नेपालगञ्जको बजेट डेढ अर्बः  चक्रपथ निर्माणलाई प्राथमिकता

File photo
File photo

नेपालगञ्ज उपमहानगरपालिकाले आज नवौँ नगरसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा नेपालगञ्जमा चक्रपथ निर्माणलाई प्राथमिकतामा राखेको छ।

नगरसभामा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि रु एक अर्ब ५४ करोड ७७ लाख ११ हजार ३६२  बजेटसहित नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो। 

उपमहानगरपालिकाको कूल बजेटबाट नगरका २३ वडाका लागि रु २८ करोड विनियोजन गरिएको छ। नगरसभामा नगर प्रमुख डा धवलशम्शेर राणाले सम्पूर्ण वडा कार्यालयको भवन र वडा नम्बर ६ मा क्रिक्रेट रंगशाला निर्माण पनि नीति तथा कार्यक्रमको प्राथमिकतामा परेको जनाए। 

उक्त नीति तथा कार्यक्रममा नगरमा कालोपत्रे सडक र नाला निर्माणलाई निरन्तरता दिइएको छ। यसैगरी नेपालगञ्ज सुर्खेतरोडको दायँबायाँ नाला नभएका स्थानमा व्यवस्थित पक्की नाला बनाउन आवश्यक पहल गरिने डा राणाले बताए। 

यसैबीच बाँकेको डुडुवा गाउँपालिकामा आव २०७८।०७९ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ। गाउँपालिकाको आज बसेको नवौँ गाउँसभाले दुई विधेयक, ७० बुंदे नीति तथा कार्यक्रम र रु ६८ करोड ६३ लाख ११ हजार को बजेट सार्वजनिक गरेको हो। 

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले कोभिड– १९ लाई समेत लक्ष्य गरि शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत्, वन तथा वातावरण, विकासनिर्माणलगायत ३६ बुंदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। रासस 

प्रकाशित मिति: : 2021-06-24 21:47:00

प्रतिकृया दिनुहोस्