एसियन महिला छनोटमा इतिहासबाट चुकेको नेपाल

नेपाली महिला फुटबलको इतिहास कोट्याउने हो भने धेरै टाढा जानु पर्दैन। नेपालले न त्यस्ता ठूला कुनै प्रतियोगिता नै खेलेको छ।  पछिल्लो समय मात्रै हो नेपाली महिला फुटबलले निरन्तर अन्तर्राष्ट्रिय मैदानमा खेल्न थालेको।

अझ भनौ, सन् २०१० को दक्षिण एसियाली खेलकुद (साग) मा महिला फुटबल खेललाई पनि स्थान दिएपछि महिला फुटबलले निरन्तर अन्तर्राष्ट्रिय क्षेत्रमा स्थान पाएको हो।  

नेपाली महिला राष्ट्रिय टोलीले सन् १९८६ मा एएफसी महिला च्याम्पियनसिपमार्फत अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेको थियो। जहाँ नेपाल हङकङसँग १–० गोल अन्तरले निराश भएको थियो।

नेपाली महिला टोलीले त्यसपछि पनि लगातार तीन पटक (सन् १९८६, १९८९ र १९९९) मा एसियन कप खेलेको थियो। तीनै पटक नेपालको यात्रा समूह चरणमा सीमित भएको थियो। जस अन्तर्गत दुई पटक थाइल्यान्ड, इन्डोनेसिया र हङकङ सम्मिलित समूहमा परेको नेपाल तेस्रो पटक भने इन्डोनेसिया र हङकङसँगै जापान सम्मिलित समूहमा परेको थियो।

पछिल्लो समय भने नेपाली महिला फुटबल टोलीको यात्रा दक्षिण एसियामा मात्र खुम्चिँदै गएको छ। भारतसँगै दक्षिणमा एसियामा नेपालले आफूलाई स्थापित गरेको छ। यद्यपि, दक्षिण एसियामा आयोजना हुने साफ च्याम्पियनसिप तथा सागमा सधैँ नेपालको तारो भारत बन्दै आएको छ। 

हाल नेपाली महिला टोली एसियन छनोट अन्तर्गतका खेल खेलिरहेको छ। नेपाल भारतमा सन् २०२२ मा आयोजना हुने एएफसी महिला एसियन कप अन्तर्गत छनोट खेल खेल्न यतिबेला उज्वेकिस्तानमा छ।  

एएफसी एसियन कपमा नेपालको यो चौथो सहभागीता हो। यस पटक नेपाललाई एउटा इतिहास रच्ने अवसर थियो। पहिलो खेलमा नेपालले फिलिपिन्सविरुद्ध त्यो इतिहास नजिक थियो। तर, अन्तिम दुई मिनेट सम्मालिएर खेल्न नसक्दा इतिहास कोर्नबाट बञ्चित रह्यो। 

नेपालले सन् १९८६, १९८९ र १९९९ मा खेलेको एसियन छनोट खेलमा हालसम्म कुनैपनि खेल जित्न सकेको छैन। समूह चरण पार गर्नु त ठूलो कुरा भयो। 

शनिबार नेपालले फिलिपिन्सलाई पराजित गर्दै इतिहासको पानामा रेकर्ड बनाउने निश्चित थियो। तर, अन्तिम ९० र त्यसपछि थपिएको दुई मिनेटमा लगातार गोल व्यहोर्दा नेपाल सो अवसरबाट चुक्यो। 

फिफा वरियतामा १०१ औँ स्थानमा रहेको नेपालले ६८ औँ स्थानमा रहेको फिलिपिन्सविरुद्ध खेलको १० औं मिनेटमा अग्रता बनायो। लेफ्ट विंगर सविता राना मगरले गरेको लामो पासलाई सिक्स यार्ड बक्समा रहेकी बिमला चौधरीले उत्कृष्ट हेडिङमार्फत गोल गरिन्।

राष्ट्रका लागि पहिलो गोल गरेकी बिमलाको गोलसँगै नेपालले पहिलो हाफ र दोस्रो हाफको ९० मिनेट फिलिपिन्सलाई १–० को अग्रतामा रोकेको थियो।  

तर, जापानको शीर्ष डिभिजनसहित एसियामा राम्रो अनुभव बटुलिसकेका फिलिपिन्सका खेलाडीसामु नेपाली खेलाडी अन्तिम केही मिनेट धर्मराउन पुगे। 

