नेपाली स्वभाव, नेपाली पन

Breaknlinks
Breaknlinks

मानिस जहाँ पुगे पनि आफ्नो स्वभाव र रुची अनुसार नै बाँच्न चाहान्छ। यो स्वभाविक नै हो। अझ भनौं प्राकृतिक नियम नै हो।

जतिसुकै प्रतिकुलतामा पनि प्राणी होस वा वनस्पति आफ्नो प्राकृतिक स्वभाव बदल्दैन। प्राणी वा वनस्पतिको कुरा धेरै फराकिलो भयो, मानव जातिको मात्र कुरा गरौं।

मानिस अन्य प्राणीभन्दा निकै विशिष्ट हो। यसले कुनै बेला अलि अप्राकृतिक र अस्वभाविक नाटकीय चरित्र देखाउन सक्छ। तर म यहाँ स्वभाविक चरित्रको चर्चा गर्न खोजिरहेको छु।

आम रुपमा मानिसको चरित्रको कुरा पनि यहाँ मेरो लागि धेरै फराकिलो हुन सक्छ। मैले यहाँ मानव जीवन दर्शनको कुरा गर्न थालेँ भने मेरो लेख क्लिष्ट बन्न सक्छ। पढ्न जाँगर नलाग्ने भद्धा हुन सक्छ। त्यसैले साँगुरो घेरा बनाएर कुनै एक हाँगामा डुल्न चाहान्छु।

बरु त्यो सानो हाँगाको पातको टुप्पासम्म पुग्न चाहान्छु। पातहरुको उल्टो सुल्टो हेरेर वर्णन गर्न चाहान्छु।

यहाँ मैले वर्णन गर्न चाहेको त्यो सानो हाँगो प्रवासको जीवन हो। त्यसमा पनि कुनै खास पेशा व्यावसायको पृष्ठभूमिबाट अमेरिका आएका आप्रवासीहरुको स्वभाव,चरित्र र ब्यवहारको चर्चा हो जसले हामी धेरैलाई प्रत्यक्ष छुन सक्छ।

नेपालबाट अवसरको खोजी गर्दै विश्वका विभिन्न मुलुकमा पुग्ने र त्यतै बसोबास गर्ने चलन अन्य समुदायको जस्तै नेपालीको पनि छ। पहिला-पहिला नेपालको पहाडबाट मधेश झर्ने र तराईबाट भारत, भुटान, बर्मा, मलाय हुँदै टाढा-टाढासम्म पुगेर बसोबास गर्ने क्रम बढ्दै गयो। यही क्रमको पछिल्लो  गन्तव्य अमेरिका, युरोप, अफ्रिका, मध्येपूर्व, अष्ट्रेलिया र महासागरबीचका विभिन्न टापूहरु बन्दैछन्।

यसरी नेपालबाट बाहिरीनेहरुको संख्या क्रमशः बाक्लिदै छ। पछिल्लो दशकमा नेपालले आफ्ना नागरिकलाई विश्वको श्रम बजारमा औपचारिक बाटोबाटै पठाउन थाल्यो। औपचारिक बाटो सबैका लागि सबै मुलुकमा सहज नहुँदा मानिसहरु अन्य विधि र प्रक्रियाबाटै पनि देश बाहिर जान थाले।

विश्वका विभिन्न देशमा नेपाली समुदाय बढ्न थाल्यो। नेपालमा भएको श्रम बजारको अभावलगायत कारणहरु होलान् यसरी धेरै मानिसहरु बाहिर निस्कने, यो फरक विषय हो। यसमा छुट्टै चर्चा गरौंला।

एउटा यथार्थ के हो भने नेपालमा जे पेशा ब्यवसायमा संलग्न भएको भए पनि विश्व श्रम बजारमा पुगेपछि जे जस्ता काम उपलब्ध हुन्छ, त्यसैमा संलग्न भएर व्यस्त हुन थालिन्छ।

नेपालमा जे सुकैमा अनुभव हासिल गरेको होस, बाहिर पुगेपछि तत्काल पाएको काम गर्न थाल्नु पर्दछ। त्यसैबाट दैनिकी चलाउन थाल्नु पर्दछ। देश बाहिर जाने ठूलो संख्याका व्यक्तिहरुको यो नै नियति देखिन्छ। तर गजबको कुरा के छ भने यहाँ के गरिदैछ, त्यही पेशामा संलग्नहरुको संघ बनाउने वा यहाँ भएका व्यावसायगत संस्थामा संलग्न हुने हैन आफूले नेपालमा छाडिसकेको पेशाको संघ बनाउने, बनेको संघमा संलग्न हुने वा त्यसको खोजी गर्ने गरिन्छ। जुन आफ्नो वर्तमान जिविकासँग खास सम्बन्ध हुँदैन।

