बटेश्वर गाउँपालिका अध्यक्ष राउतले उन्मुक्ति पाएका छैनन्ः अख्तियार

विजय साह

जनकपुर

धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर राउतलाई अख्तियारले उन्मुक्ति नदिएकोे खुलासा भएको छ।

८ लाख घुस रकम लिएको आरोपमा राउतमाथि चलिरहेको मुद्दा अनुसन्धानकै क्रममा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धन आयोगका प्रवक्ता वेद प्रसाद भण्डारीले अध्यक्ष राउतले अख्तियारबाट उन्मुक्ति नपाएको र अनुसन्धानकै क्रममा रहेको बताएका छन्।

एक टेलिभिजन कार्यक्रममा प्रवक्ता भण्डारीले भने, ‘उहाँलाई हामी अहिले धरौटी राखेर जमानतमा मात्रै छाडिएको छ। यो मुद्दा अहिलेसम्म अख्तियारमा अनुसन्धानकै क्रममा छ। उहाँमाथि अदालतमा पनि मागदावीसहित मुद्दा पनि दर्ता गर्न सकिएको छैन। त्यसैले अख्तियारले उन्मुक्ति दिएको भन्न सकिँदैन।’

प्रवक्ता भण्डारीका अनुसार सर्वोच्च अदालतले वैशाख ८ गते स्टिंग अपरेशनको प्रमाण अस्वीकार गर्ने आदेशपछि अध्यक्ष राउतको मुद्दा अख्तियारमा अनुसन्धानकै क्रममा छ।

अख्तियारको एस्टिंग अपरेशनमा घुस रकम फेला परेपनि अध्यक्ष राउत भने फरार भएको र पछि अख्तियारमा हाजिर भएर धरौटी राखेर जमानतमा छाडिएको र अनुसन्धानकै क्रममा रहेको प्रवक्ता भण्डारीको भनाइ छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले पछ्याउँदा ८ लाख घुस फालेर गएको फागुन १७ गते फरार भएका गाउँपालका अध्यक्ष राउत तीन महिनापछि आइतबार कार्यालयमा हाजिर भएका छन्।

उनले आफु अख्दिायरबाट सफाई पत्र लिएर आएको डंका पिटिरहेका छन्। तर अख्तियारले भने उनी धरौटी बुझाएर जमानतमा मात्र रिहा भएको जनाएको छ।

अख्तियारबाट सफाइ पाएर आएको भन्दै आइतबार बटेश्वर गाउँपालिका कार्यालयमा नेकपा एमाले नेता कार्यकर्ता, जनप्रतिनिधि, कर्मचारी र उनका समर्थकहरुले फुल माला लगाएर भव्य स्वागत गरेका थिए।

गएको फागुन १७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगालको टोलिले धनुषाको सखुवा महेन्द्रनगरबाट पछ्याएपछि गाउँपालिका अध्यक्ष राउत ८ लाख घुस रकम फालेर भागेका थिए।

गाउँपालिकाको गाडीसहित चालक वीरबहादुर मगरलाई अख्तियारले नियन्त्रणमा लिएको थियो भने उनले फालेर भागेको ८ लाख रुपैयाँ घुस सुक्जोर खोलाको किनारबाट बरामद गरेको थियो।

८ लाख घुस काण्डमा मुछिएका अध्यक्ष राउत कार्यालय फर्केपछि जनता समाजवादी पार्टीका नेता कार्यकर्ता, नागरिक समाजलगायतका युवाले बिरोध पदर्शन जारी राखेका छन्।

प्रकाशित मिति: : 2021-06-15 09:09:00

प्रतिकृया दिनुहोस्