तातोपानी भन्सारबाट न्यून राजस्व असुली

फाइल तस्वीर
फाइल तस्वीर

चीनसँगको प्रमुख व्यापारिक  भन्सार नाका तातोपानीबाट  गत वर्ष लक्ष्यभन्दा ज्यादै कम राजस्व सङ्कलन भएको छ।

आर्थिक वर्ष ०७७/७८ मा रु एक अर्ब दुई करोड मात्र राजस्व असुली भएको छ। सो कार्यालयका सूचना अधिकारी रामचन्द्र ढकालका अनुसार सो आवमा रु पाँच अर्ब ४७ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको थियो।

गत असारमा आएको बाढीपहिरोले सीमा पुल क्षति पुग्न गई मर्मत गर्दा लामो समय लाग्नुका साथै सडक अवरुद्ध तथा कोरोना भाइरसलगायतका कारणले सो नाका चार महिना मात्र सञ्चालनमा आएको थियो। यसमा पनि लक्ष्यभन्दा ज्यादै कम सामान आयात भएकाले राजस्वमा असर पुगेको उनले बताए।

विसं २०७२ को भूकम्पअघि दैनिक डेढ करोडसम्म राजस्व असुली हुँदै आएको थियो।  यसपछि २०७६ जेठ १५ गते पुनःसञ्चालनमा आए पनि सो नाका  विभिन्न प्राकृतिक अवरोधले पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन।

गत असार २ गतेको बाढीपहिरोले क्षतिग्रस्त अरनिको राजमार्ग कोदारी र लिपिङ पुल भासिएपछि अझै सञ्चालनमा आउन सकेको छैन। लिपिङ पुल पारी १० वटा कन्टेनर अझै रोकिएको भन्सार कार्यालयले जनाएको छ।

प्रकाशित मिति: : 2021-07-18 17:19:00

प्रतिकृया दिनुहोस्