झ्वाट्ट हेर्दा यो अनौठो देखिए पनि यथार्थमा यही नै भइरहेको पाइन्छ। उदाहरण यसरी पेश गरौं– नेपालमा विद्यालयमा पढाउने शिक्षक अमेरिका आएर एउटा फाष्टफुडमा काम गर्छ। धेरै वर्ष फाष्टफुडमा काम गरिसक्दा पनि फाष्टफुड वर्कर एशोसिएसनको खोजी गर्दैन, बरु वर्षौंअघि नेपालमा छाडेको शिक्षण पेशाको पृष्ठभूमिमा गएर पेशागत संगठन बनाउन खोज्दछ। जसको सन्दर्भ कतै मिल्दैन, तै पनि उ जबरजस्त त्यसैमा संलग्न हुन खोज्छ।

नेपालमा उसले छाड्दाखेरी जुन परिदृष्य थियो, त्यो अहिले फेरिइसकेको छ। यहाँ अर्थात वर्तमानमा जहाँ बसिन्छ, त्यहाँ यो पृष्ठभुमिको कुनै साइनो छैन। तैपनि उ नेपाल अमेरिका शिक्षक संघ भनेर संगठन बनाउदै हिँडेको हुन्छ।

अर्काे एउटा चाखलाग्दो कुरा त के छ भने नेपालमा उ कुनै एउटा पार्टीमा संलग्न भएको हुन्छ। मतदान गरेको हुन्छ। बाहिर पुगेपछि त्यही पार्टीको भातृ संगठनको खोजी गर्दछ। उसको पार्टीका नेता कोही नेपालबाट आए भने एयरपोर्टमा लिन पुग्छ। आफ्ना मत मिल्ने साथीभाई पनि बोलाउछ। कुनै होटेल बुक गर्छ। दुखले आर्जिएको २–४ पैसा खर्च गर्न तयार हुन्छ। बेलुका मदिरा पार्टी पनि हुन्छ।

आफ्नो मत मिल्नेहरु र नमिल्नेहरुको संख्या आकलन हुन्छ। नेपालमा भएका राजनीतिक गतिविधिहरुको विरोध र समर्थन हुन्छ। नेताज्युको खल्तिमा २–४ सय डलर हालिदिने आन्तरिक वा वाह्य हवाई उडानका लागि टिकट पनि खरिद गरिदिने जस्ता थुप्रै उपक्रमहरुका दृष्य त्यहाँ देखिन्छन्।

यस्तै अर्को मिठो उदाहरण पत्रकारहरुको संघलाई पनि लिन सकिन्छ। भर्खरै जुलाईको २४–२५मा नेपाल अमेरिका पत्रकार संघ(नेजा)को १४औं साधारण सभा सम्पन्न भएको छ। यसमा अमेरिकाका विभिन्न राज्यहरुबाट पत्रकारिता पृष्ठभूमिका र ती मध्ये केही अहिले पनि अन्य पेशाको अतिरिक्त आफैं कुनै मिडिया चलाएर बसेकाहरु जम्मा भएका थिए।

नेपालबाट नेपाल पत्रकार महासँघका सभापति विपुल पोख्रेललगायत स्थानीय संघ-संस्थाका अगुवाहरुको उपस्थिति थियो। सहभागीहरुले नेजाको उन्नती प्रगतिको कामना गरे। दुई दिनसम्म भेटघाट, छलफल र नयाँ नेतृत्व चयन गर्दै सम्मेलन(अधिबेशन)समापन गरे।

नयाँ नेतृत्वले आगामी दिनमा नेपाली संचारकर्मीहरुको हितका लागि काम गर्ने, उनीहरुको पेशागत योगदानको कदर गर्नेलगायतका कल्याणकारी कामहरुको चर्चा गरियो। जुन परम्परागत रुपमा विरालो बाँध्ने शैलीमा कार्यक्रमहरु भए र सम्मेलन समापन भयो।

