नयाँदिल्लीमा तिब्बत कार्ड: दलाई लामाका प्रतिनिधि र अमेरिकी विदेश मन्त्रीबीच वार्ता

Photo - AP
Photo - AP

अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिंकनले भारतको राजधानी नयाँदिल्लीमा तिब्बती सर्वोच्च धर्मगुरू दलाई लामाका प्रतिनिधि न्गोडुप डोंगचुगसँग भेटवार्ता गरेका छन्।

भारत भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्री ब्लिंकनले चीनसँगको विवादकै बीच धर्मगुरू लामाका प्रतिनिधिलाई भेटेका हुन्।

डोंगचुग केन्द्रीय तिब्बती प्रशासन (सीटीए)को प्रतिनिधिका रुपमा समेत काम गरिरहेका छन्। सन् २०१६ मा वासिङ्टनस्थित ह्वाइट हाउसमा दलाई लामा र तत्कालीन अमेरिकी राष्ट्रपति बराक ओबामाबीच भेटवार्ता भएको थियो। यसपटकको भेटलाई ओबामा पछिको सबैभन्दा महतवपूर्ण वार्ताका रुपमा हेरिएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले दलाई लामाका प्रतिनिधिसँग गरेको भेटवार्तालाई चिनियाँ पक्षको टाउको दुखाइ बन्ने निश्चित छ। अमेरिकाले तिब्बत मुद्दाको सन्दर्भमा समर्थन जारी राख्ने बताइएको छ।

विदेश मन्त्री ब्लिंकनले तिब्बती प्रतिनिधि गिरी दोर्जेसहित अन्य सात नागरिक समाजका सदस्यसँग भेटवार्ता गरेका छन्। पछिल्लो समय केन्द्रीय तिब्बती प्रशासनलाई केही महिनायता अन्तर्राष्ट्रिय समुदायबाट ठूलो समर्थन मिलिरहेको दाबी गरिएको छ।

गत नोभेम्बरमा निर्वासित तिब्बती सरकारका पूर्वप्रमुख लोकसंग सांगेले अमेरिका भ्रमण गरेका थिए। सर्वोच्च धर्मगुरू दलाई लामाको गत जुलाईमा परेको जन्मदिनका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत बधाई दिएका थिए। तिब्बती मुद्दाको सन्दर्भमा भारत पनि चीनप्रति कडा रुपमा उत्रिएको बताइन्छ।

जन्मदिनकै दिन चिनियाँ सैनिक दलाई लामाको विरोध गर्नका लागि भारतीय सीमा क्षेत्र पुगेको सैनिक स्रोतको दाबी छ। सन् १९५० ताका चिनियाँ सैनिकले तिब्बतमा कब्जा जमाए, जसलाई चिनियाँ पक्ष शान्तिपूर्ण मुक्ति भन्छ।

सन् १९५९ मा चिनियाँ सरकारविरूद्ध विद्रोह सफल नभएपछि १४औँ दलाई लामा भारत आएका थिए। चीनसँग सन् २०१० पछि दलाई लामा र उनका प्रतिनिधिहरूको कुनैपनि सम्पर्क छैन।

चिनियाँ प्रशासनले उग्र गतिविधि गरेको र तिब्बतलाई चीनबाट अलग गराउन लागेको आरोप लगाएको थियो। तथापि, दलाई लामा भने चिनियाँ विभाजन चाहँदैनन्। तर, तिब्बतको परम्परागत तीन प्रान्तमा बासोबास गर्ने तिब्बतीहरूका लागि स्वायत्तता चाहान्छन्।

प्रकाशित मिति: : 2021-07-29 17:08:00

प्रतिकृया दिनुहोस्