मणिपाल बिक्रीबारे गण्डकी सरकारले मुख खाेल्याे- ‘अध्ययन गर्दैछौँ’ [भिडियाेसहित]

भारतीय व्यवसायीक समूह मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रूपले पोखरामा सञ्चालनमा ल्याएको मणिपाल मेडिकल कलेज बिक्रीबारे जनस्तरमा चासो बढेको छ।

पोखरेली व्यवसायीक कम्पनी बतास अर्गनाइजेसन र अटोवेज समूहले मणिपाल किनेको खबर बाहिरिएपछि चौतर्फी चासो बढेको हाे। 

२६ वर्षअघि मणिपाल ग्रूप र नेपाल सरकारबीच ४९ वर्षसम्मका लागि पोखरामा मेडिकल कलेज खोज्ने सम्झौता भएको थियो। कारणवश अस्पताल चलाउन नसकेपछि मणिपाल ग्रूप बाहिरिन लागेको हो।

पोखरामा लामो समयदेखि अटो व्यापार गर्दै आएका व्यवसायीद्वय आनन्दराज बतास र नारायण पौडेलको समूह बपौ(बतास, पौडेल) होल्डिङ्सले साढे तीन अर्ब नेपाली रुपैयाँमा किनेको खबर बाहिरिएसँगै जनस्तरमा चासो बढ्याे।

सम्झौता अनुसार मणिपालको तत्कालीन शाही नेपाली सेनाले फूलबारी ब्यारेकको स्वामित्वमा रहेको १९३ रोपनी ७ आना जग्गा लिजमा लिएको छ। सिंहदबारस्थित रक्षा मन्त्रालयमा २०५२ साउन ४ मा भएको दुई पक्षीय सम्झौतापछि मणिपाल ग्रूपले तीन किस्तामा सरकारलाई ४९ वर्षको प्रति रोपनी ८० हजार रूपैयाँको दरले हुन आउने रकम बुझाएर सञ्चालनमा आएको थियो।

३ सय ५० शैयाको अस्पताल भवन, मेडिकल कलेजका लागि आवश्यक जग्गा खरिद गर्ने सम्झौता अनुसार अस्पतालले ४० रोपनी जग्गा खरिद गरेको थियो। त्यसको लालपूर्जा मणिपालकै नाममा छ। जसमा अहिले अस्पतालको मुख्य भवन र भवन अगाडिको होस्टेल छ।

यद्यपि, मणिपाल बिक्रीबारे आधिकारिक सम्झौता पत्र भने अझै बाहिरिएको छैन। यसबारे सरकारी निकायसमेत अनभिज्ञ छ। सरकारलाई थाहै नदिई सुटुक्क अस्पताल बेच्न लागेको भन्दै जनस्तरबाट आलोचना पनि भइरहेको छ। राष्ट्रिय चासोको विषयमा समेत राजनीतिक दल र सरकारी निकाय मौन बसेको भन्दै आवाज उठिरहेका छन्।

यसबारे गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्री कुमार खड्का सरकार अध्ययनकै क्रममा रहेको बताउँछन्।

प्रवक्ता खड्काका अनुसार मन्त्रिपरिषदमा यो विषयबारे कुनै औपचारिक निर्णय नभए पनि प्रदेश सरकारको संलग्नताबारे छलफल चलिरहेको छ। आवश्यक निर्णय नभए पनि सरकारको ध्यानाकर्षण भएको उनले बताए।

अन्य प्रदेशमा सरकारी मेडिकल कलेज सञ्चालनमा आए पनि गण्डकीमा भने सरकारी मेडिकल कलेज अझैं सञ्चालनमा आएको छैन। यो नेपाल भित्रिएको अहिलेसम्मकै ठूलो वैदेशिक लगानी पनि हो।

प्रकाशित मिति: : 2021-09-01 20:20:00

प्रतिकृया दिनुहोस्