बागमतीमा आज राष्ट्रिय सभा उपनिर्वाचन, ९ बजेदेखि ३ बजेसम्म मतदान

वागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य पदका लागि आज उपनिर्वाचन हुँदैछ। 

माओवादी केन्द्रले गृहमन्त्रीसमेत रहेका राष्ट्रिय सभा सदस्य राम बहादुर थापा बादललाई दल त्यागको अभियोगमा कारबाही गरेपछि पद रिक्त भएको थियो। सोहीको लागि उपनिर्वाचन हुन लागेको हो।

प्रदेश राजधानी हेटौँडामा बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ।

उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल, कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट खिमलाल देवकोटा तथा नेपाल मजदुर किसान पार्टीबाट कृष्णगोपाल तामाङले उम्मेदवारी दिएका छन्।

उपनिर्वाचनमा वागमती प्रदेशसभा सदस्य एक सय १० र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख दुई सय ३८ गरी तीन सय ४८ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ।

यसअघि मतदाताका लागि कोरोना परीक्षणको रिपोर्ट अनिवार्य देखाउनु पर्ने भनिए पनि अहिले व्यवस्था हटाइएको निर्वाचन आयोगले जनाएको छ।

मतदाताको बसोबास र मतदान व्यवस्थापन मिलाइसकिएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र, मकवानपुरले जनाएको छ। हेटौँडा नगरपालिका–४ को भुटनदेवी माध्यमिक विद्यालयमा कायम गरिएको तीन वटा केन्द्रमा मतदान हुनेछ। केन्द्रमा प्रदेशसभा सदस्य, पालिकाका जनप्रतिनिधि र कोभिड सङ्क्रमित मतदाताका लागि बेग्लाबेग्लै मतदान गर्न पाइने व्यवस्था मिलाएको छ।

उपनिर्वाचनमा यसअघिका विभिन्न निर्वाचनमा जारी भएका मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्रलगायतका कागजात देखाएर मतदान गर्न सकिने छ।

प्रकाशित मिति: : 2021-05-20 07:41:00

प्रतिकृया दिनुहोस्