नोवेल पुरस्कारः पर्दा पछाडिका राेचक रहस्यहरु

विजय बस्नेत

काठमाडौँ

हिजाेआज 'नोवेल पुरस्कार'काे विषयमा नसुनेकाे/नजानेकाे मान्छे सायदै भेटिएलान्।

प्रसिद्ध नोवेल पुरस्कार प्राप्त गर्न ‍विश्वका टप विश्वविद्यालय र देशहरुमा होडबाजी चलेकाे पाइन्छ। त्यसाे त याे पुरस्कारले जत्तिकाे इमान र इज्जत बढाउँछ, त्यत्तिकाे चूनाैती  पनि थपिदिन्छ।

नोवेल पुरस्कार अहिले ६ विधामा दिइदै आइएको छ। जसमा शान्ति, साहित्य, क्रिया विज्ञान तथा चिकित्सा, भौतिकशास्त्र, रसायनशास्त्र र अर्थशास्त्र हुन्। नोवेल पुरस्कारको स्थापना सन्् १८९५ मा स्वीडेनका वैज्ञानिक अल्फ्रेड नोवेलले गरेका थिए।

उनको नाममा चर्चित आविष्कार डाइनामाइटसहित तीन सय ५५ वटा आविष्कारहरू प्याटेन्ट दर्ता भएका छन्।  नोवेलको जन्म सन् २१ अक्टोबर १८३३ मा स्टक–होम स्विडेनमा भएको थियो। उनकाे पारिवारिक वातावरण व्यापारिक पृष्ठभूमिकाे छ।

बुबाले उनलाई एक सफल व्यापारी बनाउन चाहन्थे। तर उनी वैज्ञानिक बने। त्यति मात्र हाेइन शान्तिवादी र राम्रा लेखक तथा कवि बने।

उनकाे विवाहकाे किस्सा पनि अचम्मकाे छ। उनले अष्ट्रियन नागरिक बर्था किन्स्काईसँग विवाह गरे। तर अचम्म लाग्दाे कुरा के छ भने समयमै विवाह नगर्दा उनले पत्रिकामा विज्ञापन नै छापेर विवाह गर्नुपरेकाे थियाे।

साहित्य, रसायनशास्त्र र भौतिकशास्त्रमा उनकाे रुची असाध्यै थियाे। पेरिसमा रहँदा अल्फ्रेडले प्रसिद्ध रसायनशास्त्री टि.जे. पेलाउजको निजी प्रयोगशालामा काम  गरे। त्यहाँ उनले थुप्रै ज्ञान हासिल गरे। साथै अन्य रसायनशास्त्रीसँग पनि उनको भेट भयो। उनको भेट चर्चित रसायनशास्त्री एस्कानियो सोब्रेरोसँग पनि भयो।

सोब्रेरोले एउटा अत्यन्त विष्पोटक तरल नाईट्रोग्लिसरिनको आविष्कार गरेका थिए। उक्त तरल पदार्थको  नाईट्रोग्लिसरिनलाई व्यावहारिकमा प्रयोग गर्न त्यतिबेला खतरनाक थियो। अल्फ्रेडलाई उक्त  तरल पदार्थमा निकै रुचि लाग्यो र अनेक अध्ययन अनुसन्धान सुरु गरे। उनले बुबासँग मिलेर नाईट्रोग्लिसरिनलाई व्यापारिक र प्राविधिक रुपमा विकसित गर्ने काम समेत गरे। क्रिमीन युद्ध सकिएपछि नोवेलका बुबाको व्यापार टाट पल्टियो र सपरिवार स्विडेन फर्कने निधो गरे। तर दाजुहरु रुसमा नै बसे।

सन् १८६३ मा नोवेलको परिवार स्विडेनमा फर्कियो। नोवेलले पुनः नाईट्रोग्लिसरिनलाई विस्फोटक बनाउने कार्यमा केन्द्रित गरे। तर कयौं दुर्घटना र कैयौंको ज्यान गयो। उनकै भाई एमिलको पनि ज्यान गयो।

