वाग्मती गाउँपालिकाको प्राथमिकता फलफूल खेती

File photo
File photo

दक्षिण ललितपुरको वाग्मती गाउँपालिकाले किबी, ड्रागन फ्रुट, सुन्तला, कागती अनि केरालगायत फलफूल खेतीलाई प्रोत्साहन गर्ने भएको छ।

‘कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि : वाग्मती गाउँपालिकाको समृद्धि’ भन्ने विषयलाई आत्मसाथ गर्दै गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले नवौँ गाउँसभामार्फत आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यहाँको भूगोल तथा हावापानी अनुसारका फलफूल उत्पादन गरी सोबाट गाउँबासीलाई आत्मनिर्भर बनाउँदै लैजाने योजना अघि सारेको बताए। 

गाउँपालिकाले पहिरो गएका तथा जोखिम स्थानमा आवश्यक पूर्वाधार निर्माण गरी क्षति कम गर्न सडक किनारमा बाँस, अम्रिसोलगायत अन्य प्रजातिको रुख बिरुवा रोपी वायो इञ्जिनियरीङ्गको समेत विकास गर्ने भएको छ। 

गाउँपालिकाले ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रमलाई बढवा दिन वडा नं ४ प्युटार र वडा नं ६ आश्राङलाई आलु पकेट तथा वडा नं १ घुसले नं २ माल्टा अनि प्युटार र गिम्दीलाई बाख्रा पालन र घुसेललाई सुन्तला जोनका साथै घुसेल, भट्टडाँडा र इकुडोललाई भैसी पालन क्षेत्रका रुपमासमेत प्रवद्र्धन गर्ने योजना बनाएको छ। 

वाग्मतीले ६० वर्षमाथिका एकल पुरुषलाई रु एक हजार सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएकामा आगामी वर्षदेखि रु ५०० थप गरी रु एक हजार ५०० दिनका साथै यहाँ रहेका ५० वर्षमाथिका अविवाहित महिलालाई समेत सोही अनुरूपको एकल महिला भत्ता दिने भएको छ। 

वाग्मतीले बालश्रम तथा शोषण अन्त्य तथा घरेलु बालश्रमिकको पुनस्र्थापना एवं जोखिममा परेकालाई  उद्धार गरी गाउँपालिकालाई बालश्रममुक्त घोषणा गर्ने योजना अघि सारेको लोप्चनले जानकारी गराए। 

त्यसैगरी मुलुकमा फैलिरहेको कोरोनालाई ध्यानमा राखी १० शैयाको अस्पताल निर्माण गर्नाका साथै ६० वर्ष माथिका जेष्ठ नागरिकलाई सहुलियत उपचार सहयोग गर्ने योजना वाग्मतीले अघि सारेको छ। 

गाउँपालिकामा खेलकूद विकास गर्न गाउँपालिकास्तरीय रंगशाला तथा एक वडा एक खेलमैदान निर्माण गरिने भएको छ। 

गाउँपालिकामा चुनढुङ्गालगायत अन्य खानीहरू भएकाले खानीजन्य उद्योगहरू स्थापना तथा प्युटार गडीभञ्ज्याङ क्षेत्रमा ल्याण्डफिल साइटको अवधारणा समेत अघि बढाउने योजना वाग्मतीले सार्वजनिक गरेको छ। रासस 

प्रकाशित मिति: : 2021-06-25 21:14:00

प्रतिकृया दिनुहोस्