सिङ्गै एसियाका लागि बङ्गलादेश एक ‘सपना’ बनिसकेको छ। बङ्गलादेशको पाँच दशकलामो आर्थिक, राजनीतिक, सामाजिक र कूटनीतिक यात्राले समय–सान्दर्भिक उपलब्धि हासिल गरेको छ।
पछिल्लोपल्ट बङ्गलादेशको भिन्नाभिन्नै दृष्टिकोणमा खूबै चर्चा हुने गरेको छ। विश्वव्यापी महामारीको चपेटामा थ्रुपै मुलुकहरू नराम्ररी थेच्चिन पुगे पनि बङ्गलादेशको आर्थिक विकासको रफ्तार जारी रह्यो । यो दक्षिण एसियामै लोभलाग्दो अर्थतन्त्र बन्ने दिशामा अघि बढेको छ।
बङ्गलादेशको आर्थिक वृद्धि दर लगातार चार प्रतिशतले बढिरहेको छ। जबकि नेपाल, भारत, पाकिस्तानलगायत देशहरूको स्थिति झन्–झन् खुम्चिदैँ छ। अन्तर्राष्ट्रिय मुद्राकोषले सार्वजनिक गरेको प्रतिवेदनमा बङ्गलादेशको प्रतिव्यक्ति आय दक्षिण एसियाका नेपाल, भारत, पाकिस्तानजस्ता देशहरूको तुलनामा राम्रो देखिन्छ।
झण्डै पाँच दशकअघि सन् १९७१ को मार्च २६ मा स्वतन्त्र राष्ट्रका रुपमा बङ्गलादेशको जन्म भएपछि पहिलोपल्ट अहिले बङ्गलादेशले आर्थिक उन्नति गरेको हो। बङ्गलादेशबारे तत्कालीन अमेरिकी सुरक्षा सल्लाहकार हेनरी किसिञ्जरले भनेका थिए, ‘जो जन्मसँगै मृत्युको किरानामा उभिएको छ।’ तर, पछिल्लो दशकमा बङ्गलादेशले गरेको आर्थिक प्रगतिले किसिञ्जरको पूर्वानुमानलाई गलत सावित गरेको छ।
भारत जो हिन्दू–मुस्लिममै भिडिरहेको छ । पाकिस्तान जो आतङ्कवादकै चर्चामा रह्यो तर यी दुईको थिचोमिचोबाट जन्मिएको बङ्गलादेशको पहिचान एसियाको एक शक्तिशाली देशको रुपमा देखा पर्न थालेको छ । बङ्गलादेश स्वयम्ले सन् २०४० मा विकसित देशको श्रेणीमा उक्लिने लक्ष्य राखेको छ।
बङ्गलादेशले यसअघि निरन्तर समस्याहरुको सामना गर्नुपरिरह्यो। राजनीतिक उथल–पुथलसँगै प्राकृतिक प्रकोपले पनि उस्तै सतायो। आजभन्दा एक दशकअघि पाकिस्तानको कुल गार्हस्थ्य उत्पादन (जीडीजी) बङ्गलादेशको भन्दा ६० अर्ब डलरभन्दा बढी थियो तर आज आइपुग्दा बङ्गलादेशले धेरै पछाडि छोडिसकेको छ।
हाललाई बङ्गलादेश अहिले ३ खर्ब २ अर्ब ५७ करोड अमेरिकी डलर बराबरको आर्थिक शक्ति हो, जबकि पाकिस्तान २ खर्ब ६५ करोड अमेरिकी डलरमा झरेको छ। यसमा पनि थुप्रो हिस्सा अन्य देशहरूको सहयोगबाट प्राप्त गरेको हो।
बङ्गलादेशका अर्थशास्त्री तथा राजनीतिज्ञहरू भन्छन्– व्यापार देशको मेरुदण्ड हो, अनुदान होइन। नेपाल, भारत, पाकिस्तान, म्यान्मार अथवा एसियाली अन्य देशजस्तै बङ्गलादेश चिनियाँ आर्थिक पहलको नयाँ हिस्सा बनेको छैन।
बङ्गलादेश र भारतको सीमा दक्षिण एशियाका अन्य देशको तुलनामा लामो छ। उसले सिमानालाई अवसरको रूपमा हे¥यो जबकि विगतमा भारतकै हिस्सा रहेको अर्को मुलुक, जहाँबाट ५०वर्षअघि बङ्गलादेश अलग भएको थियो, भारत–पाकिस्तान एकअर्कामा लडिरहेका छन्।
बङ्गलादेश–भारतबीच तमाम विवाद छन् तर भारत सधैँ ती समस्या समाधान गर्नमै केन्द्रित भयो, जुन भारतको सामान्य स्वभाव होइन। ऊ दादागिरीमै अग्रसर हुन रुचाउँछ । बङ्गलादेशको बढ्दो प्रभावसँगै भारतीय पक्ष नरम हुँदैगएको अनुमान गर्न सकिन्छ।