पछि सरकारले स्टक–होम शहर सीमाभित्र त्यस्ता प्रयोगहरुमा पूर्णरुपमा बन्देज लगायो। तर उनले हार मानेनन् र १८६४ मा ठूलो मात्रामा नाईट्रोग्लिसरिन उत्पादन गर्न सफल भए। उनी उक्त उत्पादनलाई सुरक्षित बनाउन चाहन्थे। सन् १८६६ मा उनले नाईट्रोग्लिसरिनलाई किसेलगुर भनिने मसिनो बालुवासँग मिसाएर डाईनामाईटको आविष्कार गरे।

उनको आविष्कारले कानूनी रुपमा मान्यता प्राप्त गर्याे। उनले डाईनामाईटसंगै डिटोनेटर पनि आविष्कार गरे। जसलाई फ्युज सल्काएर विस्फोट गराउन सकिन्थ्यो। अल्फ्रेडको आविष्कारले कयौँ निर्माणलाई सहयोग गर्यो र पुराना कम्पनीहरूको कारोबार घटाईदियो।

उनको सफलताले उनलाई चर्चित बनायो। उनले डाइनामाइटसंगै विज्ञानका क्षेत्रमा कैयौँ आविष्कार गरे। तर उनको डायनामाइटको प्रयोग अनैतिक बढेपछि उनको धेरै आलोचना भयो।  डाईनामाइटले धेरैको ज्यान जोखिममा परेको भन्दै उनलाई 'मृत्युको ब्यापारी'को नाम दिइयो।

सन् १८८८मा एउटा पत्रिकाले उनको मृत्युको खबर छाप्यो। पत्रिकाको हेडलाइनमा 'मृत्युको व्यापारीको मृत्यु' भन्ने छापियो। पत्रिकामा छापिएको उनको मृत्युको खबर सत्य थिएन। त्यतिबेला उनका दाई लुडभिग नोवेलको मृत्यु भएको थियो। पत्रिका पढेपछि अल्फ्रेड गहिरो शोकमा डुबे विश्वले आफूलाई मृत्युको देवता भनेर सम्झने रहेछन् भन्ने उनमा लाग्यो। उनले आफूलाई त्यसरी चिनाउन चाहेनन्।

अन्ततः उनले आफूले कमाएको धनसम्पत्ति मानव हितका लागि समर्पित गर्ने निर्णय लिए। सन् १८९५ नोभेम्बर २७  मा 'इच्छापत्र' लेख्दै आफ्नो सम्पत्तिको ठूलो हिस्सा छुट्टाएर एक अक्षयकोष स्थापना गरे। उक्त अक्षयकोषको सम्पत्ति स्विडिस बैंकमा जम्मा गरियो। त्यहि अक्षयकोषको ब्याजले हरेक वर्ष मानवजातिको कल्याणका लागि उत्कृष्ट कार्य गर्ने केही व्यक्तिलाई सम्मानित गरोस् भन्ने उनको चाहना थियो।

अल्फ्रेडकी पूर्वपत्नी युद्ध र हातहतियारको विरोधी थिइन्। उनको 'ले डाउन योअर्स आम्रसु' पुस्तक चर्चित छ। उनी विश्वशान्ति अभियानकी अभियान्ता थिइन्। आफ्नी पूर्वपत्नीको यस्तो सोच र कार्य देखेपछि उनले इच्छापत्रमा शान्ति पुरस्कार पनि थपे। सन् १९०५ मा बार्थले नै शान्ति नोवेल पुरस्कार जितेकी थिइन्।