नेपाली संचारकर्मीहरु जो विगत १५–२० बर्षदेखि अमेरिका बस्दै आएका थिए, उनीहरुबीच कोभिड–१९ को जटिल अवस्थाको बावजुद पनि भेटघाट भयो। भेटघाटभन्दा ठूलो उपलब्धीको यहाँ अपेक्षा गरिएको पनि थिएन। केवल भेटघाटलाई नेजा सम्मेलनले जुराईदिएको मौकाको रुपमा लिइयो।

पश्चिममा क्यालिफोर्नियादेखि पूर्वमा न्युयोर्कसम्म र नेपालबाटसमेत जम्मा भएका पत्रकारहरुले विकास न्यौपानेको नेतृत्वमा आगामी २ बर्षका लागि नयाँ कार्य समितिको निर्वाचन पनि गरे। मतदाता सूचीमा भने अमेरिका बस्ने पत्रकारिता पृष्ठभूमि भएकाहरुको मात्र नामावली रहने विधानमा व्यबस्था छ।

सम्मेलन अवधिभर जम्मा भएका पाहुनाहरुलाई सुविधायुक्त बसाईको व्यबस्थापन गरेकोले त्यसमा खास समस्या देखिएन। हुन त व्यबस्थापनको जिम्मा जसलाई दिइएको थियो, उनको मात्र प्रयासबाट  प्रभावकारी व्यबस्थापन हुन नसक्ला कि भनेर कार्यबाहक अध्यक्ष नै चार दिनअघि आएर व्यवस्थापनलाई चुस्त बनाइयो भनेर केही जिम्मेवार मानिसहरु नै भन्दै थिए। तर जो जसलाई व्यवस्थापन गर्न आउथ्यो उनैले गरे, राम्रै भयो।

साना ठूला सभा सम्मेलनहरु आयोजना गर्दा होस पुगेन भने संस्था र त्यसमा आबद्ध सदस्यहरुको साखः नै गिरेका उदाहरणहरु प्रवासका नेपाली समुदायमा कम छैनन्।

खास गरी नेपाली समुदायले भोग्दै र व्यहोर्दै आएको रवैया चाहिँ के हो भने सभा सम्मेलनमा चन्दा उठाएर आतंक मच्चाउने, नेपालबाट अतिथि बोलाउने र लामा भद्धा भाषण गराउने, अतिथिमा आफ्नो नजिकका नेता बोलाउने, उनको स्वागतमा महंगो मदिराको बिल उठाउने, तिनकै अघि-पछि लागेर हिँड्ने, आफ्नो पक्षको छैन वा फरक धारणा राख्ने गर्छ भने उसलाई सकभर नबोलाउने, चाहे उ उमेरले-अनुभवले र पेशागत जेष्ठताले पनि सम्मान गर्नुपर्ने व्यक्ति किन नहोस् उसलाई पनि खास महत्व नदिने, सामान्य संस्कार पनि नदेखाउने, आफ्नो पक्ष अर्थात नेपालमा अलि पहुँचवाला छ भने उसको चाकरी नै गर्ने, उभन्दा धेरै विद्वान भए पनि आफ्नो पक्षको हैन भन्ने लागेमा उसलाई मौका परे अपमान नै गर्ने, नभए पनि उप्रति कति पनि सम्मान नदेखाउने, यस्ता अनगिन्ती समस्याहरु नेपाली समुदायका संघ-संस्थाका पदाधिकारीहरुकोे चरित्र देखिन्छ।

यो खास गरी प्रवासको पहिलो पुस्तामा प्रशस्त देखिन्छ भने दोश्रो पुस्ता यस्ता कुनै दगल-फसलमा लागेको देखिदैन। बरु नेपाली पन, संस्कार र सँकृतिलाई हल्का रुपमा लिने र यसमा नरमाउने गरेको देखिन्छ।

हाम्रा आदतहरुले, बानी व्यहोराहरुले गर्दा दोश्रो पुस्ताले नेपाली मौलिक संस्कृतिलाई नअपनाउने र हाम्रा कतिपय राम्रा संस्कारहरु हराउदै जाने संभावना अगाडि देखिदैछ। यसो हुन नदिनका लागि हामीले सुधार गर्नुपर्ने आदत–चरित्र, आचरणहरुमा व्यापक सुधार आबश्यक छ।

प्रकाशित मिति: : 2021-07-31 19:01:00

प्रतिकृया दिनुहोस्