माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री वर्षमान पुन (अनन्त) उपचारको लागि थाइल्याण्डको राजधानी बैङ्कक् उडेका छन्।
पूर्वमन्त्री पुन जन्डिसको समस्या बढेपछि बैंकक गएका छन्। उनलाई स्वास्थ्य लाभकाे कामना छ।
ललितपुरस्थित सुमेरु अस्पतालमा दुई दिनदेखि उपचाररत उनलाई थप उपचार गर्न थाइल्याण्ड लगिएकाे हाे। नेता पुन तत्कालिन माओवादी 'जनयुद्ध'का बेला माओवादी सेनाका लडाकुका 'डिपुटी कमाण्डर' समेत हुन्।
वर्षमान उपचारका लागि बैंकक प्रस्थान गरेकै दिन सुर्खेतका एक कमाण्डर भने उपचारको आशमा दशरथपुर आफ्नै घरको आँगनमा ढलिरहेका थिए। पंक्तिकार जनयुद्वकालका माओवादी सेनाका लडाकुका एक जना चर्चित कमाण्डर बिर्खलाल बुढा उर्फ कमरेड टाइगरको निवास पुग्दा दयनीय अवस्था देखिन्थ्यो।
चारैतिरबाट काठका कत्तरले बारिएको सानो झुपडीमा छन् कमरेड टाइगर। घर छेउमा ढल्नै आटेको गोठ छ। आगनसँगै जोडिएको सानो खेतमा लहलह झुलिरहेका धानका बालाहरु। अनि आँगनछेउमै रहेको धारामा पानी भर्न जादा बेवारिशे अवस्थामा ढलिरहेका थिए– कमरेड टाइगर।
०५२ साल फागुन १ गतेदेखि तत्कालीन माओवादीले सशस्त्र जनयुद्वको शङ्खघोष गर्यो। त्यसलगत्तै कर्णालीको जुम्लाबाट जनयुद्वमा हाम्फालेका कमरेड टाइगर माओवादी 'जनयुद्ध'भरि 'जनसेना'को 'भूमिका'मा रहेर रगत पसिना बगाइरहे।
जनसेनाको संरचनाअन्तर्गत विभिन्न तह हुँदै बटालियन कमाण्डरसम्मको तहमा पुगेका टाइगरको शरीरभरि १०४ वटा छर्राहरु बाँकी छन्। दुईवटै खुट्टा टेकिँदैनन्। दाहिने हात चल्दैन। बोली राम्रोसँग आउँदैन अनि शरीर दुख्ने र सुन्निने भइरहन्छ।
जुम्ला, लमहि, मसुरिया, पाण्डौन, खारालगायत 'जनयुद्ध' कालका चर्चित हमलाका मोर्चाहरुको 'एसल्ट कमाण्ड' सम्हालेका कमरेड टाइगर करिब ५ वटा मोर्चाहरुमा घाइते हुन पुगे।
स्वेच्छिक अवकाशपश्चात् सुर्खेतको दशरथपुरमा बसिरहेका उनको श्रीमती पनि द्वन्द्वकालीन घाइते हुन्। उनको पनि टाउकोमा छर्राहरु रहेका छन्। उक्त छर्रा निकाल्न नपाउँदा बेला–बेलामा मानसिक समस्या देखिने गरेको छ।
वर्गीय समानताको सुनौलो सपना देख्दै जनयुद्धको आँधिहुरीमा हाम फालेका थिए– कमरेड टाइगर। शान्तिप्रकियापश्चात् आफ्नो घाइते शरीर बोकेर उपचारको निमित्त कहाँसम्म गएनन् होला!
कुन–कुन नेता कमाण्डरहरुलाई हात जोरेनन् होला। कुन–कुन संघ संस्थासँग अनुनय–विनय गरेनन् होला तर उनको सब प्रयास असफल भयो।
कमरेड टाइगर सम्झिन्छन् केही वर्षअघि मात्र उनी आफ्ना नेताहरुलाई भेट्न काठमाडौं छिरे। हिजोका आफ्नै कमाण्डर एवम् हालका उपराष्ट्रपति रहेका नन्दकिशोर पुन (पासाङ) लाई हजार प्रयास गर्दा पनि उनले भेत्ने मौका पाएनन्। गाउँबाट लगेको खर्च सिद्धिएपछि पशुपति मन्दिरमा भिख मागेर खाई सडकमा सुतेर पर्खिदा पनि भेत्न पाएनन्– उपराष्ट्रपति पासाङ्लाई।
विगतलाई सम्झिँदा आज आँखाभरि आशु बनाई भक्कानियर बोल्नै सक्दैनन्– कमरेड टाइगर। आज उपचारका लागि पैसा त परको कुरा, राज्यबाट पाइरहेका भत्तासमेत कटौती भयको छ– त्यो पनि उनकै पार्टी सरकारमा रहेको समयमा।
हिजो 'जनयुद्ध'मा एउटै सपना बोकेर युद्वमा सँगै लडेका दुई कमाण्डर थिए– अनन्त (वर्षमान) र टाइगर। फरक यत्ति हो– कसैको भूमिका बढी भयो होला अनि कसैको अलिकति कम। तर, कमरेड टाइगरले जस्तै रगत बगाउने कमाण्डरहरु कम छन् माओवादी 'जनयुद्ध'लाई फर्केर हेर्ने हो भने।
'जनयुद्ध'ले मुलुकमा केही राजनीतिक उपलब्धिहरु निश्चय पनि स्थापित गर्यो तर जनधनको क्षतिका तुलनामा उपलब्धि भन्न मिल्छ कि मिल्दैन अहिलेको परिवर्तनलाई? हुनेखाने र गरीखाने बीचको भिन्नता आज पनि उस्तै छ भने जनताका लागि के परिवर्तन भयो र?
यदि कमरेड टाइगरसँग पनि आज उपचारको लागि पैसा भइदिएको भए थाइल्याण्ड उड्थे होला नि! साँझ–बिहान आँगनमा ढलिरहेका बुबालाई हेरेर रोइरहने १३ वर्षीया छोरीको पनि मन खुशी हुन्थ्यो होला नि, है? तर विडम्वना! यो कस्तो 'जनयुद्व' लडिएछ, कस्तो गणतन्त्र ल्याइएछ? जहाँ लडाउनेहरु मात्र बाँच्न पाउने अनि लड्नेहरु ढलिरहने... ढलिरहने...।
कमरेड टाइगरको अत्यन्तै नाजुग अवस्था देखेपछि मनले मानेन। अनि यति लेखेको छु। लेख्नुपर्ने धेरै छन्। कुनैप्रति राजनीतिक पूर्वाग्रह थिएन, छैन र हुनेछैन।
(प्रस्तुत लेख सुगम सरोवरको निजी विचार हो।)