पाकिस्तानमा पत्रकार असुरक्षित, फेरि एक पत्रकारमाथि घरमा आक्रमण

बिएल संवाददाता

इस्लामाबाद

पाकिस्तानमा पत्रकारको असुरक्षालाई लिएर विपक्षी पार्टीले प्रश्न उठाएका छन्। बुधबार सार्वजनिक एक रिपोर्टअनुसार पाकिस्तानी पत्रकार असद अली तुरलाई अज्ञात व्यक्तिहरूले राजधानी इस्लामाबादस्थित उनकै घरमा छिरेर कुटपिट गरेका थिए।

उनका साथीले दिएको सूचनाअनुसार असद हाल अस्पतालमा गम्भीर अवस्थामा उपचार गराइरहेका छन्। उनी पाकिस्तानी सेनाको आलोचक मानिन्छन्। त्यसैले पाक सेनाको निशानामा रहेको दावी गरिएको छ।

यो विषयलाई लिएर मानव अधिकार संगठनले इमरान खान सरकारको आलोचना गरेको छ। संगठनले पाकिस्तानी सरकारले साइबर क्राइम नियमको गलत ब्याख्या गरेको आरोप लगाएको छ। सरकारमाथि पत्रकारको आवाज कुल्चिने काम भइरहेको आरोप लागेको छ।

असद आफ्नो युट्युब च्यानलमा पाकिस्तानी आर्मीको विरूद्ध आवाज उठाउदै आइरहेका थिए। गत वर्ष उनीविरूद्ध साइबर क्राइमअन्तगृत मुद्धा दर्ता भएको थियो। उनीविरूद्ध पाकिस्तानको बदनाम गरेको आरोप लागेको थियो।

असद भन्दाअघि पनि इस्लामाबादमा गत महिना २० अप्रिलमा अज्ञात बन्दुकधारीले एक वरिष्ठ पत्रकारको घर बाहिर अन्धाधुन्ध गोली चलाएका थिए। पत्रकारको नाम अवसार आलम थियो। आलम पाकिस्तानी इलेक्ट्रोनिक मिडिया अथोरिटीका अध्यक्ष हुन्।

पत्रकारमाथि चरणबद्ध रुपमा भइरहेको हमलाको विरोधमा विपक्षी दल पीएमएल–एनकी उपाध्यक्ष मरियम नवाजले सरकारमाथि आरोप लगाएकी छिन्।

उनले असन्तोष पक्षको आवाज दबाउन सरकारले यस्तो हर्कत गरेको आरोप लगाइन्। पाकिस्तानी पिपुल्स पाटीका अध्यक्ष अध्यक्ष बिलावल भुट्टोले पनि घटनाको आलोचना गरेका छन् र उनले आरोपीलाई तुरुन्त गिरफ्तार गर्न माग गरेका छन्।

प्रकाशित मिति: : 2021-05-26 13:09:00

प्रतिकृया दिनुहोस्