सैन्य 'कू'ले थलिएकाे बर्मा, अक्सिजन आपूर्ति बन्द हुँदा 'नर्क'जस्तै भयो

निर्मल खराल

माेगाेक, म्यान्मार
AFP
AFP

म्यान्मारको पुरानो राजधानी एवम् देशकै सबैभन्दा ठूलो शहर रङ्गुनस्थित एक अस्पतालकाे भित्तामा जडान गरिएकाे अक्सिजन पाइपमा आपूर्ति बन्द हुँदा धेरैको मृत्यु भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

रङ्गुनस्थित नर्थ ओक्कलप्पा जेनरल अस्पतालको एकै वार्डमा उपचार गराइरहेका बिरामीहरूको तन्तुमा अक्सिजनको कमी भएर कम्तिमा आठ जनाको शनिवार (जुलाई २५) एकाबिहानै साढे ३ बजेतिर मृत्यु भएको कुरा बिरामीको हेरचाह खटिएका एक व्यक्तिले स्थानीय पत्रिकालाई बताएका छन्। 'गम्भीर लक्षणहरुबाट ग्रस्त थुप्रै बिरामीहरु त्यस रात मरे। त्यो नर्कजस्तै थियो,' उनले बताए।

अस्पतालको आईसोलेसन वार्ड–२ मा करिब पछिल्लो तीन हप्तादेखि बसेका उनले सबै मृतकहरू भित्तामा जडित अक्सिजन प्रणालीमा निर्भर रहेको बताए।

अस्पतालको आकस्मिक कक्षमा अन्य १५ जनाको पनि मृत्यु भएको उनकाे दाबी छ। अर्को दिनको अपराह्नसम्म पनि शवहरू सङ्कलित नगरिएकाे अस्पतालको शवगृहका एक कर्मचारीले बताए।

'मैले उनलाई कारण सोधेँ। उनले अस्पतालभरीको अक्सिजन प्रणाली बिग्रिएकाेले धेरैको मृत्यु भएको र शवहरूलाई शवगृहसम्म पुर्याउन जनशक्ति अभाव भएको कुरा बताए,' उनले भने।

अस्पतालमा कुल मृतकको सङ्ख्या आङ्कलन गर्न नसकेको कुरा स्थानीय सञ्चारमाध्यम म्यानमार नाओले जनाएकाे छ। अस्पतालका  चिकित्सक डा. क्यि सुलाई सम्पर्क गर्न खोज्दा सम्पर्क नभएको पनि उक्त सञ्चारमाध्यमले उल्लेख गरेकाे छ।

आइसोलेसन वार्ड–२ कै अर्का एक बिरामीको हेरचाह गरिरहेकाले समेत आफूले ३० वर्षीय पुरुष र ६० वर्षीया महिलाको मृत्यु भएको देखेको बताए।

'बिहान ३ बजेतिर एउटा अक्सिजनको भरमा सास फेरिरहेको बिरामीलाई अक्सिजनको कमी भएपछि समस्या सुरु भएको थाहा भयो,' उनले भने, 'त्यसपछि सबै वार्डका बिरामीहरुमा समस्या देखियो र हामी दर्शक मात्र भयौँ।'

अस्पताल स्रोतका अनुसार करिब ५० बिरामीहरु उक्त अस्पतालमा उपचाररत थिए। स्वे प्याए सोन हेपटाइटिस-बि रोकथाम च्यारिटीका उपाधक्ष डा. स्वे तुन पनि मृतकहरू मध्ये एक भएको उनका एक परिवार सदस्यले बताएका छन्।

अस्पतालमा आफ्ना माता-पिताको ख्याल राखिरहेका एक साक्षी भन्छन्, 'आइसोलेसन वार्डबाट ९ र अस्पतालको आईसियुबाट अन्य थुप्रै शवहरु सारिरहेकाे देखेँ।'

श्रोतका अनुसार अक्सिजन सप्लाई बन्द भएको एक घण्टापछि ल्याईएको थियो, तर त्यो अक्सिजन सबैलाई पुग्नेगरी भने थिएन। बिहान आठ बजे अक्सिजन आपुर्ति सहज भएको श्रोतले बतायाे।

प्रकाशित मिति: : 2021-07-29 06:54:00

प्रतिकृया दिनुहोस्