साउदी अरबले विद्यालय शिक्षामा महाभारत र रामायण पनि पढाउने !

Photo - WION
Photo - WION

मध्यपूर्वी एसियाली इस्लामिक राष्ट्र साउदी अरबले विद्यालय तहको पाठ्यक्रममा महाभारत र रामायण समावेश गर्ने समाचार भारतीय सञ्चारमाध्यमहरूमा जताततै फैलिएको छ।

प्रायः भारतीय सञ्चारमाध्यमले साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले भिजन सन् २०३० देखि शिक्षा क्षेत्रमा अन्य देशको इतिहास र संस्कृतिको अध्ययन अनिवार्य गराउने उल्लेख गरेका छन् तर भारतीय सञ्चार संस्थाबाहेक यसको आधिकारिक पुष्टि कतै पनि देखिँदैन।

साउदी अरबले नयाँ नीति लागू गर्ने घोषणा गरेसँगै विद्यार्थीहरूलाई महाभारत र रामायण पढाउने छ। अरबी युवा पुस्तामा बाह्य सांस्कृतिक ज्ञान विस्तार गर्ने उद्देश्यले योग र आयुर्वेदजस्ता विषय समेत पाठ्यक्रममा समावेश गरिने बताइएको छ।

साउदी अरबको नयाँ कूटनैतिक शिक्षा नीतिलाई हिन्दू र बौद्ध बाहुल्य मुलुकहरूले अर्थपूर्ण ढंगले हेरेका छन्। साउदी अरबमा महाभारत र रामायणसँगै अंग्रेजी भाषालाई अनिवार्य गर्ने भएको नूफ–अल–मारवाईले ट्विटरमार्फत् जानकारी दिएका छन्।

आगामी सन् २०३० देखि नयाँ पाठ्यक्रममा समावेशी, उदार र सहिष्णु सँगै महाभारत, रामायण, कर्म, बौद्ध धर्म, हिन्दू धर्म र धर्मसँग जोडिएका विषयवस्तु रहने मारवाईले बताएका छन्।

नयाँ शिक्षा नीतिमार्फत् सांस्कृतिक संवाद र मानव कल्याणमा सहायता मिल्ने साउदी अरबले बताएको छ। साउदी अरब इस्लामी राष्ट्रहरूको पवित्र भूमिका रुपमा चिनिन्छ।

जहाँ मक्का र मदिना मस्जिदजस्ता दुई मुख्य धार्मिक स्थल रहेका छन् तर साउदी अरबले भने हालसम्म राष्ट्रिय पाठ्यक्रममा महाभारत र रामायणबारे योजना नबनाएको अरब न्यूजले जनाएको छ। साउदी अरबले हिन्दू धर्म–संस्कृतिको सम्मान गर्ने बताएतापनि पाठ्यक्रममा समावेश गर्ने वा नगर्ने बारे कुनै प्रतिकृया दिएको छैन।

प्रकाशित मिति: : 2021-05-18 11:49:00

प्रतिकृया दिनुहोस्