भारतमा एकैदिनमा ६० हजार संक्रमित, दैनिक संक्रमितको सङ्ख्या घट्दो

बिएल संवाददाता

नयाँ दिल्ली

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी हुदै आएको छ।

पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमितको सङ्ख्यामा निरन्तर कमी हुँदै आएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ।

मन्त्रालयका अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६० हजार ७५३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।

पछिल्ला तथ्याङ्कलाई हेर्दा दैनिक सङ्क्रमितको सङ्ख्यामा २।९८ प्रतिशतको दरले कमी हुदै आएको मन्त्रालयले शनिबार जनाएको छ।

भारतमा पछिल्लो २४ घण्टामा एक हजार ६४७ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको देखिएको छ।

त्यसैगरी सोही अवधिमा कुल ९७ हजार ७४३ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

भारतमा अहिलेसम्म कुल दुई करोड ९८ लाख २३ हजार ५४६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। ती मध्ये सात लाख ६० हजार १९ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेको पाइएको छ।

कोरोनाभाइरसलाई जितेर सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या भने दुई करोड ८६ लाख ७८ हजार ३९० रहेको छ।रासस/एएनआई

प्रकाशित मिति: : 2021-06-19 12:57:00

प्रतिकृया दिनुहोस्