सन् १९९५ मा नोवेल पुरस्कारको स्थापना गरिए पनि सन् १९०० जुन २९ मा मात्र नोवेल फाउन्डेसन्को स्थापना भयो। फाउन्डेसन खुलेको एक वर्षपछि सन् १९०१ देखि विश्व नोवेल पुरस्कार दिन थालियो। पहिलो नोवेल पुरस्कार सन् १९०१ मा रेडक्रसका संस्थापक ज्याँ हेनरी ड्युना र फ्रेन्च पिस सोसाइटीका संस्थापक एवं अध्यक्ष फ्रेडरिक पैसीलाई संयुक्तरुपमा दिएको थियो। उनी दुवैलाई शान्ति नोबल पुरस्कार दिइएको थियो।

अहिलेसम्म ६०३ पटक नोवेल पुरस्कारहरु प्रदान गरिएको छ। जसमा भौतिकशास्त्र विधामा ११४ पटक नोवेल पुरस्कार प्रदान गरिएको छ। भौतिकशास्त्रमा २ सय १६ जना सम्मानित भएका छन्। एकल रुपमा ४६ जनाले नोवेल पुरस्कार प्राप्त गर्दा दुईजना समूहलाई ३२ पटक र तीनजनाको समूहलाई ३५ पटक संयुक्त रसायन शास्त्रतर्फको नोवेल पुरस्कार ११२ पटक दिएको छ। जसमा १ सय ८६ जना नोवेल पुरस्कारबाट सम्मानित भएका छन्।

एकल रुपमा ६३ जनाले नोवेल पुरस्कार प्राप्त गर्दा दुईजना समूहलाई २४ र तीनजना समूहलाई २५ पटक संयुक्त रुपमा पुरस्कार दिइएको छ।चिकित्साशास्त्रतर्फको नोवेल पुरस्कार १११ पटक दिएको छ।

हालसम्म यो विधामा २२२ जनाले नोवेल पुरस्कार प्राप्त गरेका छन्। जसअन्तर्गत एकल रुपमा ३९  जनाले पाएका छन् भने दुईजनाको समूहलाई ३३ पटक र तीनजनाको समूहलाई ३९ पटक संयुक्तरुपमा नोवेल पुरस्कार दिइएको छ।

त्यसैगरी साहित्य तर्फ यो पुरस्कार हालसम्म ११३ पटक प्रदान गरिएको छ। जसमा १ सय १७ जनाले यो पुरस्कार पाएका छन्। व्यक्तिगततर्फ १०९ जनाले यो पुरस्कार पाएका छन्। त्यस्तै दुई जनाको समूहलाई चार पटक नोवेल पुरस्कार प्रदान गरिएको छ। यो विधामा हालसम्म तीनजनाको समूहलाई संयुक्तरुपमा नोवेल पुरस्कार बाँडिएको छैन।

शान्तितर्फ यो पुरस्कार १ सय १ पटक दिईएको छ। जसमा १ सय ७ जनाले व्यक्तिगत रुपमा र २८ जनाले संस्थागतरुपमा यो पुरस्कार पाएका छन्।

व्यक्तिगतरुपमा ६९ जनालाई यो पुरस्कार दिइएको  छ। दुईजनाको समूहलाई ३० पटक र तीनजनाको समूहलाई दुई पटक संयुक्तरुपमा नोवेल पुरस्कार दिइएको थियाे।

अर्थशास्त्रतर्फ ५२ पटक यो पुरस्कार प्रदान गरिएको छ। अहिलेसम्म ८६ जनाले यो पुरस्कार पाएका छन्। व्यक्तिगतरुपमा २५ जनाले पुरस्कार पाउँदा दुई जनाको समूहलाई २० पटक र तीनजनाको समूहलाई ७ पटक संयुक्त यो विधामा पुरस्कार दिइएको छ।

यसरी हालसम्म ६०३ पटक नोवेल पुरस्कार प्रदान गर्दा ९६२ व्यक्ति सम्मानित भएका छन्। यदि दुई वा तीन जनाको समूहलाई उक्त पुरस्कार प्रदान गरेमा रकम पनि बराबर बाँडिन्छ। नोवेल पुरस्कार कुनै पनि अवस्थामा तीन जनाभन्दा बढीलाई संयुक्तरुपमा प्रदान गरिदैन। यो नियम नोवेल फाउन्डेसन्को विधानमा राखिएको छ।

