पोखराको नयाँ पर्यटकीय ब्रान्ड– ‘पोखरा, प्योर एज प्याराडाइज’

Photo - tibetanencounter
Photo - tibetanencounter

नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशले नेपालकै सबैभन्दा सुन्दर, रमणीय र आकर्षक गन्तव्य पोखराको पर्यटकीय ब्रान्ड ‘पोखरा, प्योर एज प्याराडाइज’ (स्वर्गजस्तै स्वच्छ पोखरा) तयार गरेको छ। बोर्डले विगतको ‘प्याराडाइज पोखरा’ को परिर्माजित  पर्यटकीय ब्रान्डका रुपमा उक्त  तयार गरेको हो।

नेपालका विभिन्न पर्यटीय गन्तव्यहरुलाई ‘ब्राण्डिङ’ गर्दै लैजाने योजनाअनुरुप बोर्डले पोखराको पनि ‘ब्राण्ड’ बनाएको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले जानकारी दिए। उनले गन्तव्यलाई सरल र स्पष्ट रूपमा बुझ्न पर्यटकीय गन्तव्यको ब्राण्डिङ आवश्यक्ता महशुस गरी ब्राण्डिङको सुरुवात गरिएको बताए।

‘कुनै पनि पर्यटकीय गन्तव्यहरुको आफ्नै पहिचान हुन्छ, त्यसको आफ्नै विशेषता हुन्छ। ती विशेषतालाई  समेट्दै ब्राण्डिङ गर्दा पोखरालाई थप आकर्षक गन्तव्य बनाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रूपमा चिनाउन थप बल सहयोग पुग्ने छ। हामीले यो प्रयास गरेका छौं। विस्तारै अन्य गन्तव्यको पनि ब्राण्डिङ गर्दै लगिने छ,’ रेग्मीले भने। बोर्डले सुरुवात गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट गरेको थियो।

बोर्डका वरिष्ठ निर्देशक तथा गण्डकी प्रदेश प्रमुख काशीराज भण्डारीले ब्राण्ड तयार गर्ने विज्ञ फर्मको प्राविधिक सहयोगमा तयार गरिएको पर्यटकीय ब्रान्डलाई पोखराका सरोकारवालाहरु माझ विभिन्न चरणमा प्रस्तुत गरि उनीहरुबाट राय तथा सुझावहरु संकलन गरी नयाँ पर्यटकीय ब्रान्डलाई  अन्तिम रुप दिइएको जानकारी दिए।

कोरोना भाइरस सङ्क्रमणले अत्यन्त प्रभावित भएको नेपालको पर्यटनलाई महामारीको प्रभाव कम भएपछि पोखराको नयाँ पर्यटकीय ब्रान्डलाई आन्तरिक तथा बाह्रय पर्यटन बजारमा नयाँ उर्जाका साथ प्रवद्र्धन गर्नका लागि सरकारी तथा निजि क्षेत्र, सञ्चारकर्मीहरु लगायतका सबै सरोकारवालाहरुको साथ मिल्ने नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशले अपेक्षा राखेको समेत उनले बताए।

प्रकाशित मिति: : 2021-07-15 13:48:00

प्रतिकृया दिनुहोस्