काबुल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै अर्को ठूलो हमला

Photo - EPA /EFE

अफगानिस्तानको राजधानी काबुलमा अर्को ठूलो आक्रमण भएको छ। यो घटना काबुल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको हो। 

काबुल विमानस्थल नजिकै आईएस-के सम्बद्ध एउटा सवारी साधनमाथि एउटा ड्रोन बज्रिएको अमेरिकी सेनाले जनाएको छ।

अमेरिकी अधिकारीहरूले काबुल विमानस्थलमा आक्रमण गर्ने लक्ष्य राखेको आत्मघाती बमधारी विरुद्ध निशाना लगाइएको बीबीसीले जनाएकाे छ।

विमानस्थलबाट अमेरिकी नेतृत्वको सेनाले उद्धार तथा सहयोगका कार्यहरु गरिरहेका बेला त्यस कार्यलाई प्रभावित पार्ने गरी विस्फोटन भएको विश्लेषण गरिएको छ।  

विमानस्थल नजिकै पर्ने बाक्लो बस्ती भएको आवास क्षेत्रमा विस्फोटन भएको अधिकारीहरुले जानकारी दिएका छन्। 

स्थानीय समयअनुसार आइतबार साँझ ४ः५५ मा विस्फोटनको घटना भएको र अहिलेसम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त भइनसकेको अधिकारीहरुले जनाएका छन्। 

काबुल विमानस्थल नजिकै यसअघि गत बिहीबार पनि शक्तिशाली विस्फोटन भएको थियो। घटनामा परी कम्तीमा १३ अमेरिकी सैनिकसहित कम्तीमा १७० जनाको मृत्यु भएको थियो। 

विस्फोटनका कारण अरू २०० जना घाइते भएको र उनीहरुमध्ये धेरैको अहिले पनि विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ। 

पहिलो विस्फोटनपछि पनि दर्जनौँ विमानहरुले हजारौँ मानिसलाई काबुल विमास्थलबाट उद्धार गरेर अन्यत्र लगेका छन्। 

अफगानिस्तानमा यही अगस्त १४ तारिखका दिन तालिबान विद्रोहीहरुले केन्द्रीय राजधानी काबुल कब्जा गरेपछि हजारौँ मानिसले अफगानिस्तान छाडेका छन्। 

अफगानिस्तान छाड्न विमानस्थलमा हजारौँको भीड लागिरहेपछि त्यसलाई रोक्न तालिबान विद्रोहीहरुले नै दबाब दिइरहेका बेला विस्फोटनका घटना भएका हुन्।

प्रकाशित मिति: : 2021-08-29 21:39:00

प्रतिकृया दिनुहोस्