विक्रमीय सम्बतको भाद्र महिना जनसाधारणको लागि शीतकालमा कृषि कर्म, गृष्म महिनामा नाङ्गो जीउमाथि झेलेको गर्मीको भीषण झापड़को प्रहार तथा वर्षात अविरल झरीमा लुग्–लुग् काम्दै गरेर वर्षभरिको खाद्यात्रको प्रतीक्षामा आँखा पसारेर कुर्ने समय हो।
यस्तो आल्हादकारी तथा अनुकूल मौसम र फुर्सद्को समयमा भगवानलार्ई धन्यवाद र कृतज्ञता प्रकट गर्ने समयको पहिचान गरेर भाद्रको शुक्ल पक्षलाई निकै महत्वपूर्ण व्रतोपासनको रूपमा मनाउने गरिएको परम्परा चलेको हो कि ?
परेवा, द्वितीया तथा तृतीयालार्ई स्त्री जातिका मानिस पवित्र पर्व पूर्वाङ्गको रूपमा लिइन्छ। यस तीन दिनमा सधवा स्त्रीहरुले प्रायः लसुन, प्याज आदि आमिष हालेको खाद्य पदार्थ ग्रहण गर्दैनन्। अन्य पर्वहरु अनुसार तीज पर्वमा पनि व्रतभन्दा एक दिनपहिले ‘नहाए–खाए’को पालन गर्नुपर्दछ।
आफ्नो पतिदेवको सुस्वास्थ्य, दीर्घायु, समृद्धि, शान्तिको कामनाका साथै महादेव शंकरजीसित याचना पूजन गर्नको लागि प्रत्येक सधवा महिलाहरुले तीज पर्व मान्ने परम्परा रहेको छ। तीजभन्दा अघिल्लो दिन रात्रीको तेश्रो प्रहरमा दर (भोजपुरी भाषामा सरगही) खाएर तीजको बिहानदेखि २४ घण्टासम्म निर्जला तथा निराहार रही तीज पर्व मनाउने परम्परा रहेको छ।
सोही क्रममा भाद्र शुक्ल तृतीयाको दिन मध्यान्हको समय नजिकको पवित्र जलमा स्नान गरेर घरमा आई भगवान शिव परिवारको मृद्लिङ्ग बनाई त्यसको विधिवत् पूजन अर्चन, भजन–कीर्तन तथा गीत–गायन गरी आत्मसमपर्ण गर्नुको साथै विसर्जन गरेर तीज पूजाको समापन हुन्छ।
तीजको भोलिपल्ट चौथी तिथि आउँछ। भाद्र महिनाको शुक्लपक्षको चौथी तिथिलाई पनि धार्मिक दृष्टिकोणले अत्यन्त पवित्र तिथि मानिन्छ। विघ्नहर्ता भगवान गणेशको जन्म सोही दिन भएको थियो भन्ने धार्मिक मान्यता रहेको छ। भगवान गणेशलाई विघ्नहर्ता, ऋद्धि–सिद्धिका स्वामी, ज्ञान प्रदान गर्ने देउता तथा मानव जीवनमा आई पर्ने कुनै पनि किसिमको अपयश, लाञ्छना, आरोप आदिबाट मुक्तिदाता देउताको रूपमा चिनिन्छ।
त्यस कारणले भाद्रशुक्ल चौथी तिथिको दिन भगवान गणेशको व्रतोपासन गरिन्छ। व्रतालूजन चौथीको दिन बिहानै नुहाइ–धुवाई गरी दिउँसभरि उपवास राख्दछन् तथा रातीको समय आकाशमा चन्द्रमा उदित भएपछि दही, अक्षता, चन्दन आदिले अघ्र्यदान गरेर व्रतको समापन गर्दछन्।
