पहिलोपल्ट अदालतमा देखिइन् आङ सान सुकी

सुधा अत्रि

म्यान्मार
Photo Source : Pinrest

प्रजातन्त्रवादी नेतृ आङ सान सुकी झण्डै चार महिनापछि सोमबार पहिलोपटक म्यान्मारको अदालतमा देखिएकी छन्। 

राजबन्दीको रुपमा रहेकी अपदस्थ 'स्टेट काउन्सिलर' सुकीलाई दिउँसो पहिलोपल्ट सुनुवाईका लागि सैन्य जुन्ताले विशेष अदालतमा उपस्थित गराएको म्यान्मार नाउले जनाएको छ। सुकीलाई उनका वकीलले सुनुवाईअघि अदालतमै देखेका थिए।

गत फेब्रुअरी १ मा सैन्य ‘कू’ भएयता नेतृ सुकी सार्वजनिक रुपमा पहिलोपल्ट देखिएकी हुन्। सर्वोच्च अदालतको आदेशमा नेतृ सुकीलाई विशेष अदालतमा बयानका लागि पेश गरेको सैन्य परिषदले बताएको छ। 

म्यान्मार सैन्य ‘कू’का नाइके तथा सैनिक प्रमुख मिन आङ ह्लाइले साताअघि नै सुकीको स्वास्थ्य अवस्था राम्रो रहेको र एक साताभित्रै विशेष अदालतमा हाजिर गराउने खुलासा गरेका थिए। 

नेशनल लिग फर डमोक्रेसी पार्टीकी सर्वोच्च नेतृ सुकीलाई सैनिक सत्ताले फौजदारी अभियोगको बयानका लागि नजरबन्दमा रहेकी सुकीलाई उपस्थित गराएको हो। 

उनीविरूद्ध सैनिकले बिना–अनुमति वाकिटकी सेट राखेको, कोरानाकालीन समयमा नियम उल्लघंन गरेको, जनमानसमा अशान्ति फैलाएको र सरकारी गोपनीयता भंग गरेको जस्ता गम्भीर आरोप लगाएको छ। 

यसअघि पटकपटक भिडियोमार्फत् अदालतमा उपस्थित गराए पनि उनी यसपल्ट भौतिक रुपमा अदालत परिसरमै देखिएकी हुन्। राजधानी नेपिदोस्थित विशेष अदालत सुकी उपस्थित भएकी छन्।

प्रकाशित मिति: : 2021-05-24 12:57:00

प्रतिकृया दिनुहोस्