नोवेल पुरस्कार विजेताले पुरस्कारबापत तीन चीज पाउँछन्। जसमा नोवेल डिप्लोमा प्रमाणपत्र, नोवेल मेडल र नोवेल नगद पुरुस्कार प्रमाणित गर्ने कागज पाउँछन्। प्रत्येक बर्ष नोवेल डिजाइनहरु फेरबदल गरिन्छ। नोवेलको मेडल १८ क्यारेट सुनबाट बनेको हुन्छ। भौतिकशास्त्र, रसायनशास्त्र, क्रिया विज्ञान तथा चिकित्सा शास्त्र, साहित्यतर्फ नोवेल मेडलमा एकातिर अल्फ्रेड नोवेलको अनुहार र उनको जन्म र मृत्यु कुँदिएको हुन्छ।

शान्ति अर्थशास्त्रतर्फ भने मेडलमा अल्फ्रेडको तस्बिर राखिए पनि अन्य विधाको भन्दा फरक डिजाइन हुन्छ। मेडलमा संस्थान अनुसार फरक फरक ब्यहाेरा लेखिन्छ। जसले पुरस्कार वितरण गर्न सजिलो हुन्छ।

अल्फ्रेडले छोडेको सम्पत्ति अहिलेको मूल्यमा दाँज्दा स्विडिस क्रनर १७०२ मिलियन बराबरको  हुन जान्छ। अहिले नोवेल पुरस्कारमा १२ लाख अमेरिकी डलर प्रदान गरिन्छ। सन् १९६८ अघि अर्थशास्त्र विधामा नोवेल पुरस्कारको सुरुवात भएको थिएन। अल्फ्रेडका आफन्तले अर्थशास्त्रमा पनि नोवेल राख्नुपर्दछ भन्ने सल्लाह बमोजिम सन् १९६८ देखि अर्थशास्त्रतर्फको नोवेल पुरस्कार प्रदान गर्न थालिएको हो।

भौतिक विज्ञान, रसायन विज्ञान, साहित्य, चिकित्सा तथा विज्ञान र अर्थशास्त्र तर्फको नोवेल पुरस्कार स्विडेनको राजधानी स्टक–होममा वितरण गरिन्छ भने नोवेल शान्ति पुरस्कार नर्वेको राजधानी ओस्लोमा वितरण गरिन्छ। अल्फ्रेड नोवेलको  सम्झनामा प्रत्येक वर्ष नोवेल पुरस्कार डिसेम्बर १० मा  वितरण गरिन्छ। यही दिनमा उनको मृत्यु भएको थियो।

सबैभन्दा बढी नोबल पुरस्कार अमेरिकाका व्यक्तिहरुले पाएका छन्। धेरै नोवेल पुरस्कार पाउने विश्वविद्यालय पनि अमेरिकाकै हार्वर्ड विश्वविद्यालय रहेको छ। जसले १६१ नोवेल पुरस्कार जितिसकेको छ।

सबैभन्दा सानो उमेरमा नोवेल पुरस्कार पाउने व्यक्ति मलाला युसुफजाई हुन्। उनले सन् २०१४ मा १७ वर्षको उमेरमा शान्ति नोबल पुरस्कार पाएकी थिइन्। यस्तै सबैभन्दा बढी उमेरमा नोवेल पुरस्कार पाउनेमा जोन बी गुडनफ रहेका छन्। उनले ९७ वर्षको उमेरमा सन् २०१९ को रसायन शास्त्रतर्फको नोवेल पुरस्कार प्राप्त गरेका थिए।

