भारतमा कोरोनाका कारण थप ५१ हजार संक्रमित, १३ सयको मृत्यु

बिएल संवाददाता

नयाँ दिल्ली

भारतमा कोरोनाभाइरसबाट थप ५१ हजारभन्दा बढी नयाँ सङ्क्रमित भएका छन्।

सरकारी अधिकारीहरुले शुक्रबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ५१ हजार ६६७ जना नयाँ सङ्क्रमित थपिएका हुन्।

तर दैनिक सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने त्योभन्दा बढी रहेको छ। त्यसैले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या पनि दिनप्रतिदिन घट्दै गएको छ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले थप ६४ हजार ५२७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको जनाएको छ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरुको कुल सङ्ख्या दुई करोड ९१ लाख २८ हजार २६७ पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप एक हजार ३२९ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ। योसँगै कुल मृतकको सङ्ख्या तीन लाख ९३ हजार ३१० पुगेको छ।

भारतमा अहिलेपनि सङ्क्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्या छ लाख १२ हजार ८६८ रहेको मन्त्रालयले जनाएको छ।

भारतको स्वास्थ्य अनुसन्धान परिषद्ले अहिलेसम्म कुल ३९ करोड ९५ लाख ६८ हजार ४४८ स्वाब परीक्षण गरिएको जानकारी दिएको छ। ती पछिल्लो एक दिनमा १७ लाख ३५ हजार ७८१ जनाको स्वब परीक्षण गरिएको परिषद्को तथ्याङ्क छ।

एकैदिनमा ठूलो संख्यामा कोरोनाभाइरस विरुद्धको खोप लगाउने मुलुक समेत रहेको भारतमा बिहीबार मात्रै ६० लाख ७३ हजारभन्दा बढीलाई खोप लगाइएको छ।

भारतमा अहिलेसम्म कुल ३० करोड ७९ लाख खोप प्रयोग भएको पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। रासस/एएनआई

प्रकाशित मिति: : 2021-06-25 14:00:00

प्रतिकृया दिनुहोस्