दक्षिण एसियाली देशहरूको नकारात्मक अभ्यास भनेको राष्ट्रियताको ‘उग्र–प्रचार’ हो। जब आन्तरिक राजनीतिक किचलो बढ्छ, त्यसपछि राष्ट्रियतारुपी डण्डा बोकेर अर्को पक्षमाथि प्रहार सुरु हुन्छ।
नेपाल, भारत, पाकिस्तान अहिलेसम्म राजनीतिक संकट बढ्दा त्यस्तै खोक्रो राष्ट्रियताको भारी बोकेर बाँचिरहेका छन्। राष्ट्रियताको सवालमा भारत–पाकिस्तान अति नै उग्र देखिन्छ। दक्षिण एसियाका प्रायः देशले यसै ‘मोडल’ अनुशरण गर्ने घिनलाग्दो अभ्यास गरे। यो कर्म नेपाल, भारत र पाकिस्तानमा आजसम्म उस्तै छ। बङ्गलादेश अलि भिन्न देखिन्छ।
बङ्गलादेश सत्ता–केन्द्रित उग्रराष्ट्रवादभन्दा माथि उठेको छ। त्यहाँ पनि सन् १९७५ र १९८२ मा राष्ट्रवादको नाराले भारतविरोधी लहर पैदा नगरेको भने होइन तर बङ्गलादेशकी वर्तमान प्रधामन्त्री शेख हसिना वाजेदले राष्ट्रवादको त्यस्तो संकीर्ण ‘कुवा’बाट बाहिर निस्किने प्रयास गरिन् । यसैको सकारात्मक रुप आजको बङ्गलादेश हो।
आर्थिक प्रगतिको अर्को आयाम भारी शैन्य खर्च कटौती पनि मानिन्छ। सामाजिक कमजोरी पञ्छाउने ठूलो भूमिकासमेत निर्वाह ग¥यो। सरकारले कपडा उद्योगमा गतिलो लगानी लगायो । त्यसमा महिलाको उल्लेखनीय सहभागितापछि सामाजिक परिवर्तनको गतिलो आधार बन्यो। महिलामा आर्थिक पाटो मजबुत बनेसँगै लैंगिक समानता समेत बढ्यो।
कोरोना महामारीबाट पनि बङ्गलादेश अछुतो रहेन तर यहाँ अन्य मुलुकमा झैँ गम्भीर स्वास्थ्य संकट चाहिँ देखिएको छैन।
बङ्गलादेशी थुप्रै युवा श्रमका लागि खाडी मुलुक र पूर्वी एसियाको मलेसिया पुग्नेगरेका छन्। उनीहरूको समेत आर्थिक उन्नतिमा महत्वपूर्ण योगदान रहेको छ। कम्तिमा ८० लाख नागरिक विदेशमा छन्। बङ्गलादेशको कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशत हिस्सा विप्रेषण (रेमिटेन्स) बाट आउने गरेको छ।
सन् २००८ बङ्गलादेशको आर्थिक र सामाजिक विकासका लागि ऐतिहासिक वर्ष मानिन्छ। जसले सन् २०२१ लाई ‘भिजन वर्ष’ को रुपमा घोषणा गरेको थियो। योसँगै बङ्गलादेशले २०२१ सम्म मध्यम आय अर्थ–व्यवस्था बनाउने लक्ष्य निर्धारण गरेको थियो।
बङ्गलादेशले आगामी सन् २०४१ लाई विकसित अर्थ–व्यवस्था भएको मुलुक बनाउने लक्ष्य राखेको छ। दक्षिण एसियामा शान्ति, सुरक्षा र स्थिरताका लागि भारत र पाकिस्तानजस्ता ‘अतिवादी मुलुक’ बाट भने जोगिनुपर्ने छ।
बङ्गलादेशले नेपाल, भारत, पाकिस्तान, चीन र म्यान्मारसँग सन्तुलित सम्बन्ध स्थापित गरेको छ। उसको विकासमा छिमेकी राष्ट्रहरूको भूमिका अहम् रहदै आएको पनि छ।
जब राष्ट्रपति विद्यादेवी भण्डारी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ढाका पुगेका थिए, पूरा बङ्गलादेश आफ्नो स्वतन्त्रताको स्वर्ण जयन्ती समारोह मनाइरहेको थियो। यस सन्दर्भमा नेपाल–भारत सम्बन्ध भाैगोलिक समीकरणदेखि इतिहास र सांस्कृतिकसम्म एकै रहिआएको छ। दुबै देशको सैन्य व्यवस्थाबाट सुरक्षातन्त्रसम्म राम्रो प्रभाव देखिन्छ।
नेपालले बङ्गलादेशको मोडल अपनाएर दिगो विकासका लागि शान्तिपूर्ण राजनीतिक स्थिरता र आर्थिक व्यवस्थामा उल्लेख्य फड्को मार्न सक्छ।
एजेन्सीको सहयोगमा...