म्यान्मारको सैनिक शासकले हालसम्म ८७० जना स्वतन्त्र नागरिकको हत्या गरिसकेको छ। प्रजातन्त्रको समर्थक हुँदा सैन्य ‘जुन्ता’को बन्दुक निधारमै ठोकिन्छ। यो म्यान्मारमा वर्षौदेखि भोग्दै आएको कहालीलाग्दो ‘कालोकथा’ हो।
तानाशाही सैनिकको गोलीले अबोध बालबालिका समेत सुरक्षित छैनन्। ‘जुन्ता’को चर्तीकलाले मानव सभ्यतामाथि नै प्रश्न चिन्ह खडा भइरहेको छ।
गत फेब्रुअरीको सैन्य ‘कू’यता ७३ जना निर्दाेष बालबालिकाले सुरक्षकर्मीको गोलीबाट ज्यान गुमाएका छन्। देशभर सैन्य सत्ताको बन्दुकले ती बालबालिकाहरूको हत्या भएको राष्ट्रिय एकता सरकार (एनयूजी)ले पुष्टि गरेको छ।
जुन्ता शासकले १८ वर्ष मुनिका ७३ जना बालबालिकाको हत्या गरिसकेको छ। ती मध्ये ६३ जना बालक छन् भने ९ जना बालिका रहेका छन्। एक जनाको पहिचान हुन सकेको छैन।
सैनिक सत्ताद्वारा मारिएका बालबालिका कुनै प्रदर्शनमा सहभागी छैनन्। उनीहरू घर–आँगनमा खेल्दाखेल्दै गोली हानी हत्या गरिएको हो। प्रजातन्त्र पुनःस्थापना लागि अग्रसर आन्दोलनमा दबाउन जुन्ता ‘शासक’ सके अभिभावक, नसके निर्दोष सन्तानमाथि नै गोली चलाइरहेको छ। जताततै त्रासमा बाँचिरहेका छन्, अबोध बालबालिका। सैनिकको आतंकले निराश छन्, बुबा–आमा।
एनयूजीले ७३ बालबालिका मारिएको प्रतिवेदन सार्वजनिक गरेतापनि मिन्टाप, कनी र दिमसोलगायत स्थानमा सैनिकले हत्या गरेकाहरूको संख्या एकिन छैन। जातीय मुठभेड भएका ठाउँमा सैन्य हवाई हमलाबाट थ्रुपै बालबालिकाले ज्यान गुमाएका छन्। तर, चासो कुनै निकायको देखिँदैन।
सन् १९८८ सालको जनआन्दोलनमा समेत दर्जनौँ बालबालिकले ज्यान गुमाउनुप-यो। तत्कालीन अवस्थामा अभिभावकमा सैनिक त्रासले सीमा नाघिसेको त्यो आन्दोलनका अग्रहहरू बताउँछन्। अघिल्लो सैन्य शासनमा दुईजना युवाहरूको मृत्यु र केहीको पक्राउपछि कमै नागरिक प्रदर्शनमा जान्थें। तर, यसपल्ट अवस्था त्यसो रहेछ। दिनहुँ हुने आन्दोलनले अभिभावक र उनका सन्तान सैनिकको तारो बनिरहेका छन्।
देश नै क्रूर शासकको हातमा परेर अन्धकार भएको स्थानीयहरू बताउँछन्। आफू र आफ्ना बालबालिका जतिनै मृत्युको घेरामा भएपनि त्रासको सम्राज्यबाट पछि नहट्ने उनीहरूको अठोड छ। सैनिकले सत्ता कायम गर्न निर्दोष बालबालिकामाथि बन्दुक पड्काइरहेको छ। छिमेकीहरू मौन छन्। स्वतन्त्र नागरिकहरू युद्व मैदानमा ढलिरहेका छन्।
दुःखद दृश्य
खिन म्यो चित। वर्ष सात। जब उनी बुवाको काखमा खेलिरहेकी थिइन्, त्यसैबेला सैनिकले गोली ठोकी हत्या ग-यो।
सत्ताको उन्मादमा म्यान्माली सेना गाउँ–टोलमा छापा मार्दै खिन म्योको घरसम्मै पुगेको थियो। सैन्य खानतलासीका क्रममा अतालिएकी म्यो दौँडिदै बुबाको काखमा घुस्रिएकी थिइन। तर, सेनाले बाबुलाई गोली ताक्दै ‘फायर’ गरेपछि काखमा रहेकी खिन म्योको पेटमा गोली लाग्यो।
उनी बुवाको काखमा रुदैँ छटपटाइरहिन्। तर, उनलाई उद्दार गर्न कोही अगाडी बढेनन्। अन्ततः रगतले लतपत्तिएकी खिन म्योको बुवाकै काखमा निधन भयो।
तानाशाहको आँखा हुदैन। मन पनि हुदैन। न त भावना हुन्छ, न संवेदना नै। खिन जस्तै १८ वर्ष मुनिका ७३ निर्दोष बालबालिकाले ज्यान गुमाए भने लाखौँ डरमा बाँचिरहेका छन्। गत फेब्रअरी १ देखि सेनाले सत्ता कब्जा गरेपछि यस्ता थुप्रै दुःखद घटना दिनहुँ घटिरहेका छन्। अहिले पनि यो क्रम रोकिएको छैन।
अघिल्लो सात कचिन राज्य ग्रामिण भेगमा आफ्नो घरमा खेलिरहेकी ९ वर्षे बालिकाको सेनाकै गोलीले मृत्यु भयो। सुरक्षाकर्मीले टोलमा अन्धाधुन्ध आक्रमण थालेपछि भागाभाग मच्चियो। तर, सबै भागे ती ९ वर्षीय बालिका भाग्दै गर्दा लड्नि र ज्यान गुमाइन्। उत्तरी छिन राज्यको टेदिममा सैनिकले बम बिष्फोट गराउ १० वर्षीय बालकको मृत्यु र १० बर्षे अर्का एक घाइते छन्। यहाँ आजका यस्तै दुःखद घटनाहरूको बाढी नै छ।
जुन्ता सरकारले बालबालिकामाथि मानवता विरोधी गतिविधि गरिरहेको राजनीतिज्ञ तथा मानवअधिकारकर्मी आंग मायो मिनले बताएका छन्। उनले भने, ‘सबैलाई थाहा छ हाम्रा सन्तानहरू सुरक्षित छैनन्। जतिसुकै बेला पनि मारिन सक्छन्। दैनिकजसो हिंसा भइरहेको छ। उनीहरूको बाँच्न पाउने अधिकार तानाशाही शासकले खोसिरहेको छ।’
सैन्य सरकारले बालबालिकाहरूलाई जानाजानी हत्या गरेका घटनाले मानवअधिकारको उल्लंघन मात्रै नभई गम्भीर अपराध गरेको समेत समानता म्यान्मारका संस्थापक प्रमुख तथा वकीलले बताएका छन्।