पंक्तिकारको वाल्यकालमा पाठशालामा अध्ययन गर्ने विद्यार्थीहरु तथा गुरूजनहरुले पाठशालामा पहिले भगवान गणेशको विधिवत् पूजन–अर्चन गरेर उनको मूर्तिलाई खटमा राखेर टाउकोमा उचाली प्रत्येक विद्यार्थीको घर–घरमा गई सो विद्यार्थीको अभिभावकबाट भगवान गणेशको पूजन गराई गच्छेअनुसारको दान–दक्षिणा लिने गर्दथे। त्यसलाई भोजपुरी भाषामा ‘चकचत्रा’ भन्दथे।
चकचत्रामा विद्यार्थीहरुले दुवै हातमा रङ्गीन काठको टुक्रा (भोजपुरी भाषामा त्यसलाई ठकड़ा भनिन्थ्यो) लिएर एक साथ बजाउँदै गणेश विषयक विभिन्न खाले गीत गाउने गर्दथे। यस प्रकार विद्यार्थीहरुको घर घरबाट पाएको दान–दक्षिणाको जिन्सि तथा नगदी आपसमा बाँड़ेर लिन्थे तथा गणेश पूजनोत्सवको समापन हुन्थ्यो।
अबका दिनहरुमा यो परम्परा लुप्तप्रायः भए पनि गणेश पण्डालको नयाँ ढंगले थालनी देखिँदैछ। गणेश पण्डाल केही दिनसम्म रहिरहन्छ। त्यसमा भगवान गणेशको पूजन–अर्चन हुनुका साथै भजन–आरती तथा विभिन्न खाले मनोरञ्जक कार्यक्रमहरु हुने गर्दछ।
चौथी तिथिपछि पञ्चमी तिथि आउँदछ। यस पञ्चमी तिथिको पनि आफ्नै किसिमको विशेषता तथा मान्यता रहिआएको छ। यस दिनलाई ऋषि पञ्चमी भन्दछन्।
नारीहरुबीच ऋषि पञ्चमी व्रत पनि निकै लोकप्रिय रहेको छ। स्त्रीहरु रजस्वाला भएको दिनहरुमा जानेर वा नजानेर खाद्य पदार्थ, भाडा–वर्तन, भान्छकोठा वा पुरूषको अङ्ग स्पर्षबाट स्पर्षदोषको पाप लाग्दछ भन्ने धार्मिक मान्यता रहेको छ।
उक्त पापमोचन गर्नको निम्ति पञ्चमी तिथिको दिन सप्तऋषिहरुको पूजन–अर्चन गर्ने परम्परा रहेको छ। शास्त्रअनुसार स्त्रीको रजोदर्शन भएपछि–प्रथमेऽहनि चाण्डाली द्वितीये ब्रह्मघातिनी तृतीये रजकी प्रोक्ता चतुर्थेऽहनि शुद्धयति। अर्थात् पहिलो दिन त्यस प्रकारकी स्त्री चाण्डालिनी, दोश्रो दिन ब्रह्मघातिनी, तेश्रो दिन धोबिनी तथा चौथो दिन चोखिन्छिन्।
त्यस्तो अवस्थामा ती स्त्रीबाट स्पर्षदोष हुन गएमा त्यस पापबाट उन्मुक्ति पाउनको लागि सप्तऋषिको शरणमा पर्नुपर्दछ। ती ऋषिहरु हुन– कश्यपोऽत्रिर्भभारद्वाजो विश्वामित्रस्तु गौतमः। जमदग्निर्वसिष्ठश्च सप्तैते ऋषयः स्मृताः। अर्थात् कश्यप, अत्री, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ जम्मा सातवटा ऋषिहरुलाई सप्तऋषि भन्दछन्।
ऋषिपञ्चमी व्रतमा यिनै ऋषिहरुको विधिअनुसार पूजा गरेर व्रतालूहरुले ब्राह्मणलाई दान–दक्षिणा अर्पण गरेर मानव प्रयासले न उब्जिएको खाद्यपदार्थ खाएर खरना गरी व्रतको समापन गर्दछन्। यस प्रकार विशेष गरेर तराईका महिलाका लागि भाद्र महिनाको शुक्लपक्ष निकै नै महत्वपूर्ण तथा धार्मिक भावनाले ओतप्रोत रहेको पाइन्छ।