नोवेल पुरस्कार सबैभन्दा बढी पाउने परिवारमा म्यारी क्यूरीको परिवार पर्दछ। उनीहरूका परिवारले पाँचवटा नोवेल पुरस्कार जितिसकेका छन्। म्यारी क्यूरी दुईपटक नोवेल जित्ने एकमात्र महिला हुन्। उनले सन् १९०३ मा भौतिकशास्त्र र सन् १९११ मा रसायनशास्त्रमा नोवेल पुरस्कार पाएकी थिइन्। नोवेल पुरस्कार लिन नमान्ने व्यक्तिमा जिन पल सार्टेले र माली डुक थोले पर्दछन्। पलल सन् १९६४ मा साहित्यतर्फ र मालीले सन् १९७३ मा शान्तितर्फको पुरस्कार लिन मानेनन्।

नजरबन्दमा पनि नोवेल पुरस्कार पाउनेमा जर्मन प्यासिफिट तथा पत्रकार कार्ल भन ओस्सित्जिकी, म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकी र चिनियाँ मानव अधिकारवादी लिउ सियाओबा रहेका छन्। उनीहरु सबैले शन्ति नोवेल पुरस्कार पाएका थिए।

नोवेल पुरस्कारको इतिहासमा पहिलो र द्वितीय विश्व युद्धले प्रभाव पारे। अहिलेसम्म कुल ४९ पटकसम्म नोवेल पुरस्कार प्रदान गरिएको छैन। सन् १९१४ देखि १९१८ सम्ममा पहिलो र सन् १९३९ देखि १९४५ सम्ममा दोस्रो विश्वयुद्ध चलेको थियो। यी विश्वयुद्धमा नोवेल पुरस्कार वितरण गरिएन। साथै सबैभन्दा धेरै शान्तितर्फ १९ पटक नोवेल पुरस्कार प्रदान गरिएन। चिकित्साशास्त्रतर्फ ९ पटक, रसायनशास्त्रतर्फ ८ पटक, साहित्यतर्फ ७ पटक र भौतिकशास्त्रतर्फ ६ पटक पुरस्कार प्रदान गरिएनन्। अर्थशास्त्रतर्फ भने नोवेल पुरस्कार निरन्तर बितरण गरिदै आइएको छ। नोवेल पुरस्कारमा सन् १९७४ देखि कुनै पनि व्यक्तिलाई मराणोपरान्त नदिईने व्यवस्था राखिएको छ।

पूर्वी मुलुकहरुको भन्दा पश्चिमी मुलुकहरूमा नोवेलको पुरस्कार धेरै प्रदान गरिएको छ। पश्चिमी मुलुकहरूमा विज्ञान र प्रविधिको विकासक्रम पूर्वी मुलुकहरुको भन्दा छिटो र व्यवस्थित भएको देखिन्छ।

विश्वप्रसिद्ध विश्वविद्यालय पनि पश्चिमी मुलुकहरूमा धेरै विस्तार भएका छन् जसले गर्दा पूर्वी मुलुकहरूमा नोवेल पुरस्कारको कमजोर स्थिति देखिएको छ। नयाँ विज्ञानमा प्रविधिको सुरुवात र प्रयोगात्मक पहुँच धेरै हुनुले पनि पश्चिमी मुलुकहरू अगाडि देखिन्छन्।

विभिन्न बिधामा दिँदै आएको नोवेल पुरस्कारमा शिक्षा प्रणालीको विकास, प्रयोगात्मक  प्रणालीको विकास विश्वविद्यालयको विकास र पहुँच आदि जस्ता कुराहरु समेटिन्छन्। जब यस्ता कुराहरु समेटिन्छन् पूर्वी देशहरु सिधै कमजोर पर्न जान्छन्। यसको फाइदा पश्चिमेली मुलुकहरुलाई पर्न जान्छ। किनभने सबै प्रक्रियाहरु पश्चिमी मुलुकहरूको हातमा हुन्छ। जब कि पूर्वी मुलुकहरुलाई त्यहाँको प्रक्रियाहरु केही थाहा हुँदैन।

प्रकाशित मिति: : 2021-08-07 16:26:00

प्रतिकृया दिनुहोस्