खेलको ९० मिनेटमा फिलिपिन्सकी ताह्नाइ अन्निस र ९२ मिनेटमा कामिल विलसनको गोलसँगै नेपाल एएफसी एसियन कप छनोटमा पहिलो जितबाट टाढा रहन पुग्यो। यस्तै अन्तिम ह्विसलसम्म नेपालले १–० को नतिजा लिएको भए, नेपालले पहिलो पटक फिलिपिन्सलाई हराउन सफल हुने थियो। तर, दुबै अवसरबाट नेपाल शनिबार चुक्यो। 

फिलिपिन्सबिरुद्ध सुरुवातमै गोल गरेपछि नेपालले रक्षात्मक खेल र बीच बीचमा काउन्टर अट्याक खेल्दै फिलिपिन्सलाई दबाबमा राखेको थियो। तर, पहिलो हाफ र दोस्रो हाफमा दुई महत्वपूर्ण खेलाडीले चोट बोकेपछि नेपालले सोचेजस्तो नतिजा पाउन सकेन। 

गोलकर्ता तथा पछिल्लो समय राईट ब्याकमा प्रभाव जमाइरहेकी विमलाले पहिलो हाफमै चोट बोकिन्। उनको स्थानमा मैदान प्रवेश गरेकी अनिताले औषत प्रदर्शन गरिन्। 

दोस्रो हाफको ५७ मिनेटमा राईट ब्याक पूजा राना घाइते भएपछि नेपाल पूजाकै पोजिसनमा कमजोर देखियो। पूजाले चोट बोकेपछि विमला विकले राष्ट्रिय टोलीबाट ५७ मिनेटमा डेब्यु अवसर पाइन्। 

तर, विमला पहिलो खेलमै असफल रहिन्। विमला पूर्ण रूपमा आफ्नो क्षेत्रमा कमजोर सावित भइन्। नेपालले दुवै गोल विमला विकको क्षेत्रबाट व्यहोरेको हो।पहिलो गोलमा विमलाले आफू नजिकै रहेको बल क्लियर गर्न सक्दिनन्। दोस्रो गोलमा समेत विमलाले आफ्नो भूमिका बिर्सेर विपक्षी खेलाडीलाई खुलेर खेल्न दिन्छिन्। त्यस्तै क्रस बलसमेत उनले क्लियर गर्ने पोजिसनमै देखिदिनन्। 

अन्य क्षेत्रमा भने नेपालका अन्य खेलाडीले निकै नै राम्रो प्रदर्शन गरेका थिए। मुख्यतया गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बा, डिफेण्डर हिरा कुमारी भुजेल, गीता राना, पूजा राना (चोट बाहेक) अमृता जैशीले डिफेन्समा शत प्रतिशत दिएका थिए। 

यस्तै डिफेन्सिभ मिडको भूमिका पाएकी रेणुका नगरकोटे, सरु लिम्बू, मन्जली कुमारी योञ्जनसमेत तल झर्दै डिफेण्डरलाई राम्रै साथ दिएका थिए। मिडलाइनमा १६ वर्षकी प्रिती राईले समेत आफूलाई प्रमाणित गर्दै डिफेन्स र अट्याकिङमा उत्तिकै भूमिका निर्वाह गरिन्। 

समूह ‘एफ’ को अर्काे खेलमा नेपालले ५ असोजमा हङकङको सामना गर्नेछ। एसियन कपमा नेपालले हालसम्म हङकङलाई समेत हराउन सकेको छैन।

अब, नेपालले भारतमा आयोजना हुने एएफसी महिला एसियन कपमा स्थान बनाउन हङकङविरुद्ध गर या मरको स्थितिमा हुनेछ। नेपालले हङकङलाई पराजित गरेर मात्रै हुँदैन गोल संख्यासमेत बढाउनु पर्नेछ। 

यदि, नेपालले हङकङलाई ठुलै गोल अन्तरले पराजित गरे र ८ असोजमा हङकङले फिलिपिन्सलाई पराजित गरेको खण्डमा शीर्षस्थानमा रहँदै नेपालको छनोट सम्भावना रहन्छ। रमेश सुवेदी/ न्युज कारखाना 

प्रकाशित मिति: : 2021-09-19 15:33:00

प्रतिकृया दिनुहोस्