गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले कृषिलाई आधुनिक एवम् व्यावसायिक बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।
राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव २०७८ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले प्रदेश सरकारले जग्गा चक्लाबन्दी कार्यक्रमलाई निरन्तरता दिइ व्यावसायिक कृषि फार्म सञ्चालनलाई प्राथमिकतामा राखिएको उल्लेख गरे।
“कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरण मार्फत् उत्पादन र उत्पादकत्व वृद्धि गरी स्वरोजगारका अवसर सिर्जना तथा खाद्य सुरक्षा र नागरिकको स्वास्थ्यको प्रत्याभूति गर्ने नीति प्रदेश सरकारको छ”, सन्देशमा भनिएको छ।
हिलो खेल्ने, रोपाइँ गर्ने र दहीच्यूरा खाने दिनका रुपमा असार १५ गतेलाई मनाउने परम्परा छ। विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। रासस