मोरङको लेटाङ नगरपालिका वडा नं ७ का वडा सदस्य आदिमान लिम्बू लठ्ठीकै साहरामा पुरै वडाभरी सामाजिक गतिविधि सञ्चालन गर्छन्।
आज (विहिबार) लेटाङ बजारमा भएको नगरसभामा भाग लिन उनी लठ्ठी टेकेरै सभा हल सम्म पुगे। पोलियो रोगले देब्रे खुट्टा सुकेपछि उनी ८ वर्षको उमेरदेखि अपाङ्गता जीवन व्यतित गरिरहेका छन्।
गाडी चलेको बेला उनी गाडीमै ओहोर–दोहोर गर्छन्। तर बर्खामास गाडी चल्दैन। उनले भने, 'गाडी नचलेपछि ६ घण्टा लगाएर लठ्ठीकै सहारामा आएँ।'
लेटाङ नगरपालिका आइपुग्न ६ घण्टा लाग्छ। वडाको पूर्वी गाउँबाट पश्चिमको अर्को गाउँ पुग्न ९ घण्टा लाग्छ। ठाउँ–ठाउँमा सडक बिग्रिएकोले अहिले यातायात ठप्प छ।
साविकको वारङ्गी गाविस जिल्लाकै सबैभन्दा दुर्गम गाविस मानिथ्यो। राज्य पुन:संरचनाका क्रममा पुरै गाविस लेटाङ नगरपालिकाको ७ नम्बर वडा भयो। उसै त दुर्गम गाविस। अझ पुरै गाविसलाई वडा बनाएपछि वारङ्गीका जनप्रतिनिधिहरूको दिनचर्या मुगु वा हुम्लाका गाउँको भन्दा कम पीडादायी छैन।
'लौरो टेकर सास्ती खेप्दै कार्यालय पुग्यो, कहिले मेयर भेटिनु हुन्न कहिले प्रशासकीय अधिकृत'
हात पाउ चल्नेहरू सजिलै ओहोर-दोहोर गर्छन् तर आदिमानजस्ता अपाङ्गता भएका जनप्रतिनिधिलाई वडाबासीको काम गर्न निक्कै चुनौति छ। उनले भने, 'वडाबासीले मत दिएर जिताएपछि काम गर्नै पर्यो। सातामा दुई तीन पटक नगरपालिका झर्ने काम पर्छ। सामाजिक सुरक्षा भत्ता बैंकमार्फत् दिन्छ। हिजो गाविस पुग्दा भत्ता पाइन्थ्यो। अहिले लेटाङ बजारमा रहेका बैंकबाट लिनुपर्छ।'
उनले लेटाङ बजारमा खुलेका बैंकको अपनत्व ग्रहण गर्नु परेकोमा दुखसमेत ब्यक्त गरे। 'नाम र भूगोलले लेटाङका बासिन्दा भयौं, तर हाम्रो नियति र दैनिकी बदलिएको छैन', उनले सुनाए, 'सबै वडाबासी नगरपालिकाको काममा जानकार छैनन्। त्यसैले सहयोगका लागि पनि नगरपालिका झर्नुपर्छ। हिउँदमा समस्या छैन, तर बर्खा लागेपछि पहाडी बाटो लौरोको सहारामा आउन–जान कठिन छ।'
सडक त ढिलो चाँडो बन्ला। तर आफ्नै नगरपालिकाको कार्यालय अपाङ्गता मैत्री नभएको उनको गुनासो छ। 'लौरो टेकर सास्ती खेप्दै कार्यालय पुग्यो, कहिले मेयर भेटिनु हुन्न कहिले प्रशासकीय अधिकृत', लिम्बूले ह्विल चेयरमा आउने अपाङ्गता भएकाहरू झनै समस्यामा रहेको सुनाए।
मोरङ जिल्ला भन्नेबितिकै औषत नेपालीले समथर भूभागको कल्पना गर्छन्। तर, मोरङको झण्डै एक चौथाई भूभाग महाभारत श्रृङ्खला र चुरे क्षेत्रमा पर्छ भन्ने थोरैलाई मात्र थाहा छ।