एकपटक हेर्नैपर्ने वृत्तचित्र ‘मायाको संसार’

मायादेवी भण्डारी (४०) माओवादी सशस्त्र द्वन्द्वले दिएको नमिठो घाउ, पारिवारिक वियोगको पीडाले आजपनि उनको आँखा रसाउँछ। हरेक साल आउने बैशाख ७ गते उनलाई पीडाका पहाडहरू र खुशीका बहारहरू एकसाथ दिएर जान्छन्। 

बैशाख ७, २०३८ उनको जन्मदिन अनि बैशाख ७, २०६४ उनको सपना लुटिएको दिन। फरक समयका यिनै दुईदिन हुन् जसले उनलाई खुशी र पीडा दुवै दिएर गयो। विछोड, रोदन र संघर्षका बीच ईलामको सामाजिक, राजनीतिक र व्यवसायीक क्षेत्रमा फरक पहिचान बनाएकी एकल महिला हुन् मायादेवी भण्डारी (भट्टराई)। ४० वर्षको उनको संघर्षपूर्ण जीवनलाई ४७ मिनेटको वृत्तचित्रमा उतारेका छन्, कथाकार रामप्रसाद ढुँगेलले। 

झापा बिर्तामोडको समृद्धि फोटो तथा भिडियो सेन्टरले उत्पादन गरेको वृतचित्र 'मायाको संसार'मा नेपालमा माओवादीले चलाएको सशस्त्र द्वन्द्वले नेपाली जनजीवनमा पारेको असर, त्यसले उत्पन्न गरेको पारिवारिक वियोग, एकल महिलाले भाेग्नुपरेको संघर्ष र त्यसपछिको सफलतालाई सिलसिलेबार रूपमा प्रस्तुत गरिएको छ।

युएईमा दशवर्ष भिडियोग्राफी गरेर नेपाल फर्केका देवेन्द्र निरौलाले छ्यांकन गरेको वृत्तचित्रको निर्देशन हरि बस्नेतले गरेका हुन्। रिचा उप्रेतीको स्वरांकन रहेको वृत्तचित्रमा निर्देशकले बहुतै मेहनत गरेका छन्।

झापा बिर्तामोडमा यसैवर्षदेखि सञ्चालनमा आएको समृद्धि फोटो तथा भिडियो सेन्टरको पहिलो वृत्तचित्र हो 'मायाको संसार'। वृत्तचित्रमा संघर्ष, सफलता र साहसकी त्रिवेणी मायादेवी भण्डारी 'भट्टराई'को जीवनलाई चलचित्रमा झैँ सलल... बगाइएको छ। केही दृश्यले वृत्तचित्र हेर्ने हरकोहीलाई पनि भावुक बनाउँछ। यसमा देखाइएको द्वन्द्वकालका केहि घटनाक्रमले सशस्त्र द्वन्द्वमा आफन्त गुमाएकाहरुको मुटुमा बिज्छ। यद्यपि कथाकी मुख्यपात्र मायाले गरेको संघर्ष र उनले प्राप्त गरेको सफलताले सबैलाई उनीजस्तै बन्न अभिप्रेरित गरेको छ।

जस्तोसुकै कठोर मन हुनेहरूलाई समेत वृत्तचित्रले पगालेको छ। युएईमा रहेर पत्रकारिता गर्दैआएका कथाकार रामप्रसाद ढुँगेलले मायाको पीडा र भोगाईलाई सबैलाई महसुस हुने कथामा बुनेका  छन्। वृत्तचित्रमा दर्शकले स्वयंभित्र माया पात्र पाउँछन्। समृद्ध टिभी नामको युट्युब च्यानलबाट सार्वजनिक गरिएको वृत्तचित्र विद्या चापागाईंको हेर्नेकथाबाट प्रभावित भएको देखिन्छ। समग्रमा वृत्तचित्र उत्कृष्ट बनेको छ। 

भिडियो : 

प्रकाशित मिति: : 2021-08-11 13:20:00

प्रतिकृया दिनुहोस्