन्ततः उनी सडक हुँदै भाडाको पसलसम्म पुगे।
उनले स्टेट बैंकको सहयोगमा ऋण लिएर पसल खोलेका थिए। ५ रुपैयाँमा बेचिरहेको सूप १० मा बेच्न थाले।
एक्लै हिँडेका ती दिनहरू
संघर्षका दिनहरूमा उनी एक्लै हिँडिरहे। चिनेजानेकाहरूले समेत सहयोग गरेनन्। पसलसामु साइकल लिएर उभिदाँ पनि धपाउँथे। भगाउँथे।
तर, आज समय बदलिएको छ। गैरे हिजोका जस्ता गैरे छैनन्। अहिले कार टायर 'पङ्क्चर' हुँदा पनि ‘लाइन’ लाग्छन्। ‘केहि वर्षअघि म सामान ल्याउन बजार गइरहेको थिएँ। गाडी पङ्क्चर भयो। ५–७ जना मान्छेहरू आएर मलाई गाडी नै छुन नदिई एकैदिनमा बनाइदिए,’ उनले त्यो दिन सम्झे।
विदेशी बर्गरसँग प्रतिस्पर्धाको तयारी
उजी मध्यप्रदेशसँगै लखनऊ र मुम्बईमा 'सागर गैरे फास्ट फूड कर्नर' सञ्चालन गर्ने विचारमा छन्।
डोलराजका छोरा सागर बुबासँगै देशभर ब्राण्ड फैलाउन लागिपरेका छन्। उनी विदेशी बर्गरसँग प्रतिस्पर्धाको लागि आफ्नो ब्राण्ड अघि ल्याउने तयारी गरिरहेका छन्।
‘विदेशी बर्गरको ब्रान्डहरू भारतीय शहरमा आउटलेट हुन सक्छन्, हामी किन सक्दैनौँ,’ उनले भने, ‘धेरै नाफा कमाउने हाम्रो सिद्धान्त छैन, हामी हाम्रो स्वाद सकेसम्म धेरै मानिससम्म पुर्याउन चहान्छौं।’