बुर्किना फासोमा विद्रोहीद्वारा गरेको आक्रमणमा १३२ जनाभन्दा बढीको मृत्यु

Photo : BBC
Photo : BBC

सशस्त्र बन्दुकधारीले बुर्किना फासोको उत्तरी क्षेत्रस्थित एक गाउँमा शनिबार राति गरेको आक्रमणमा कम्तीमा १३२ जनाको मृत्यु भएको छ।

पश्चिम अफ्रिकी मुलुक बुर्किना फासोको इतिहासमा पछिल्लो वर्षहरुमा भएको यो भयानक आक्रमण हो। 

सोल्हान गाउँमा रातको समयमा भएको आक्रमणको क्रममा स्थानीय बासिन्दाका घर तथा स्थानीय बजारमा आगजनीसमेत भएको छ। 

अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मा लिएका छैन, तर पछिल्लो वर्षहरुमा बुर्किना फासोमा इस्लामिक समूहका आक्रमण हुने गरेका छन्। विशेषगरी सीमा क्षेत्रहरूमा यस्ता आक्रमण बारम्बार हुँदै आएका छन्। 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुट्रेसले घटना दुखद् भएको बताउँदै घटनाको निन्दा गरेका छन्।  

घटनापछि बुर्किना फासोका राष्ट्रपति रोच काबोरीले तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन्। उनले अमानवीय घटनाहरूविरुद्ध सबै एक हुनु पर्ने पनि उल्लेख गरेका छन्। 

यसअघि शुक्रबार राति भएको अर्को आक्रमणमा सोल्हान गाउँबाट १५० किलोमिटर उत्तरमा रहेको तादार्यात गाउँमा १४ जनाको ज्यान गएको थियो। गएको महिना बुर्किना फासोको पूर्वी क्षेत्रमा भएको आक्रमणमा ३० जनाको ज्यान गएको थियो। 

बुर्किना फासोमा अहिले गम्भीर सुरक्षा चुनौतिको अवस्था छ। गएको मे मा आर्मीले विद्रोही विरुद्ध बिस्तारित तहको प्रतिकारात्मक कारवाही सुरु गरे पनि हिंसा रोक्न भने सकेका छैनन्। 

प्रकाशित मिति: : 2021-06-07 05:49:00

प्रतिकृया दिनुहोस्