कला हुनु पर्छ। मान्छे आफै इतिहास बनाउछ।
इतिहास पनि शुभ र प्रेरणादायी। श्री कृष्ण भगवानसँग १६ कला थियो। १६ कला को त कुरै छोडनुहाेस्, नारायण गोपालसँग त एउटै कला थियो- गायन कला। त्यही कलाले स्वर सम्राट नारायण गोपाल बने।
लक्ष्मीप्रसाद देवकोटासँग कवित्व कला थियो, त्यही कलाले लक्ष्मीप्रसाद देवकोटा महाकवि बने।
विश्वकाे राजनीतिक, सामाजिक र सांस्कृतिक इतिहासमा जति पनि अमर र युग पुरुष भएका छन्, ति सबैमा कुनै एक कला अवश्य थियो।
नेपालको राजनीतिक इतिहासमा अहिले पछिल्लो समय अर्थात् वर्तमान प्रधानमन्त्री केपी ओलीमा त्यस्तो के कला छ ? जसले नेपाली जनताले स्मरण गरिरहनु परोस्।
मैले आफ्नो मष्तिष्कमा धेरै जोड दिएर सोचे- त्यस्तो कला केही देखिनँ, जसबाट इतिहास प्रेरणादायी स्मरण योग्य होस्।नेपाली जनताले प्रधानमन्त्री केपी ओली बहाल भएदेखि अहिलेसम्म गरेको व्यवहार, व्यक्त गरेको विचार र अभिव्यक्ति फिल्म हेरेजस्तो धाराप्रवाह आयो। स्मरण गर्न ऐतिहासिक योग्य पुरुषत्यस्तो चरित्र केही पाइनँ।
सञ्चारमाध्यम र संसञ्चारकर्मीहरुबाट पनि युगन्तकारी पुरुषको रुपमा कहिल्यै चित्रण गरिएन। र पनि प्रधानमन्त्री केपी ओलीसँग एउटा कला अवश्य थियो, त्यो हो उखान टुक्काको।
देशको प्रधानमन्त्रीमा यो कलाले कुनै तात्विक महत्व राख्दैन, बरु यो कला स्वंयमा व्यंग हुन थालेको छ।
केपी ओली प्रधानमन्त्रीमा बहाल भएदेखिनै उनीमा राजनैतिक शक्तिको वासना पलाउन थाल्यो। र त्यही सक्ति वासनाले धेरै राजनीतिक विकृतिहरु मौलाउदै गए। उनले गृह,अर्थ लगायतका केही मन्त्रालयहरुको विभाग आफ्नै मातहातमा राखे।
उनले अध्यादेशबाटै मुलुक चलाउदैछन्। दुई-दुई पटक संसद विघटन गरे। समग्रमा भन्ने हो भने उनले मुलुक चलाउने सिस्टम र विधि तहसनहस गराए।
मुलुकको संविधान नामकाे मात्रै संविधान भयो। संविधान बमोजिम मुलुक चलेको छैन। अझै भनाै, ओलीले संविधान बमोजिम चलाउन चाहेनन्। सरकार निर्माणको सन्दर्भमा अहिले जसरी गृहमन्त्रीको नाम सामाजिक सञ्जालमा आइरहेको छ, त्यो पनि गणतन्त्र समाप्त गर्ने रणनीतिमा लिन थालिएको चर्चाले चिन्तित तुल्याएको छ।
राजनीतिक दलहरु टुक्राउने रणनीति
माओवादी पार्टी र एमाले एकिकृत भइ नेकपा बन्यो। र फेरि ओली कै प्रधानमन्त्री कालमा टुक्रियाे। पुनः एकिकरण पूर्वको अवस्थामा पुग्यो। त्यती मात्रै हैन, नेकपा एमाले भित्रकै वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल लगायतका धेरै साथीहरु अहिले उनकाे कोपमा परेर मातृपार्टीबाट अलग भयो।
आफ्नै पार्टीभित्र यती ठूलो विसंगति र विकृति पसाए उनले, जसले गर्दा विसंगती-विकृति पसेसँगै धेरैको बहिर्गमन पनि भयो।
उनले आफ्नो पार्टी त टुक्राए नै, जसपाभित्र पनि त्यही एमालेकै जस्तो अवस्था सृर्जना गरेर एक अर्कालाई सिध्याउने, कारवाही गर्नेसम्म पुर्याएर पार्टी नै टुक्रिने अवस्थामा पुर्याए।
नेपाली कांग्रेसमा पनि त्यो अवस्थाले प्रवेश गर्न खोजे पनि अवस्थाले सफलता पाएको छैन। कथंमकदाचित एमाले र जसपाजस्तै रोग यदि कांग्रेसमा संक्रमण भयो भने मान्नुस, गणतन्त्रको लागि त्योभन्दा ठूलो चोट केही हुँदैन।
प्रजातन्त्रमा जति राजनीतिक दलहरु सक्षम र संगठित हुन्छन्, त्यो देशको राजनीति त्यति नै स्वस्थ रहन्छ। त्यती नै प्रजातन्त्र सुनिश्चित रहन्छ र त्यती नै हक अधिकार तथा स्वतन्त्रता बलियो रहन्छ।
माथिका यी कुराहरुलाई कमजोर गर्नु र निस्तेज गर्नु छ भने पहिले राजनीतिक पार्टीहरुलाई कमजोर गराउनु पर्छ। अलग्याउने, टुक्राउने गर्नुपर्छ। जुन अहिले वर्तमान सरकारले गर्दैछ।
नेपाली राजनीतिमा अहिलेको जस्तो चरम विकृति विगतका सरकार प्रमुखको पालामा देखिएको थिएन। अहिलेको सरकार प्रमुखलाई विकृतिका प्रणेता भनेर सम्बोधन गर्दा उनीमाथि अन्याय हुन्छ त ?
शितल निवासले दिएको गर्मी
सरकार प्रमुखले सरकार सञ्चान गर्ने क्रममा धेरै विकृति र विसंगती पसाए। उनले सम्मानित राष्ट्रपतिलाई समेत विवादमा पारेर संस्थाको गरिमा र मर्यादासमेतलाई ध्वस्त पार्दै अघि बढे।
उनकै कारण राष्ट्रपतिको अलग स्वतन्त्र पहिचानसमेत धुमिल बन्यो। पछिल्लो पटक संसद विघटन गर्नुपूर्व राष्ट्पतिले प्रधानमन्त्रीलाई सपथ ग्रहण गराउदा प्रधानमन्त्रीबाट "त्यो पर्दैन " भनेको शब्दले राष्ट्रपतीको मर्यादा र गरिमा कति बच्यो ?
तर त्यो सपथको दृष्य र त्यहाँ प्रयोग भएका शब्दावलीकाे सामाजिक सञ्जालमा 'टिक-टक' बनेर आउनु नै आफैमा व्यंग्य हो।
पछिल्लो पटक गरेको संसद विघटनले त विकृतिहरुको हिमाल खडा गरे। शितल निवासले दिएको गर्मी अहिले राजनीतिक दलहरु कानून व्यवसायीहरु अदालतको शरणमा शितल खोज्दै छन्।