प्रधानमन्त्री मोदीले मन्त्रिपरिषद विस्तार गर्ने चर्चा, मन्त्री बन्ने सिन्धियाको दाउ

News Track Live
News Track Live

भारतको केन्द्रीय राजनीतिमा पछिल्लो पटक प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिपरिषद् विस्तार गर्न सक्ने अनुमान देखिएको छ। 

भारतीय जनता पार्टीका नेता ज्योतिरादित्य सिन्धिया मन्त्री बन्ने चर्चाले भोपालदेखि दिल्लीसम्मको राजनीतिक वृत्त तातिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनले भारतीय कांग्रेस र ग्यालियर परिवारको लामो राजनीतिक विरासत छाडेर गत वर्ष मात्रै भाजपा प्रवेश गरेका हुन्। 

प्रधानमन्त्री मोदी नेतृत्वको सरकारमा मन्त्री बन्न सिन्धियाले तछाड्–मछाड् गरिरहेको सामाजिक सञ्जाल तथा आम सञ्चारमा टिप्पणी भइरहेको छ। 

उनले आफू पदमा भए या नभए पनि समाजको सेवामै केन्द्रीत हुने बताएका छन्। मन्त्रीको लागि दौडधुपको गरेका सिन्धियाले भने, ‘मैले मेरो बुबा र हजुरबाको राजनीतिक विरासतलाई अघि बढाइरहेको छु। मेरो प्राथमिकता जनताको सेवा हो र त्यो विचारधारा जारी राख्नेछु। मानिसको सेवा गर्ने सिन्धिया परिवारको पारस्परिक मूल्य हो।’

मध्य प्रदेशका राज्यसभा सांसद तथा भाजपा नेताहरू बुधबार नियमित विमान सेवामार्फत् राजधानी भोपाल पुगेका छन्। नेता सिन्धियाले मुख्यमन्त्री शिवराज सिंह चौहान, भाजपा प्रदेश अध्यक्ष विष्णुदत्त शर्मा र अन्य मन्त्रीहरूसँग भेटवार्ता गरिरहेका छन्। 

मध्य प्रदेशको भेटवार्ता लगतै गृहनगर ग्वालियर पुगेर उनी शनिबार केन्द्रीय राजधानी जाने कार्यक्रम रहेको स्थानीय समाचार माध्यमले जनाएका छन्।

सिन्धियाको पहलमा कांग्रेसका प्रभावशाली नेता जितिन प्रसादले बुधबार भाजपा प्रवेश गरेका छन्। जितिन आफ्नो सानो भाई जस्तै भएको टिप्पणी गर्दै उनले स्वागत समेत गरेका थिए। 

पछिल्लो समय कांग्रेसका शक्तिशाली नेताहरू धमाधम भाजपामा प्रवेश गराउने होडसँगै सिन्धियालाई मन्त्री बनाउने चर्चा शुरु भएको छ। कांग्रेस हुँदा उनी वाणिज्य एवं उद्योग राज्यमन्त्री समेत भइसकेका छन्।

ज्योतिरादित्य सिन्धिया नेपालका भान्जा हुन्। उनका बुबा माधवराव सिन्धियाले सन् १९६६ मा नेपाली किरण राज्य लक्ष्मी देवी (माधवी राजे सिन्धिया)सँग विवाह गरेका थिए।

किरण पूर्व राणा प्रधानमन्त्री जुद्ध शमशेर जबराकी नातिनी हुन्। भारतको मध्यप्रदेशस्थित ग्यालियर तत्कालीन राजपरिवारका राजकुमार माधवरावको विमान दुर्घटनामा निधन भएपछि ज्योतिरादित्यले राजनीति विरासत सम्हाल्दै आएका छन्।

प्रकाशित मिति: : 2021-06-09 20:49:00

प्रतिकृया दिनुहोस्