दाङमा ६० प्रतिशत रोपाइँ

फाइल तस्वीर
फाइल तस्वीर

यस वर्ष मनसुन छिटै सक्रिय भई  निरन्तर वर्षा जारी भएपछि दाङमा असार महिनाभित्रै धान रोपाइँ सम्पन्न हुने अनुमान गरिएको छ।

असारको दोस्रो हप्तासम्म जिल्लामा ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र दाङका कृषि प्रसार अधिकृत रुद्रमणि पौडेलले जानकारी दिए।

उनका अनुसार गत वर्ष सो अवधिमा जिल्लामा ३० प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको थियो।  अहिलेसम्म जिल्लाको देउखुरी क्षेत्रका अधिकांश गाउँमा रोपाइँ सम्पन्न भइसकेको छ भने घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका सहित पश्चिम दाङमाभने  रोपाइँ भैरहेका छन्।

यसपटक लगातार पानी परेकाले आफूले पहिलो पटक ट्रयाक्टरको प्रयोगबाट खेत तयार गरी धान रोपाइँ गरीरहेको दङगीशरण गाउँपालिकाका किसान कृष्ण चौधरीले बताए।

यसैबीच १८ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव  यस जिल्लामा पनि सम्पन्न भएको छ। कोरोना महामारीको सङक्रमण तथा जोखिमलाई मध्य नजर गरी सुरक्षा मापदण्ड अपनाएर  सांङकेतिक रुपमा जिल्लाको  तुलसीपुर र लमहीमा कार्यक्रम गरीएको छ।

तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको धान रोपाइँ वडा नं ७ को खर्चवा गाउँमा  सम्पन्न भएको छ। धान रोपाइँमा नगरप्रमुख घनश्याम पाण्डेय, उपप्रमुख माया आचार्य, विभिन्न दलका प्रतिनिधि, महिला अधिकारकर्मी लगायतको सहभागिता रहेको थियो।

जिल्लामा गत वर्ष ३८ हजार हेक्टर क्षेत्रफल जग्गामा धानखेती गरिएकोमा यसवर्ष ३९ हजार ६ सय हेक्टर क्षेत्रफल जग्गामा धान खेती गरिने अनुमान गरिएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ।

केन्द्रका अनुसार यहाँका किसानले सावित्री, राधा ४, सुनौलो सुगन्ध, लोकतन्त्र, गोरखनाथ, लोकनाथ, युएस ३१२, लगायतका वर्णशङ्कर जातका धान लगाएका छन्।

यस्तै कम पानी हुने ठाउँमा सुक्खा–१, सुक्खा –२,सुक्खा –३ जातका धान लगाउने गरेका छन्।  जिल्लामा यसपटक धान रोपाइँको लागि  आवश्यक पर्ने रसायनिक मलको अभाव भने रहेको छैन्। रासस

प्रकाशित मिति: : 2021-06-29 20:20:00

प्रतिकृया दिनुहोस्